Powered by Blogger.
सुधारिएको चुल्हो प्रति बढ्दो आकर्षण, फेरीदै गृहणीहरुको दैनीक जीवन पद्धती

बुद्धकुमार आछामी
सिन्धुली/२१ असार/केही वर्ष पहिले भान्छाको धुवाँले गर्दा खाना पकाउन गाह्रो मान्ने महिलाहरुलाई अब अरु काम भन्दा पनि खाना पकाउने काम सजिलो लाग्न थालेको छ । घरमा सुधारिएको रकेट चुल्हो निर्माण भएपछि उनीहरुको दैनिक जीवन पद्धतीनै फेरिएको छ ।

झागाँझोली रातमाटा गाविस२ बोहोरेटारकी सुनिता श्रेष्ठले भनिन, “सुधारिएको चुल्हो नबनाउँदा असाध्यै धुवाँ हुन्थ्यो कहिल्यै खाना पकाउनु नपरोस भन्ने लाग्दथ्यो अहिले त खाना पकाउन आफैँ अग्रसर हुन्छु ।माटोको तीनुमखे चुलोमा पुस्तौ देखि खाना पकाउदै आएकी उनले सुधारिएको रकेट चुलो जडान गरेपछि भान्छाको काम गर्न निकै सजिलो भएको अनुभव सुनाइन । पहिले माटोको चुलो प्रयोग गर्दा वर्षाको समयमा घरभित्र चुहिने पानीले दिनहुँ चुलो पग्लिने समस्या थियो । एक÷दुई दिन झरी परेको बेला त उनलाई कसरी खाना पकाउने भन्ने चिन्ताले सताउँथ्यो ।
परम्परागत रुपमा ढुङ्गा वा फलामे ओदानमा आगो बान्दा भन्दा सुधारिएको रकेट चुलोमा दाउराको खपत आधा घटेकाले दिनदिनै दाउरा खोज्न जङ्गल जानुपर्ने बाध्यताबाट पनि मुक्ति पाएको बताउँदै श्रेष्ठले भनिन, ‘‘पहिला ओदानमा खाना पकाउँदा दाउरा धेरै प्रयोग हुने, भाँडा पनि कालो हुने र घरभित्रको वातावरण सँधै फोहोर हुन्थ्यो ।’’ घरभित्रको धुवा मुक्त अभियान अन्र्तगत बितिजोर गाविसका सम्पूर्ण घरधुरीमा सुधारिएको चुलो जडान भइसकेका छन ।
सुनिता श्रेष्ठ जस्तै जिल्लाका अधिकांश गृहिणीहरु खाना पकाउन सजिलो हुने भएकाले सुधारिएको रकेट चुलो तर्फ आकर्षित हुन थालेका छन । यस चुलोमा खाना पकाउँदा धुवाँ, धुलोबाट समेत गृहिणीहरु मुक्त भएका छन भने अर्कातिर दाउरा बचत हुँदा जङ्गल बिनास हुने क्रम निकै कम भएको स्थानीयहरु बताउछन । पहिले जस्तो दिनहुँ दाउरा खोज्न जङ्गल जानुपर्ने वाध्यता अहिले नभएको पुरानो झागाँझोली गाविसका स्थानीय पूर्ण बहादुर बसेलको भनाई छ । दाउरा लिनका लागि लाग्ने समय घरको काम र अन्य आयमूलक काममा लगाउँदा केही थप आर्जन गर्न सकेको पनि उनी बताउछन । सुधारिएको चुल्हो प्रयोग गर्न थालेपछि सामान्य रोगहरुसमेत ठीक हुने गरेको उनको भनाई छ ।
सुधारिएको रकेट चुल्होमा खाना पनि छिटो पाक्ने, साना टुक्रा दाउरा भएपनि हुने गरेको कारण सुधारिएको रकेट चुलोको प्रयोगले पारिवारिक मेलमिलाप र आपसी सम्बन्धलाई पनि अझ कसिलो बनाएको उनको अनुभव छ ।
धुवाँ रहित वातावरणमा भान्छामा काम गर्न सकिने भएपछि जिल्लाका खासगरी महिलाहरुले आफ्नो दैनिकीमा ठुलो परिवर्तको अनुभूति गर्न थालेको जिल्ला बातावरण तथा उर्जा शाखाका प्रमुख संदिप उपाध्याय बताउछन ।
सुधारिएको चुलोले महिलाहरुको श्रम, समयमा बचत हुनुको साथै स्वास्थ्यमा पनि सुधार आउने भएकाले सरकारले देशव्यापी रुपमा सन २०१७ सम्ममा नेपाललाई घरभित्रको धुवामुक्त देशको रुपमा घोषणा गर्ने अभियाननै चलाएको छ ।
अहिले जिल्लाको बितिजोर र अमले गाविस घरभित्रको धुवामुक्त गाविसको रुपमा घोषणा भईसकेका छन भने भद्रकाली र भिमस्थान गाविसलाई घरभित्रको धुवामुक्त गाविसको रुपमा घोषणा गर्ने तयारी भईरहेको जिल्ला वातावरण तथा उर्जा शाखाले जनाएको छ । कार्यालयका अनुसार अहिले सम्म जिल्लाका ९ हजार २ सय २४ घरधुरीमा सुधारिएको चुल्हो निर्माण र प्रयोग गर्ने गरेका छन ।
घर परिवार देखी गाउँ नगर र जिल्ला सम्म बातावरणीय शासनलाई स्थापित गरी सुन्दर बातावरण मैत्री समाजको श्रृजना गरौं भन्ने मुल नाराका साथ जिल्लामा सुधारिएको चुल्हो प्रबर्धन गर्ने कार्यक्रम तीब्रताका साथ सञ्चालन भईरहेको छ ।
पछिल्लो समय जिल्ला बातावरण तथा उर्जा शाखाले यो अभियानलाई निक्कै प्राथामिकताका साथ अगाडि बढाएको छ । जिल्लाका विभिनन् गाविसका महिला तथा पुरुषहरुलाई जम्मा गरी सुधारिएको चुल्हो निर्माण र प्रबद्र्धन सम्बन्धी तालिम समेत प्रदान गरिरहेको छ ।






,

0 comments

Write Down Your Responses