Powered by Blogger.
नक्कली कार्ड बनाएर नगद राहतमा ब्यापक ठगी, उजुरी गर्नेहरूकाे संख्या बढ्दै


अनिल भण्डारी
सिन्धुली/२३ असार/ सिन्धुलीमा भूकम्पका नाममा आएको राहतमा नक्कली भूकम्प पीडितले र्‍याल काढेपछि तिनीहरुविरुद्ध धमाधम उजुरी पर्न थालेको छ। विभिन्न गाविसमा बाँडिएको राहतमा पहुँचका आधारमा धमाधम नक्कली भूकम्प पीडितले राहत लिएपछि उनीहरुविरुद्ध स्थानीय खुलेरै लाग्न थालेका छन्।
गाँउगाँउमा वितरण भएका राहतमा गाविस सचिव र स्थानीय राजनीतिक दलको आडमा जिल्लाका चर्चित नेतादेखि अगुवाहरुले नै १५ हजार नगदमा झगडा गरेर र्यााल काढी लिएको राहतविरुद्ध पीडितले धमाधम उजुरी दिन थालेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ।
गत वैशाख १२ गतेको बिनाशकारी भूकम्पले घर क्षति नभएका र अर्को घर भएका धेरैले गाविस सचिव र अगुवाको आडमा गलत विवरण भराएर लिएको राहत फिर्ता गराउन जिल्ला प्रशासनमा लिखित उजुरीसहित पीडित पुगेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए।
उनका अनुसार हालैमात्र दुरुपयोग गर्ने दुई जनाले जिल्ला प्रशासनमै पुगेर राहत फिर्ता गरेका छन्। 'नाम सार्वजानिक तत्काल गर्दैनौं, प्रजिअ नेपालले भने, 'दुई जनाले लिएको पन्ध्र हजार र भूकम्प परिचय पत्र प्रशासनमै आएर फिर्ता गरे।'
स्थानीय अगुवा भइ गैरपीडितले पन्ध्र हजार बुझेको भन्दै उजुरी परेपछि उनीहरुले इज्जत ढाक्नका लागि जिल्ला प्रशासनमै गएर आफूहरुले गल्ती गरेको भन्दै परिचय पत्र र राहत रकम फिर्ता गरेका हुन्। 'दुई जनाले फिर्ता गरिसके अन्य तीन जनाले गर्ने तयारीमा छन्,' प्रजिअ नेपालले भने, 'तत्काल फिर्ता गर्नेको नामावली सार्वजानिक गर्दैनौं।' गतल विवरण भराएर एकै परिवारका दुई तीन जनाले नगद बुझेको उजुरी परेको परिवारले फिर्ता गरेको उनले संकेत गरे।
फर्जी विवरण भराएर पन्ध्र हजार बुझेको भन्दै जिल्लाको सबैभन्दा बढी भिमेश्वर गाविसबाट उजुरी परेको छ। जिल्लाको नगरपालिका र गाविस तहबाट गैरपीडितदेखि एकै घरका श्रीमान श्रीमतीले छुट्टाछुट्टै विवरण भराएर १५ हजार नगद लिएको र जसमध्ये भिमेश्वर गाविसबाट मात्र ११ जनाको नाममा फर्जी विवरण भराएर पन्ध्र हजार बुझेको भन्दै उनीहरुलाई कारबाही गर्न जिल्ला प्रशासनमा लिखित उजुरी परेको छ।

सो गाविसमा झन्डै तीन दर्जनले फर्जी विवरण भराएको खुल्न आएको छ। यस्तै कमलामाई नगरपालिकाबाट २५ उजुरी परेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ।


, ,

0 comments

Write Down Your Responses