Powered by Blogger.
सुर्खेतमा कर्फ्यु, जुम्लामा प्रदर्शन नियन्त्रण बाहिर

सीमांकनमा चित्त नबुझेपछि बिभिन्न ठाउँमा आन्दोलन
२५ साउन, काठमाडौं । प्रदेशहरुको सीमांकनमा असन्तुष्टि जनाउदै देशका ठाउँ ठाउँमा बन्द, हड्ताल र तोडफोड तथा आगजनी शुरु भएको छ । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शन नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले राति ९ बजेसम्मका लागि कर्फ्यु लगाएको छ ।
अखण्ड कर्णालीको माग गर्दै जुम्लामा शुरु भएको आन्दोलन प्रहरी प्रशासनको नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले सेनासँग सहयोग मागेको छ ।
कर्णालीका पाँचै जिल्ला एउटै प्रदेशमा हुनुपर्ने माग गर्दै जुम्लामा विहानैदेखि आन्दोलन शुरु भएको छ । स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस र रबरका गोली प्रहार गरिएको छ ।
उता सुर्खेतमा अखण्ड मध्यपश्चिमको माग राखेर शुरु भएको आन्दोलनमा अराजक समूह प्रवेश गरी सरकारी सम्पत्ति र पार्टी कार्यालयहरुमा तोडफोड तथा आगजनी गरेका छन् ।
उनीहरुले जिल्लास्थित प्रमुख राजनीतिक दलका कार्यालय तोडफोड गर्नुका साथै स्वास्थ्य कार्यालय र प्रशासनमा पनि आगजनी प्रयास गरेका छन् । तोडफोडकै कारण झुप्रा खानेपानी तथा सरसफाई संस्थाको निर्वाचनमा भएको मतगणना रोकिएको पत्रकार दिपेन्द्र ओलीले बताए ।
अखण्ड मध्यपश्चिमको माग गर्दै आन्दोलन थालेको संयुक्त नागरिक सरोकार समितिले तोडफोड र आगजनीका घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ ।
स्रोतका अनुसार मध्यपश्चिम यातायात व्यवसायी महासंघ अन्तर्गतका यातायात मजदूरले सो घटना गराएका हुन् । महासंघमा कांग्रेस सहमहामन्त्री तथा सभासद पूर्णबहादुर खड्काको संलग्नता छ ।
प्रदर्शनकारीहरुले खड्कोका घर पनि घेराउ गरेका छन् । प्रदर्शन नियन्त्रण बाहिर जान लागेपछि प्रशासनले कर्फ्यु लगाएको हो ।


, ,

0 comments

Write Down Your Responses