Powered by Blogger.
आर्थिक दृष्टिमा कुन प्रदेश राम्रो ?

तत्काल २ र ३ प्रदेश उत्तम, भविश्यमा ६ नम्बर !

  • हरिभक्त शर्मा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ
हामी उद्योगी व्यवसायीको सुझाव सकेसम्म सामर्थ्यका हिसाबबाट आर्थिकरुपमा सम्भव हुने गरी थोरै राज्य बनाउनुपर्छ भन्ने हो । तर, हामीले भन्दैमा दलहरुले मान्ने होइनन् । अहिले जुन ६ प्रदेश बनाउने मुख्य दलहरुबीच सम्झौता भएको छ, अब यी प्रदेशलाई आर्थिकरुपमा सक्षम र सबल बनाउनेखालको मोडल बनाएर कार्यान्वयन गर्नुपर्छ ।


मैले व्यक्तिगत रुपमा भन्नुपर्दा पाँच विकास क्षेत्रलाई प्रदेशमा परिणत गरिदिएको भए हुन्थ्यो । त्यसो हुन नसक्ने निश्चित देखिएको छ । दलहरुले ६ प्रदेश बनाउने सम्झौता गरी सीमांकनसमेत गरिसकेका छन् ।

यही प्रस्ताव कार्यान्वयन भयो भने आर्थिक हिसावले सबैभन्दा बलियो प्रदेशका रुपमा २ र ३ बन्ने देखिएका छन् । किनभने यही क्षेत्रमा सबैभन्दा बढी उद्योगधन्दा सञ्चालनमा रहेका छन् । उपभोगका हिसावले पनि यही क्षेत्र अगाडि रहेको छ, ट्याक्स तथा रेभिन्यूका हिसावले पनि यही क्षेत्र अगाडि देखिन्छ ।

यी दुई क्षेत्रमा सबैभन्दा बढी आर्थिक कृयाकलाप हुन्छ । जहाँ बढी आर्थिक कृयाकलाप हुन्छ, त्यहाँ बढी रोजगारीका अवसरहरु सिर्जना हुन्छन् । रोजगारी सि र्जना हुनेवित्तिकै दक्ष अदक्ष जनशक्तिको आकर्षण पनि यही क्षेत्रमा हुने गर्छ ।

आजको दिनमा मात्र होइन, भोलिको दिनमा पनि २ र ३ नम्बर क्षेत्रमा बढी आर्थिक गतिविधि हुनेछन् । जहाँ आर्थिक गतिविधी बढी हुन्छ, त्यहाँको अर्थतन्त्रले फड्को मार्ने आधार बनाएको हुन्छ ।

मेरो विचारमा २ र ३ पछि सबैभन्दा बढी आर्थिक कृयाकलाप हुनेमा ५ नम्बर प्रदेश पर्छ । ४ र ६ नम्बर क्षेत्रमा २, ३ र ५ नम्बर क्षेत्रको तुलनामा कम आर्थिक कृयाकलाप हुन्छ ।

आर्थिक कृयाकलापको हिसावले १ नम्बर क्षेत्र पनि अब्बल देखिएको छ । झापा, मोरङ र सुनसरीमा धेरै आर्थिक गतिविधि हुने गर्छ । यस क्षेत्रको पहाडी इलाका अलैंचीलगायतका नगदे बालीका लागि प्रशिद्ध छ । विश्वको सर्वोच्च शिखर सगरमाथा यही क्षेत्रमा पर्ने हुँदा पर्यटकीय हिसावले पनि यो क्षेत्र अगाडि देखिएको छ । अन्य ठूला हिमालहरु पनि यही क्षेत्रमा छन् ।

पाँच नम्बर क्षेत्र औद्योगिक हिसावले धेरै अगाडि रहेको छ । रुपन्देहीमा अहिले ठूला उद्योगहरु सञ्चालनमा छन् । सुनौली नाका भारतसँग जोडिने महत्वपूर्ण नाका मानिन्छ । यहाँबाट पनि ठूलो परिमाणमा कर संकलन हुन्छ ।

पर्यटनका हिसावले पनि यो क्षेत्र अगाडि देखिएको छ । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी यही क्षेत्रमा पर्छ । जुन विश्वर प्रशिद्ध रहेको छ । विश्वभरका बौद्ध धर्मालम्बीहरुलाई लुम्बिनीमा ल्याउन सकिन्छ । बाँके, बर्दिया पनि पर्यटनका लागि पोटेन्सियल क्षेत्रमा मानिन्छ । यो क्षेत्रमा हाइड्रो पावर नभए पनि भोलिका दिनमा उत्पादन गर्न सकिने सम्भावना रहेको छ ।

मलाई ४ नम्बर प्रदेश निकै कमजोर जस्तो लागेको छ । नवलपरासीको थोरै भाग छुट्टाएर तराईसँग जोडे पनि यस क्षेत्रमा आर्थिक क्रियाकलाप निकै कम हुने गर्छन् । उद्योग धन्दाहरु यस क्षेत्रमा नगन्य मात्रामा रहेका छन् । हाइड्रोपावरका हिसाबले केही सम्भावना देखिए पनि यहाँको अर्थतन्त्रमा मा

उन्टेनियरिङमा अडिएको छ । आर्थिक गतिविधिका हिसावले यो क्षेत्र मेरो बिचारमा पाँचौ नम्बरमा पर्छ ।
विकासै नभएको क्षेत्रका रुपमा ६ नम्बर प्रदेश देखिएको छ । प्राकृतिक सम्पदाले धनी भए पनि यो क्षेत्र ओझेलमा परेको क्षेत्र हो । यहाँ नगन्य मात्रामा आर्थिक कृयाकलाप हुने गरेको छ । रोजगारीको अवसर पनि यस क्षेत्रमा निकै कम छ । जसले गर्दा यस क्षेत्रका अधिकांश मानिसहरु केन्द्रमा आश्रित छन् ।

तर, राम्रो काम हुने हो भने यो क्षेत्रको भविष्य सुनौलो छ । यहाँ जलस्रोत, जडिबुटी र कृषिको प्रचुर सम्भावना छ । सम्भावना हुँदा हुँदै पनि विकासका हिसावले पछि पर्नुमा राज्यको ध्यान नपुगेर हो । अब बन्ने प्रादेशिक सरकारले त्यहाँको सम्भावना बुझेर काम गरेमा त्यस क्षेत्रले पनि तिब्र आर्थिक विकास गर्ने सम्भावना छ । नत्र सधैं पछाडि पर्न सक्छ ।

सरसर्ती हेर्दा प्रस्तावित प्रदेशहरु ठीकै लागेको छ । तत्कालका लागि केही प्रदेश कमजोर र केही बलियो देखिए पनि केन्द्र सरकारले व्यवस्थापन गरेर एक अर्कालाई सहयोग गर्ने वातावरण तयार गर्न सक्यो भने धेरै राम्रो सबन्धको विकास हुनेछ ।

एउटा प्रदेशले गरेको राम्रो काम अर्को प्रदेशले सिक्न सक्छ, त्यसलाई सिको गर्न सक्छ । प्रादेशिक सरकारले आफ्नो क्षेत्रमा अवसरहरहरु सिर्जना गर्न सक्छ । किनभने सबै प्रदेशमा उत्तिकै सम्भावनाहरु लुकेर रहेका छन् । यसका लागि राजनीतिक संस्कार र राष्ट्रहितमा काम गर्ने प्रतिवद्धता भने चाहिन्छ ।

निजी क्षेत्रले शान्ति र स्थायित्व आउनुपर्‍यो, सहजरुपमा व्यवसाय गर्ने वातावरण बन्नुपर्‍यो भनिरहेका छौं । प्रदेश सरकार आएपछि यसमा विशेष ध्यान दिनुपर्छ ।

व्यवसाय गर्ने वातावरण राम्रो बनाउन सकेमा सबैभन्दा धेरै सम्भावना ६ नम्बर प्रदेशमा देखिन्छ । २ र ३ त तत्कालका लागिमात्र सम्भावना भएका प्रदेश हुन् । ६ नम्बर प्रदेशमा जति सम्भावना छ, त्यसको सानो हिस्सा पनि उपयोग हुन सकेको छैन । राम्रो लिडर आयो भने ६ नम्बर प्रदेशको विकासका लागि लामो समय कुर्नुपर्दैन ।(साभार अनलाइन खबरबाट)


,

0 comments

Write Down Your Responses