Powered by Blogger.
पशुमा लक्ष्य भन्दा बढी कृत्रिम गर्भाधान सेवा

सरस्वती काफ्ले
सिन्धुली, २५ श्रावण, जिल्ला पशु सेवा कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०७१/७२ मा लक्ष्य भन्दा बढी पशुमा कृत्रिम गर्भाधान सेवा प्रदान गरेको छ । 
गत आर्थिक वर्षमा २५ सय वटा गाई र १५ सय वटा भैसीमा कृत्रिम गर्भाधान गराउने लक्ष्य लिएको कार्यालयले २६७८ वटा गाई र १६१५ वटा भैसीमा कृत्रिम गर्भाधान गराएको छ । 
जिल्ला पशु सेवा कार्यालयले पशु प्रजनन् सेवा कार्यक्रम अन्र्तगत कृत्रिम गर्भाधान सेवा प्रदान गरेको हो । पछिल्लो समय पशुमा कृत्रिम गर्भाधान गराउने कृषकहरुको संख्या जिल्लामा बृद्धि हुँदै गएको कार्यालयको वार्षिक प्रगति प्रतिवेदनले देखाएको छ । 
त्यस्तै पशु सेवा कार्यालयले गत आर्थिक वर्षमा पशु स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत १८ हजार ८८३ पशुलाई मेडिकल उपचार, ७ हजार ४२९ पशुलाई माइनर सर्जिकल उपचार, २ हजार २६० पशुलाई गाइनोलोजीकल उपचार सेवा प्रदान गरेको छ । भने रोग नियन्त्रण कार्यक्रम अन्र्तगत ९ हजार ९४६ पशुलाई रोगनिरोधक खोप प्रदान गरेको छ ।
कार्यालयले कृषकहरुलाई गाईभैसी पालन, बाख्रा पालन, बंगुर पालन, चरन तथा पशु आहार व्यवस्थापन सम्बन्धी व्यवसायीक तालिम समेत गत आर्थिक वर्षमा प्रदान  गरेको छ । पशु सेवा कार्यालयको व्यवसायीक पशुपालन सम्बन्धी तालिमले जिल्लामा व्यवसायीक रुपमा पशुपालन गर्ने कृषकहरुको संख्या पनि बृद्धि हुँदै गएको कार्यालयले जनाएको छ । 


,

0 comments

Write Down Your Responses