Powered by Blogger.
सदभावना पार्टीले संविधानसभा छाड्यो

नेता कार्यकर्तालाई काठमाडौं छाड्न निर्देशन
१ भदौ, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले संविधानसभाबाट सामुहिक राजीनामा दिएको घोषणा गरेको छ । विगतको सहमति सम्झौता अनुसार संविधान नबन्ने निश्चित भएको भन्दै उसले निरिह साक्षी किनाराका रुपमा मात्र संविधानसभामा बस्नुको औचित्य नभएको बताएको छ ।
मंगलबार साँझ पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सदभावना संसदीय दलको नेता लक्ष्मणलाल कर्णले भने-‘अब एक क्षणपनि संविधानसभामा बस्नु जनताको भावनाको अपमान हुनेछ ।’
जनताको इच्छा अनुसार संविधानसभाबाट संविधान जारी गर्न आन्दोलनको विकल्प नभएको सद्भावनाले बताएको छ ।
सद्भावनाका अध्यक्ष महतोले आफ्ना सबै नेता-कार्यकर्ताहरुलाई समेत काठमाडौं छाड्न निर्देशन दिएका छन् ।
साथै उनले काठमाडौंमा रहेको केन्द्रीय कार्यालय आन्दोलन सफल नभएसम्मका लागि बन्द गरेको घोषणा गरे । काठमाडौंको कार्यालय सम्पर्क कार्यालयका रुपमा मात्र रहने र केन्द्रीय कार्यालय मधेसमा राख्ने उनले बताए ।
महतोले यो आफ्नो पार्टीको मात्रै निर्णय भएको र मधेसी मोर्चाले पनि आवश्यक निर्णय गर्ने प्रतिक्रिया दिए ।
संविधानसभामा सदभावनाका १ प्रत्यक्ष र ५ समानुपातिक सभासद थिए । प्रत्यक्ष निर्वाचित संजय साह जनकपुर बमकाण्डमा मुछिएपछि निलम्बित छन् ।


,

0 comments

Write Down Your Responses