अबिरल बर्षाका कारण सिन्धुलीका ग्रामिण सडक बन्द
सिन्धुली/४ भाद्र/ लगातारको अविरल बर्षापछि सिन्धुलीका ग्रामिण सडक सबै बन्द भएका छन् । बर्षाका कारण सिन्धुलीबाट ग्रामिण सडक हुदै जिल्लाका अधिकांश स्थान पुग्ने सवारीका साधन सदरमुकाममै थन्किएका छन् ।
हिउदयाममा कनिका छरेझै विकास बजेट छरेर खनिएका सबै सडक बन्द भएपछि स्थानिय मारमा परेका छन् । बीपी राजमार्ग मध्यपहाडी राजमार्ग लगायतका सडक निर्माण भएपछि त्यससँग जोडेर थुप्रै सडक निर्माण भएका छन् तर ति कुनै सडक सुचारु छैनन् । मध्यपहाडी राजमार्गसँग जोडेका सडकनै दुई दर्जन हाराहारी सडक छन् तर ति सबै हाल बन्द भइसकेका छन् । दिगो रुपमा गाडी चल्ने गरि कुनै सडक निर्माण भएका छैनन्, भुवनेश्वरी गाविस–३ का गौरब कार्कीले भने, केहि सडकमा सामान्य सवारी सञ्चालन भएका थिए ती पनि निरन्तरको बर्षाले बन्द भइसक्यो ।
सडक निर्माण गर्दा ध्यान नदिदा बर्षासँगै पहिरोमा परिणत हुन थालेको छ । बर्षायाम सुरु भएसँगै ग्रामिण कतिबेला पहिरो बन्ने भन्ने स्थानियलाई डर हुन थालेको छ । जिल्ला विकास समिति मातहतबाट एक्स्काभेटर लगाएर ग्रामिण सडक निर्माण गर्न संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले रोक लगाएपनि जिल्ला विकास समिति सिन्धुलीले भने त्यसको ठाडो उल्लंघन गरि जथाभावि योजना विना एक्स्काभेटर लगाउन खुल्ला गरिदिएको छ । फलस्वरुप जिल्लाका ग्रामीण सडकमा सवारी सञ्चालनमा आउनुको साटो ठुला ठुला पहिरो गएको छ ।
दिगोपनालाई कुनै ख्याल नगरि सडक निर्माण गर्नाले जतातै पहिरो भयो, सित्तलपार्टी गाविसका टिका थापाले भने, सडक निर्माण गर्ने सोच राख्दा दिगोपनालाई पनि ध्यान दिनु पथ्र्यो । केहिदिन देखिको अविरल बर्षाले निर्माणधिन र निर्माण पुरा भइसकेका भनिएका ग्रामिण सडक बन्द भएपछि स्थानिय निराश बनेका छन् । मझुवा गाविसका खड्गबहादुर थापामगर घरैअगाडीबाट सडक निर्माण हुँदा जति हर्षित थिए हाल उनि त्यहि हर्षित छैनन् उल्टै निराश भएका छन् । भएको जग्गा काटेर सडक दिइयो, सडक सुविधा उपभोग गर्न पाइने आशले हाल जेनतेन ट्याक्टर मात्र चल्छ सबै पहिरो बनेको छ, उनले निराशा व्यक्त गरे ।
गत बैशाख १२ र २९ गते गएको बिनाशकारी भुकम्पले हल्लाएका सबै डाडामा असारमा एक्स्काभेटर पुगेका थिए ।
0 comments
Write Down Your Responses