Powered by Blogger.
यसरी भयो टीकापुरमा हिंसात्मक झडप

एसएसपीले भीडलाई सम्झाउन खोज्दा समातेर जलाइयो

७ भदौ, टीकापुर । कैलालीको टीकापुरमा सोमबार दिउँसो सरकारी कार्यालयहरुमा ‘थरुहट स्वायत्त प्रदेश’ को बोर्ड राख्ने कार्यक्रम थियो । कार्यक्रमको आयोजक थियो ‘थारुवान् संयुक्त संघर्ष समिति, जसमा सत्तारुढ कांग्रेस र एमालेका थारु नेताहरुसमेत सहभागी छन् ।
बोर्ड राख्ने कार्यक्रमका लागि टीकापुर नगरपालिका र आसपासका थारु बाहुल्य गाविसबाट मानिसहरु टीकापुर बजारतर्फ आएका थिए । पूर्वी भागको बर्दिया जिल्ला बाहेकका विभिन्न ठाउँबाट मानिसहरु टीकापुर आएका थिए । जोशीपुर लगायतका क्षेत्रबाट मानिसहरुको हुल टीकापुरतिर आएको थियो ।
सरकारका तर्फबाट पनि सरकारी कार्यालयमा सुरक्षा दिने हेतुले प्रहरी र सशस्त्र प्रहरीहरु परिचालन गरिएको थियो ।
यसै क्रममा टीकापुर-६, शंकरपुरस्थित पशुहाट नजिकै रहेको भीडनजिकै एसएसपी लक्ष्मण न्यौपानेको टोली पुग्यो । एसएसपीले न्यौपानेले गाडीबाट ओर्लेर भीडलाई सम्झाउनमात्रै के लागेका थिए, त्यहीबेला एक हुल अगाडि बढ्यो र प्रहरी जवान लक्ष्मण खड्कामाथि आक्रमण शुरु भयो ।
लगत्तै एसएसपी न्यौपाने र केही प्रहरीलाई भीडले नियन्त्रणमा लियो र केही पर पुर्‍याएर कुटपिट गर्दै पेट्रोल छर्केर आगो लगाई हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
शंकरपुरका साथै मुनुवा-१ को कञ्चनपुर भन्ने ठाउँमा पनि प्रहरी र प्रदर्शनकारीवीच झडप भएको थियो । घटनास्थलमा खटिएका रेडक्रसमा कर्मचारीले दिएको जानकारी अनुसार प्रदर्शकारीले हातमा भाला, लाठी र गुलेली लगायतका घरेलु हतियारहरु बोकेका थिए । भीडमा बालबालिका र महिलाहरुसमेत थिए ।
अस्पतालमा बेहाल
झडपपछि टीकापुर अस्पतालको स्थिति बेहाल बन्यो । अस्पतालमा प्रहरीका ७ वटा शवहरु संकलन गरिएका थिए । करीब ५६ जना घाइते प्रहरीलाई उपचार गर्ने स्थान नरहेर बाहिरै राखिएको थियो । थारु समुदायका आधा दर्जनजति घाइतेहरु अस्पतालमा देखिन्थे ।
घटनामा मृत्यु हुने जनपथ प्रहशरीका ५ र सशस्त्रका दुई प्रहरीको शव पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको छ । झडपमा परी निधन हुनेमा एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टरद्वय बलराम बिष्ट, केशव दाहाल र प्रहरी जवान लक्षमण खड्का एवं लोकेन्द्र चन्दसमेत छन् । त्यस्तै सशस्त्र प्रहरी हवल्दारद्वय ललित साउद र रामबिहारी चौधरीको शव पनि अस्पतालमा राखिएको छ ।
हिंसात्मक झडपपछि प्रहरीले फायर खोलेको थियो । गोली चल्न थालेपछि प्रदर्शनकारीहरु पछि हटेका थिए । दिउँसो २ बजेदेखि कर्फ्यु जारी गरिएपछि अपरान्ह झडप साम्य भए पनि टीकापुरको स्थिति तनावपूर्ण नै रहेको छ ।
काठमाडौंमा केपी ओलीले झडपमा प्रदर्शनकारीका तर्फबाट एसएलआर राईफलकाट गोली चलाइएको बताए पनि प्रदर्शनकारीतर्फबाट गोली चलेको अहिलेसम्म पुष्टि भएको छैन । मृतक एवं घाइते प्रहरीहरुमाथि लाठी, भाला, एवं घरेलु हतियारबाट आक्रमण एवं कुटपिट भएको पाइएको छ । घटनाको प्रकृति हेर्दा भड्किएको भीडले प्रहरीमाथि आक्रमण गरेको देखिन्छ ।
(टीकापुरका पत्रकार एवं स्थानीय प्रत्यक्षदर्शीहरुको भनाइमा आधारित)


, ,

0 comments

Write Down Your Responses