Powered by Blogger.
टीकापुरसँगै तराईमा तनाब, कहाँ के भइरहेछ ?

कैलाली, दाङ, रौतहट दंगाग्रस्त क्षेत्र घोषणा, बाँकेमा कर्फ्यू
७ भदौ, काठमाडौं । कैलालीको टीकापुरमा सोमबार एसएसपीसहित ७ सुरक्षाकर्मीको मृत्यु भएपछि सरकारले तराई मधेसका केही जिल्लाहरुमा सेना परिचालन गरी दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
कैलाली, दाङ र रौतहटमा दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरिएको छ भने बाँके, रुकुम र रुपन्देहीमा कर्फ्यू तथा निषेधाज्ञा जारी गरिएको छ । सर्लाहीको प्रदर्शन भने सोमबार साँझसम्म शान्तिपूर्ण छ ।

सोमबार टीकापुरमा भड्किएको हिंसापछि तराई मधेसका बिभिन्न जिल्लामा जनपथ प्रहरीले शान्ति सुरक्षा कायम गर्न अपर्याप्त हुने देखिएपछि सशस्त्र प्रहरी र नेपाली सेनाको साथ लिन थालिएको हो ।
नेपालगञ्जमा कर्फ्यू
बाँके नेपालगञ्जमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै आन्दोलनकारीहरुले प्रदर्शन जारी राखेपछि सोमबार राति ९ बजेदेखि मंगलबार विहान ९ बजेसम्म कर्फ्यू लगाइएको छ ।
थरुहट मधेस संयुक्त संघर्ष समितिको आन्दोलन परिचालन समितिका सदस्यसचिव तथा तमलोपाका नेता ललित रौनियार र सदभावनाका जिल्लास्तरीय नेता रामुकमार दीक्षितलाई प्रहरीले नियन्त्रणमा लिएपछि आन्दोलन चर्किएको थियो ।
थरुहट र मधेसी मोर्चाका कार्यकर्ताहरुले पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै निषेधाज्ञा तोडेर त्रिभुवन चोकमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच सो क्षेत्रमा झडप समेत भएको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले जानकारी दिए ।
प्रहरी र प्रदर्शनकारीबीचको झडपमा २०-२५ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैजसो प्रहरी छन् । आन्दोलनमा केही सन्चारकर्मीमाथि दुर्व्यवहार पनि भएको  आरपी सुवेदीले जानकारी दिए ।
गौरमा कर्फ्यू
गौतम श्रेष्ठका अनुसार रौतहट सदरमुकाम गौरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच सोमबार झडप भएपछि कर्फ्यू लगाइएको छ । गौर नगर क्षेत्रमा सोमबार साँझ ५ बजेदेखि मंगलबार विहान ५ बजेसम्म कर्फ्यू लगाएको हो । जिल्लालाई सरकारले दंगाग्रस्त क्षेत्र घोषणा गरेकाले अब सेना परिचालन हुने प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको दशौं दिन सोमबार सदरमुकाम गौरमा महिलाहरुले सांकेतिक तरवार जुलुस निकालेर नगर परिक्रमा गर्दा प्रहरीसँग झडप भएको थियो ।
दाङ दंगाग्रस्त क्षेत्र घोषणा
आदिवासी थारु समुदायको बाक्लो बस्ती रहेको दाङ जिल्लामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा क्षेत्र घोषणा गरेको छ । सोमबार राति ८ बजेदेखि भदौ २२ गतेसम्मलाई निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला सुरक्षा समितिको सोमबार साँझ बसेको बैठकले दाङ सदरमुकाम घोराही, तुलसीपुर, लमही, भालुबाङ, गढवा लगायतका बजार क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ । यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको सीमा क्षेत्र अमेलिया र कपिलवस्तुको सीमा क्षेत्र धानखोलासम्म पनि निषेधाज्ञा जारी गरिएको छ ।
कैलालीको जस्तै घटना नहोस् भनेर निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले जानकारी दिए ।
भैरहवामा ९ गतेसम्म निषेधाज्ञा
रुपन्देहीमा मधेसी मोर्चा र थरुहटले संयुक्त रुपमा जारी राखेको आन्दोलन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले भैरहवा नगरपालिका क्षेत्रमा यही भदौ ५ गतेदेखि लगाएको निषेधाज्ञा ९ गतेसम्मलाई कायम राखेको छ ।
पूर्वमा बसन्तपुर गाविस, वाईपास सडक, पश्चिममा गौतमबुद्ध बिमानस्थलको मायादेवी पार्क, उत्तरमा पडसरी र दक्षिणमा बेलहीया, भारत सीमानाको चौकीलासम्म निषेधित क्षेत्र तोकिएको छ ।
सीमांकनको विरोधमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र बन्दको विरोध गर्ने स्थानीय प्रतिकार समूहबीच पटक पटक झडप भएपछि भैरहवामा तनाव बढेको थियो ।
रुकुममा पनि निषेधाज्ञा
यसैगरी अखण्ड रुकुमको माग गर्दै सदरमुकाम खलंगामा जारी आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले आइतबारदेखि लगाएको निषेधाज्ञा सोमबार पनि जारी राखेको छ ।
रुकुमलाई टुक्राएर पश्चिम भागलाई ६ नम्बर प्रदेशमा र पूर्वी भागलाई ५ नम्बर प्रदेशमा राखिएको विरोधमा एकीकृत रुकुम संघर्ष समितिको अगुवाइमा आन्दोलन चर्किएको छ । प्रदेशको सीमांकन गर्दा रुकुमलाई टुक्राइएको विरोधमा १६ औं दिनदेखि आन्दोलनरत रुकुमेलीहरुले सदरमुकामलाई नाकावन्दी गरी तरकारी र दूध पठाउन बन्द गरेका छन् ।
सर्लाहीमा शान्तिपूर्ण आन्दोलन
सर्लाहीमा शान्तिपूर्ण आन्दोलन जारी छ । प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले दिएको जानकारीअनुसार जिल्लामा प्रदर्शन जारी रहे पनि बल प्रयोग गर्नुपरेको छैन ।
उनले भने-‘सदरमुकाम मलंगवामा दिनहुँ प्रदर्शन भैरहन्छ तर लाठी चार्ज पनि गर्नुपरेको छैन, सार्बजनिक सम्पत्ति तोडफोड भएको छैन ।’ प्रमुख जिल्ला अधिकारी काफ्लेले शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन कटिबद्ध रहेको बताए । www.onlinekhabar.com


,

0 comments

Write Down Your Responses