Powered by Blogger.
कहाँ लुकेका थिए टीकापुरका सरकारी गुप्तचर ?

यसरी छताछुल्ल भयो सरकारको सुरक्षा कमजोरी

८ भदौ, काठमाडौं । टीकापुरमा झडप साम्य हुँदा नहुँदै व्यवस्थापिका संसदमा गृहमन्त्री वामदेव गौतम जातीय एवं साम्प्रदायिक सदभावबारे भाषण गरिहरहेका थिए ।
स्थानीय प्रदर्शनमा ५० भन्दा बढी प्रहरी घाइते हुनु र दंगा नियन्त्रणमा खटिएका एसएसपी एवं दुई इन्स्पेक्टरसमेत मारिनु सामान्य घटना होइन । यो घटनाले वामदेव गौतमको नेतृत्वमा रहेको सुरक्षा निकाय शान्ति सुरक्षामा कति निरीह र कमजोर रहेछ भन्ने उजागर भएको छ ।
अन्य प्रजातान्त्रिक मुलुकमा भए यस्तो घटनामा गृहमन्त्रीले नैतिकताका आधारमा तत्कालै राजीनामा दिन्थे त्यसपछि माफी माग्थे । तर, हाम्रो गृह मन्त्रालयचाँहि कैलालीका थारुहरुको प्रदर्शनमा एसएलआर राईफल चलाइएको थियो भन्ने तर्कका पछि लागेर सरकारको कमजोरी ढाकछोप गर्नेतिर लागेको छ ।
आफ्नो एसएसपीलाई समेत बचाउन नसक्ने नेपाल प्रहरीको कमजोरीबारे समीक्षा नगर्ने र यो घटनामा सरकार कहाँ चुक्यो भनेर नखोज्ने हो भने अन्य यस्ता झडपहरुमा थप प्रहरीले क्षति व्यहोर्नुपर्ने स्थिति नआउला भन्न सकिँदैन ।
टीकापुर घटनालगत्तै केपी शर्मा ओलीले बागबजारको हार्दिक होटलमा भने कि थारुहरुले यो घटना गराएको नभई एसएलआर राइफल बोकेर आएकाहरुले प्रहरीमाथि आक्रमण गरेका हुन् ।
केपी ओलीले भनेजस्तै एलएलआर राइफलवालाले नै प्रहरीमाथि आक्रमण गरेका हुन् भने त्यो तथ्यहरुबाट खुल्दै जाला । तर, यतिमात्रै भनेर थारुहरुले उठाउँदै आएको मागप्रति नेताहरुले आँखा चिम्लन मिल्छ कि मिल्दैन ? यो अर्को बहसको विषय हुन सक्छ ।
कहाँ लुके सरकारी गुप्तचर ?
टीकापुरमा चारैतिरबाट प्रदर्शनकारीहरु घरेलु हतियारसहित आउँदैछन् र उनी १० हजार भन्दा बढीको संख्यामा छन् भन्ने कुरा सरकारी गुप्तचरले बेलैमा प्रहरी प्रशासनलाई खबर गर्न सक्नुपर्ने थियो ।
र, त्यसरी संकलन गरिएको सूचनाका आधारमा तत्कालै सरकारले प्रतिरोधका लागि कति प्रहरी आवश्यक पर्छ र के गर्नुपर्छ भन्ने रणनीति बनाउनुपर्थ्यो, जुन कुरा टीकापुरमा हुन सकेको देखिएन । सुरक्षा प्रतिरक्षामा सरकारी रणनीति पूर्णरुपमा निरीह देखियो ।
गुप्तचर निकायमा नेताहरुले आफ्ना मानिस भर्ती गर्ने र क्षमताविहीन बनाउने कार्यले गर्दा गुप्तचर निकाय समाजमा हुने सम्भावित हिंसाबारे सूचना संकलन गर्न नसक्ने असक्षम बनाइएको छ । यही असक्षमताका कारण टीकापुरमा सरकारले बेलैमा सूचना संकलन गरेर प्रतिरोधको रणनीति बनाउन सकेन ।
घटनाको कारण राजनीतिक कि विशुद्ध आपराधिक ?
टीकापुर घटनाका बारेमा सरकारी अधिकारीहरुमा दुई प्रकारका कमजोरी देखिएका छन् । प्रथमतः उनीहरुले गुप्तचर निकायको पंगुपनका कारण परिस्थितिको पूर्वआँकलन गर्न र उपयुक्त प्रतिरोध रणनीति अवलम्बन गर्न सकेनन् ।
दोस्रो कमजोरी के देखिँदैछ भने यो घटनापछि सरकारी अधिकारी र मन्त्रीहरु यसलाई राजनीतिक नभएर विशुद्ध आपराधिक रंग दिने प्रयासमा लागेका छन् । हिंसाको यो घटना निन्दनीय एवं आपराधिक त हो नै, तर यसको कारण खोज्दै जाने हो भने सत्तारुढ दलहरुले राजनीतिक समस्यालाई सही व्यवस्थापन गर्न नसक्दा सिर्जना भएको दुर्घटना पनि हो यो ।
त्यसैले आगामी दिनमा यस्ता घटना हुन नदिने हो भने सरकारले प्रथमतः आफ्नो गुप्तचर निकायलाई व्यवसायिक बनाउनुपर्छ र सम्भावित हिंसालाई रोक्ने पूर्वयोजना बनाउनुपर्छ । दोस्रो, राजनीतिक रंगमा भड्किने हिंसाको समाधान राजनीतिक किसिमले खोज्नुपर्छ ।
मधेसमा आन्दोलन भइरहेको छ । मुलुकको संक्रमणबाट फाइदा उठाउँदै अवाञ्छित तत्वहरुले खेल्ने सम्भावनालाई विचार गर्दै राजनीतिक समस्याको समाधान खोज्न नेताहरुले लचिलो हुन आवश्यक छ भने कानूनी रुपमा हुने अपराधहरुप्रति कडा रुप अपनाउन जरुरी छ ।(साभार अनलाइन खबरबाट)


,

0 comments

Write Down Your Responses