Powered by Blogger.
सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्दा ध्यान दिनुपर्ने कुराहरु

नेपालमा सेकेण्ड ह्याण्ड मोटरसाइकलहरुको बजार राम्रो रहेको छ। उपत्यकामा पनि सेकेण्ड ह्याण्ड मोटरसाइकल बेच्ने थुप्रै पसलहरु खुलेका छन्। काठमाडौँ लगायत नेपालका विभिन्न ठूला तथा व्यस्त शहरहरुमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको  छ।

कामगर्ने कर्मचारीहरुदेखि लिएर व्यापार व्यवसाय गर्नेहरुका लागि मोटरसाइकल नभइ नहुने भइसकेको छ। झन् काठमाडौँ जस्तो स्थानमा त आफ्नो साधन नभए मानिसहरुले आवतजावतका लागि निकै समस्या भोग्नुपरेको छ।

यसरी हरेक कामका लागि आवश्यक भइसकेको मोटरसाइकल झट्ट नयाँ किनिहाल्न धेरैको आर्थिक अवस्थाले साथ दिदैँन। यस्ता ग्राहकहरुका लागि सेकेण्ड ह्याण्ड मोटरसाइकलहरु सहज भएका छन्। त्यस्तै सुरुसुरुमा चलाउनेहरु पनि नयाँ मोटरसाइकल भन्दा सेकेण्ड ह्याण्ड मोटरसाइकल नै सिकेर, राम्ररी जानेर मात्र नयाँ किन्ने सोच भएकाहरु पनि यसतर्फ आकर्षित भएको पाइएको छ । 

सहुलियत दर, नयाँ मोडेल, फेरिफेरि प्रयोग गर्न पाइने र फाइनान्सको समेत सुविधा उपलब्ध गराउने हुनाले पनि सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्नेहरुको संख्या बढ्दो रहेको छ। 

तर यस्ता सेकेण्ड ह्याण्ड मोटरसाइकलकिन्दो विचार नपुर्‍याइ किन्दा धेरै मानिसहरुको पैसा त्यसै खेर जाने र दुःख पाएको समेत पाइएको छ। 

सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्दा यसको मेकानिकल कुराहरुको बारेमा राम्ररी जानकारी लिनु आवश्यक छ। यसरी जाने बुझेर र मोटरसाइकलको अवस्थाका बारेमा पूर्ण जानकार भएर किनेमा खरिदकर्ताले पैसाको वचतसँगै धेरै फाइदा लिन सक्छन्।  

सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्दा ठगीमा नपरियोस् भन्नका लागि मोटरसाइकलका निम्न कुराहरुमा विशेष ध्यान दिनुका साथै राम्ररी जाँच बुझ गर्नुपर्छ। 

१. इन्जिनः
मोटरसाइकलको मुख्य पाटो भनेको यसको इन्जिन हो। आफुले किन्न खोजेको मोटरसाइकलको इन्जिनका बारेमा राम्ररी बुझ्नु एकदमै आवश्यक छ। इन्जिनको अवस्था बुझ्न सबैभन्दा पहिले नजिकैबाट त्यसको आवाज सुन्नुपर्छ। इन्जिनको आवाजले त्यसको अवस्था बताउँछ। आवाज स्मुथ हुनपर्छ र यसमा कुनै किसिमको ख्याटख्याट वा अन्य डिस्टर्ब हुने खालको आवाज आउनु हुँदैन।   

त्यस्तै इन्जिनले निकाल्ने धुँवाको पनि निरिक्षण गर्नपर्छ। यदि धुवाँ सफा नभएर कालो छ भने त्यसको कार्बुरेटर बिग्रको हुनसक्छ। सेतो धुँवा आएमा इन्जिनले धेरै इन्धन खान्छ भन्ने बुझ्नपर्छ। यसमा मोटरसाइकलको बोर, पिस्टन वा रिङ बिग्रेको हुनसक्छ।

कालो र सेतो धुँवा मिसिएपछि मोटरसाइकलले निलो धुँवा फ्याँक्छ। यस्तो अवस्थामा इन्जिन र कार्बुरेटर दुवैको अवस्था राम्रो हुँदैन। त्यसैले यस्ता धुँवा आउने सेकेण्ड ह्याण्ड मोटरसाइकल नकिन्नु राम्रो हुन्छ। 

२. ह्याण्डलः
कुनै किसिमको दुर्घटनामा परेको मोटरसाइकलको ह्याण्डल सिधा हुँदैन र यसको कोण बाङ्गो हुन्छ। त्यसैले दुर्घटनामा परेको मोटरसाइकलबाट बच्न यसको ह्याण्डल राम्ररी नियाल्नुपर्छ। 

३. गियरबक्सः
मोटरसाइकलको गियरबक्सको अवस्था बुझ्न सबैभन्दापहिले कम्तीमा पनि १ किलोमिटर जति कुदाइहेर्ने। कुदाउँदा सबै गियरहरु प्रयोग गर्ने र हेर्ने की गियर कति सहज वा अप्ठ्यारो छ। त्यस्तै गियर जाम भएको छ, छैन पनि हेर्ने। मोटरसाइकल रोकेर डबल स्ट्याण्ड लगाउने र गियरबक्सको राम्ररी निरिक्षण गर्ने। गियरबक्स सामान्यभन्दा फरक लागेमा उक्त मोटरसाइकल नकिन्ने। 

४.चक्काः
मोटरसाइकलको चक्काको अवस्था बुझ्न यसलाई डबल स्ट्याण्ड लगाएर समतल स्थानमा राख्ने। त्यसपछि त्यसका टायरहरु एउटै लाइनमा छ, छैन भन्ने हेर्ने। दुवै टायर एकै लाइनमा छैनन् भने त्यो मोटरसाइकल नकिन्दा नै वेश हुन्छ। 

५.क्लचः
क्लचको स्पेस १० देखि ३० मिमि मात्र हुनपर्छ। यो भन्दा बढी भएमा इन्जिनलाई लोड पर्ने हुँदा विक्रेतालाई भनेर क्लच फेर्न लाउनुपर्छ।

६. कागजातः
कुनैपनि साधन किन्दा त्यसका आवश्यक कागजात राम्ररी हेर्नुपर्छ। मोटरसाइकलको पहिचान हुनेगरीको र आधिकारिक कागजात हो, होइन हेर्ने। त्यसका लागि ब्लुबुकमा भएको च्यासिस नम्बर र मोटरसाइकलको च्यासिस नम्बर चेक गर्ने। त्यस्तै सवारी साधन कर, विमा वा नविकरण शुल्क तिरेको छ, छैन पनि हेर्ने। 

७. अन्यः 
सेकेण्ड ह्याण्ड मोटरसाइकल अरुपनि किन्दा थुप्रै कुराहरुमा विचार  पुर्‍याउनुपर्ने हुन्छ। मोटरसाइकलको बाहिरी आवरण, कति किलोमिटर कुदेको छ, माइलेज, ब्रेकको अवस्था, हेडलाइट, साइड लाइट, ब्याक लाइटका साथै टायरहरु, सक, एयर फिल्टर, डिस्प्ले, लुकिङ ग्लास, ब्याट्रिको अवस्था हेर्नुपर्छ। 

त्यस्तै आरपीएम मिटर, च्यासिस, स्प्रोकेट्स, सिट, चेनका साथै सम्पूर्ण पार्टपूर्जाको पनि राम्रो परिक्षण गर्नुपर्ने हुन्छ। 

राम्ररी चेक नगरी र विचार नपुर्‍याई सेकेण्ड ह्याण्ड मोटरसाइकल किनेमा पैसा त यसै जान्छ त्यसका साथै बारम्बार मर्मत गनुपर्ने, पाटपूर्जाहरु फेर्नुपर्ने लगायतका थुप्रै समस्याहरु भोग्नुपर्ने हुन्छ। 


,

0 comments

Write Down Your Responses