Powered by Blogger.
प्रधानमन्त्रीले भने-सेना परिचालन भएको छैन

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलन शान्तिपूर्ण हुनासाथ कर्फ्यु र सुरक्षाकर्मीको परिचालनलाई हटाएर सामान्य बनाइने प्रतिबद्धता समेत कोइरालाले बताएका छन । तर, अहिले सेना परिचालन नभएको समेत प्रष्ट पारे ।

‘सेना कहाँबाट परिचालन भएको छ ? राष्ट्रियरुपमा कहीँ परिचालन भएको छैन । स्थानीय स्तरमा सुरक्षा व्यवस्था मिलाउन केही ठाउँमा सेना पनि कानुनबमोजिम आएको हो’ कोइरालाले भने ।
मधेस आन्दोलनको माग बमोजिम जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न संविधानको बिधेयकमा आवश्यक संशोधन गर्न प्रमुख तीन दल सहमत भएको प्रधानमन्त्रीले बताएका छन् ।
प्रधानमन्त्री कोइरालाले संविधानसभाको बैठकलाई सम्बोधन गर्दै एक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याको अनुपातमा क्षेत्र निर्धारणका लागि आवश्यक संशोधन प्रस्ताव पारित गरिने प्रतिवद्धता जनाए ।
कोइरालाले समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता अन्तरिम संविधान बमोजिम नै हुनेसमेत प्रष्ट पारे ।
आन्दोलनको अर्को महत्वपूर्ण मागलाई सम्बोधन गर्दै कोइरालाले भने-अन्तरिम संविधानभन्दा पछि हटिँदैन, संविधानको प्रस्तावित सामाजिक न्यायको सिद्धान्त सम्बन्धी धारामा सबैको भावनाबमोजिम संशोधन गर्न तयार छौं ।
कोइरालाले मधेस तथा थरुहट आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिइने र घाइतेको उपचारका कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्रीकाे प्रश्न- मुलुकमा आगो लगाउने ?

संविधानसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति कोइरालाले जनजाति, महिला, दलितलगायतका नेताहरु आएर आफूहरुले भनेको जस्तो नभए संविधान जलाउने धम्की दिएको बताए ।
‘एउटा कुरा के छ भने’ भन्दै प्रधानमन्त्रीले भने- ‘जनजाति महिला, दलित, पिछडिएको वर्ग लगायत आएर मलाई भन्नुहुन्छ, प्रधानमन्त्रीजी यो उ गर्नुपर्‍यो । (संविधानसभामा हाँसोको फोहोरा छुट्यो) पास गर्नुपर्‍यो, हुबहु गर्नुपर्‍यो ।’
आफूले यो सम्झौताको दस्तावेज हो भन्दाभन्दै संविधान जलाउने धम्की दिएको उनले सुनाए । ‘होइन, तपाई मान्नुहुन्न भने यस्तो संविधानलाई आगो लगाइदिन्छु भन्छन्’ प्रधानमन्त्रीले संविधानसभामा सुनाए-‘मैले भनें लगाइदिनुस्, आगो लगाएर के हुन्छ ? मुलुकमा आगो लगाउने ?’
प्रधानमन्त्री कोइरालाले वार्ता र सम्वादबाटै निकास खोज्न सबैलाई अपील गरेका छन् । शान्तिपूर्ण आन्दोलन गर्ने छुट सबैलाई रहेको भन्दै प्रधानमन्त्री कोइरालाले भने-‘पुलिस बीट जलाइएको छ, सभासदहरुको घरमा आगो लगाइएको छ । यो शान्तिपूर्ण आन्दोलन हो ?’


,

0 comments

Write Down Your Responses