Powered by Blogger.
प्रचण्डले भने, ‘केही मधेसी नेताहरुको माग आत्मघाती र राष्ट्रघाती छ ’

२७ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसलाई स्वतन्त्र देश बनाउनुपर्छ भन्ने केही मधेस केन्द्रित दलका नेताहरुको माग आत्मघाती र राष्ट्रघाती भएको बताएका छन् । उनले अलग्गिने नभइ काठमाडौंमा हिस्सा खोज्न सुझाव दिए ।

आइतबार संविधानसभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मधेस एउटा स्वतन्त्र देशको रुपमा रहन्छ भन्ने मागले भयानक दुर्घटनामा लैजान्छ । काठमाडौंका मठ, मन्दिर, पोखरी, कला सँस्कृतिहरुसँग मधेसको खुन पसिना जोडिएको छ । त्यसैले काठमाडौंसँग अलग्गिने होइन, जोडिने कुरा खोज्नुपर्‍यो ।’
प्रचण्डले यसो भन्दा सभासदहरुले टेबुल ठोकेर समर्थन जनाए ।
राष्ट्रिय एकताको आधारलाई बिर्सन नहुने भन्दै उनले थारु, मधेसी, आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, पिछडिएका वर्गा सबैलाई उचित अवसर, मौका पाएमात्रै अबको राष्ट्रिय एकता सम्भव हुने धारणा राखे ।
प्रचण्डले अधिकार प्राप्तिका आन्दोलनमा एमाओवादीको समर्थन रहेको र संविधान निर्माण गर्नैपर्ने अवस्थाको अप्ठेरो परिस्थितिमा एमाओवादी रहेको उनले बताए ।
उनले भने, ‘थारुहरुको आन्दोलनमा समर्थन छ । मधेसको आन्दोलनमा पनि समर्थन छ, कर्णालीको मागमा पनि हामीलाई पाउँछौं । उनीहरुका माग जायज छ भन्ने लाग्या छ । तर यता संविधान बनाउनुपर्छ भन्ने एमालेको सहयात्रीहरुको रुपमा हामीलाई पाउँछौं । इतिहासको यस्तो प्रसव पीडामा छ एमाओवादी ।’
प्रचण्डले आफ्ना पार्टीका सबै एजेण्डा संविधानमा नसमेटिए पनि देशलाई संविधान चाहिएकाले संविधान बनाउन अग्रसर भएको बताए ।
उनले हजारौंको बलिदान र संघर्षको प्रतिफलबाट विश्वमै लोकतान्त्रिक विधिबाट संविधान बन्न गैरहेको दाबी गरे । तर, संविधानमा सबैको माग सम्वोधन नभएको र आफ्ना पार्टीका एजेण्डा पनि नसमेटिएकोमा दुःख व्यक्त गरे । कार्ल मार्क्सको भनाइ उद्धरण गर्दै उनले ड्रागनको दाँत काँट्न खोज्दा उपियाको फुल काटे सरह भएको टिप्पणी गरे ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले ल्याएको संविधानसभाको एजेण्डाअनुसार संविधान निर्माण हुन लागेकोमा सन्तोष व्यक्त गरे । संविधान निर्माण रोक्न धेरै किसिमका षडयन्त्र र चलखेललाई चिर्न सफल भएको उनले दाबी गरे ।
‘आठ बर्षको अनवरत संघर्षमा पनि टोलको गोरु टोलमै घुमे झैं घुमिरहेजस्तो । भुमरीमा परेको जस्तो भएको थियो । नेपालका राजनीतिक दलहरु आफ्नो प्रतिज्ञाहरु पू्रा गर्न सक्षम छैनन् भन्ने चिन्ता सर्बत्र व्याप्त भयो,’ उनले भने, ‘हामीले १६ बुँदे हुँदै लचकता मात्रै होइन ठूलो त्याग गरेर संविधान घोषणा गर्ने अवस्थामा आएका छौं । एउटा कायापलट हुँदैछ भने स्वार्थहरु डगमगाउनु र पीडा हुनु स्वाभाविक छ । यी सबै प्रकृतिकै नियम अनुसार भएका छन् ।’


,

0 comments

Write Down Your Responses