Powered by Blogger.
मोदीका विषेश दूतको यस्तो छ ‘विशेष मिसन’

काठमाडौं– भारतको चाहनाविपरित असन्तुष्ट रहेका मधेशी दलहरुलाई नसमेटी संविधानसभाबाट बहुमतले संविधान पारित भएपछि भारतीय प्रधानमन्त्रीका विशेष दूतका रुपमा विदेशसचिव एस जयशंकर शुक्रबार काठमाडौं आइपुगेका छन् । आफ्नो मिसन पुरा गर्न उनले दिनभर भेटघाटको सेडुअल बनाएका छन् ।
उनले आज प्रधानमन्त्री सुशील कोइराला, राष्ट्रपति रामवरण यादव, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई भेट गर्नेछन् । त्यस्तै आन्दोलनरत रहेका मधेशी दलहरुलाई पनि भेट गर्नेछन् । उनले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय छ ।
संविधान बहुमतले पारित भएपछि बिहिबार विहान हतारमा उनको नेपाल भ्रमण तय गरिएको थियो । शुरुदेखि नै आन्दोलनरतपक्षलाई समेटेर मात्र संविधान जारी गराउनुपर्ने बताउँदे आएको भारतको सोही सन्देश बोकेर उनी शुक्रबार बिहानै नेपाल आइपुगेका छन् । यस भ्रमणको उनको मुख्य मिसन भनेको नै तीन दल र मधेशी दलका नेताहरुबीच वार्ता गराउनु रहेको छ ।
वार्ताका लागि आन्दोलनरत मधेशी मोर्चाका तीन नेता काठमाडौंमा तयारी अबस्थामा बसेका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव राजधानीमा रहेका छन् । संविधानसभाबाट राजीनामा दिएर मधेश हानिएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने अझै काठमाडौं फर्केका छैनन् । जयशंकर आउने भनेपनि पनि उनी काठमाडौंमा वार्ता गर्ने मुडमा देखिएका छैनन् । आफ्नो सट्टामा उनले लक्ष्मणलाल कर्णलाई काठमाडौंमा पठाएका छन् । कर्ण आज विहानै काठमाडौं आइसकेका छन् ।
शीर्ष दल र भारतको फरक योजना
मोदीले विशेष दूत पठाउने भएपछि शीर्ष तीन दललाई आज मधेशी दलहरुसँग वार्ता गर्नका लागि भारतले प्रेसर गर्ने थाहा थियो । त्यही भएर विदेश सचिव नेपाल आउन अघि उनीहरु विजय गच्छदारसँग जसरी पनि सहमति गर्न चाहन्थे । त्यही भएर हिजोको बैठक राती १ बजेसम्म चलेको थियो ।
स्रोत भन्छ, ‘बैठकमा सबैकुरा सकारात्मक रुपमा अघि बढेको थियो । तर, भारतको दबाबमा हिजो सहमति हुन दिइएन ।’ स्रोतका अनुसार भारतको मुख्य चाँसो गच्छदारको मोर्चाभन्दा पनि मधेशी मोर्चा रहेको छ । त्यही भएर जयशंकरको आजको मुख्य मिसन भनेको तीन दल र मधेशी मोर्चाको बीचको वार्ता नै हो । यता, शीर्ष दलहरु भने गच्छदारलाई पनि प्रक्रियामा सहभागी गराउन सके मधेशी दलहरुमथि ‘प्रेसर’ बनाउन सकिने बुझाइमा रहेका छन् ।
नेपालमा विशेष परिस्थिति सृजना हुँदा भारतले पटक–पटक आफ्नो दूत पठाउने गरेको छ । कतिपय समय भारत सफल त कतिपय बेला असफल बनेको दृष्टान्तहरु रहेका छन् । जयशंकरको भ्रमण कति सफल होला यो हेर्न आज साँझ सम्म पर्खनुपर्नेछ ।

दुई असफल मिसन

नेपालको विशिष्ठ राजनीतिक अबस्थामा भारतले दूत पठाउने गरेको छ । यस अघि भारतका विशेष दूत दुईपटक नेपाल आएका थिए ।
जनआन्दोलन उत्कर्षमा पुगेको वेला ८ वैशाख ०६३ मा डा। करण सिंह विशेष दूतका रूपमा नेपाल आएका थिए । तर, राजा र दलबीच उनले गराउन खोजेको सहमति भने हुन सकेको थिएन । अरु आन्दोलन थप चर्किएको थियो ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि प्रधानमन्त्री चुन्न संसद्मा १७ पटकसम्म चुनाव भयो । नेपालको संसद्ले नया प्रधानमन्त्री छान्न नसकेका वेला ०६७ मा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालका लागि पूर्वराजदूत तथा तत्कालीन विदेशसचिव श्यामशरणलाई विशेष दूतका रूपमा नेपाल पठाएका थिए । तर, त्यतिवेला पनि भारतले चाहेजस्तो सरकार बनेको थिएन, बरु एकीकृत माओवादीको सर्मथनमा झलनाथ खनाल प्रधानमन्त्री भएका थिए ।

यसपाली जयशंकरको मिसन कति पुरा हुन्छ त्यो भने नेपालको राजनीतिमा हुने विकासक्रमले देखाउनेछ ।


,

0 comments

Write Down Your Responses