Powered by Blogger.
वल्डभिजनले हिन्दुहरुलाई क्रिश्चियन बनाएकै हो त ?

बिजयकिल्ला ब्यूरो 
सिन्धुली, ७ असोज । वल्ड भिजन इन्टरनेशनल नेपाल अन्तराष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । जस्ले संसारका ९० भन्दा बढी देशहरुमा काम गरिरहेको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपाल सन १९८२ देखि नेपालमा भित्रिएको हो । यस्ले क्षेत्र विकास कार्यक्रम मार्फत नेपालमा जोखिममा परेका वालवालिका, उनीहरुको परिवार र समुदायको शसक्तिकरण गरी गौरव र शान्तिमय गुणस्तर जीवन सुधार्ने लक्ष्यका साथ आफ्ना गतिविधी सञ्चालन गरिरहेको छ । वल्र्ड भिजनले विशेषत बालवालिकाहरुलाई केन्द्रित गरेर आफ्ना गतिविधीहरु सञ्चालन गरिरहेको छ ।

जोखिममा परेका वालवालिकाहरुलाई केन्द्रित गरेर आफ्ना गतिविधीहरु सञ्चालन गर्ने वल्र्ड भिजन किन बारम्बार क्रिश्चियन धर्मसँग जोडेर बिवादमा तानिन्छ ? के साच्चै वल्र्ड भिजनले हिन्दुवादी नेपालीहरुलाई क्रिश्चियन बनाउँनै आएको हो त ? यदि क्रिश्चियननै बनाउन आएको हो भने किन वल्र्ड भिजनलाई खुलेआम गाउँगाउँमा कार्यक्रम सञ्चालन गर्ने किन अनुमति दिइन्छ ? के सिन्धुलीका गाउँगाउँमा पुगेर वल्र्ड भिजनले क्रिश्चियन धर्मालम्बीहरुको विस्तार गरिरहेको छ या मानवीय सेवा ? यी विषय अध्यन र खोजिकै विषय बनेको छ । 
वल्र्ड भिजनलाई लागेको आरोपमा कति सत्यता छ र बास्तविकतामा वल्र्ड भिजन केहो ? प्रस्तुत छ वल्र्ड भिजनको बारेमा विजयकिल्ला व्यूरोले तयार पारेको यो रिर्पोट । 
वल्र्ड भिजन इन्टरनेशनल नेपाल सिन्धुलीमा कहिले आयो ?
सन २०११ मा जिविस सिन्धुलीसँग अनुमती लिएर वल्र्ड भिजन इन्टरनेशनल नेपाल सिन्धुली जिल्ला प्रवेश गरेको हो । सुरुमा जिल्लाका ८ वटा गाविसहरुमा आफ्नो कार्यक्रम सञ्चालनका लागी योजना निर्माण गर्न अध्यन गरेरै २ वर्ष वितायो । सन २०११ देखी २०१३ सम्म कार्यक्रम सञ्चालन गर्ने गाविसहरुको विस्तृत अध्यन गर्यो । सन २०१३ मा बाल समृद्धिको लागी योजना तथा कार्यक्रम तर्जुमा गर्यो । जुन पन्चबर्षिय योजना हो । उस्को पन्च वर्षिय योजना सन २०१४ देखी सन २०१८ सम्म सञ्चालन हुनेछ । हाल ८ वटा गाविसहरुमा उक्त परीयोजना सञ्चालनमा रहेको छ ।
के के गरिरहेको छ वल्र्ड भिजनले ? 
वल्र्ड भिजन इन्टरनेशनल नेपालले वालवालिकाहरुलाई केन्द्रित गरेर आफ्ना गतिविधीहरु सञ्चालन गरिरहेको छ । विशेषत सिन्धुलीका ८ गाविसमा र पछिल्लो चरण थप गरिएका ८ गाविस सहित १६ वटा गाविसमा शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, बाल संरक्षण लगायतका कार्य गरिरहेको छ । भने वैशाख १२ गतेको बिनासकारी भुकम्प पछि राहत तथा उद्धारका कार्यमा पनि त्यतिकै क्रियाशील भएर आफ्ना गतिविधीहरु सञ्चालन गरिरहेको छ ।
को को हुन वल्र्ड भिजनसँग सहकार्यमा काम गर्ने संस्थाहरु ? 
जिल्लामा वल्र्ड भिजनले सिड्स नेपालसँगको सहकार्यमा शिक्षा परीयोजना सञ्चालन गरिरहेको छ भने ग्रामीण महिला चेतनाकेन्द्रसँगको सहकार्यमा मातृशिसु स्वास्थ्य, पोषण तथा सरसफाइको कार्यक्रम सञ्चालन गरिरहेको छ । सिड्स र भीडब्लुसीसी सिन्धुलीमा वल्र्ड भिजनसँगको सहकार्यमा काम गर्ने पुराना साझेदार संस्था हुन । पछिल्लो समय विशेष गरी भुकम्प पछि हाम्रो प्रयास नेपाल, सामाजिक विकासका लागी महिला जागरण, साविका र  हेन्डस सिन्धुलीसँगको सहकार्यमा पनि काम गरिरहेको छ ।  

कुन कुन गाविसहरुमा काम गरिरहेको छ वल्र्ड भिजनले ? 
सिन्धुलीका निर्वाचन क्षेत्र नं.१ का बाहुनतिल्पुङ्ग, लाम्पान्टार, तोश्रामखोला, पोखरी, खोलागाउँ, महादेवडाँडा, सोल्पा, खाङसाङ्ग गाविसमा सन २०११ देखी नै काम गर्दै आएको छ भने पछिल्लो समय बासेश्वर, भुवनेश्वरी, वितिजोर, डुडभञ्ज्याङ्ग लगायत गाविसमा पनि कार्यक्रम सञ्चालन गरिरहेको छ । 
भुकम्प पीडितका लागी के के गर्यो वल्ड भिजनले ? 
क्रिश्चियन बनाउन गाउँ पसेको आरोप लाग्ने गरेको वल्र्ड भिजन इन्टरनेशनल नेपालले हिन्दुहरुको बाहुल्यता रहेको सिन्धुलीमा भुकम्प पिडितहरुका लागी राहत तथा पुननिर्माणको काममा निक्कै ठुलो सहयोग गरेको छ । भुकम्प पीडितहरुका लागी झण्डै १७ करोड मुल्य बराबरको राहत सामाग्री वितरण गरेको छ भने । १५ सय घरपरिवारलाई १८ हजार मुल्य बराबरको जस्ता पाता वितरण गर्ने तयारी भईरहेको बताएको छ । 
वल्र्ड भिजन इन्टरनेशनल नेपालले १० लाख ७२ हजार २३४ बराबरको खाद्य सामाग्री, ४ करोड १४ लाख ८ हजार ४४२ मुल्य बराबर अखाद्यान्न सामाग्री, १ करोड २३ लाख १६ हजार ५०० मुल्य बराबर पारिवारीक टेन्ट, ७० लाख १७ हजार ६०० मुल्य बराबर जस्तापाता वितरण साथै कामका लागी नगद कार्यक्रम अन्र्तगत १० करोड ५९ लाख ३६ हजार र कामका लागी ज्यावल कार्यक्रम अन्र्तगत ३१ लाख ५ हजार ४३६ रुपैयाँ रकम खर्च गरिसकेको छ । 
के साच्चै वल्र्ड भिजनले क्रिश्चियन बनाएकै हो त ? 
वल्र्ड भिजन इन्टरनेशनल नेपाल सिन्धुलीमा प्रवेश गरेपछि कति क्रिश्चीयनहरुको बृद्धि भयो भन्ने तथ्याङक भने कसैसँग छैन । २०६८ सालको जनगणना अनुसार सिन्धुली जिल्लामा क्रिश्चियन धर्मालम्बीहरुको संख्या २ हजार ६ सय ८१ रहेको थियो । पछिल्लो समय कति बृद्धि भयो त्यो रेकर्ड कसैसँग छैन । तर वल्र्ड भिजनले कार्यक्रम सञ्चालन गरेका बाहुनतिल्पुङ्ग,खाङसाङ्ग, महादेवडाँडा, लाम्पान्टार, तोश्रामखोला, सुन्नामपोखरी, सोल्पाठाना गाविसहरुमा २०६८ सालको जनगणना अनुसार क्रिश्चियन धर्मालम्बीहरुको संख्या शुन्य नै रहेको थियो । पछिल्लो समय ति गाविसहरुमा अध्याधिक मात्रामा क्रिश्चियन धर्मालम्बीहरुको बृद्धि भएको छ । गाउँगाउँमा चर्चहरु निर्माण भएका छन । वल्र्ड भिजनको गतिविधीले नै क्रिश्चियन धर्मालम्बीहरुको बृद्धि भएको हो भन्ने प्रमाण नभए पनि वल्र्ड भिजनले कार्यक्रम सञ्चालन गरेका गाविसहरुमा क्रिश्चियन धर्मालम्बीहरुको बृद्धि भने हुँदै गएको छ ।  

क्रिश्चीयन धर्म मान्ने व्यक्तिले स्थापना गरेको संस्था भएकाले क्रिश्चियनको आरोप लाग्ने गरेको भएपनि बास्तविकता त्यस्तो नभएको वल्र्डभिजन इन्टरनेशनल नेपालका सिन्धुली जिल्ला कार्यक्रम संयोजक लोकेन्द्र श्रेष्ठ बताउँछन । वल्र्ड भिजनले स्थानीय स्तरका संघ संस्थासँग सहकार्य गरेर काम गर्ने भएकाले क्रिश्चियनको आरोप लगाउनुमा कुनै दम नभएको उनी बताउछन । 
करोडौं खर्च गरेर उपलब्धी के भएको छ ? 
वर्षेनी करोडौं रकम खर्च गर्ने वल्र्ड भिजनले अहिले सम्म के के उपलब्धी हासील गरेको छ भन्ने कुरा पनि खोजिकै विषय बनेको छ । उस्ले अहिले सम्म वाल अनुगमन समिति गठन, बालक्लव गठन, बाल सञ्जाल गठन, वालवालिकाहरुलाई क्षमता अभिवृद्धि तालिम, खेलकुद सामाग्री प्रदान, शैक्षिक सामाग्रीहरुको प्रदान लगायतका कार्यहरु गरेको छ । झण्डै ३ वर्ष कार्यक्रम सञ्चालनको लागी अध्यनमा विताएको वल्र्ड भिजनले गत आर्थिक वर्षमा ६५ लाख ९४ हजार २६५ रुपैयाँ खर्च गरेको छ 
बाल सबृद्धि सम्बन्धी पन्च वर्षिय योजना अनुसार सन २०१४ मा ८५ लाख, सन २०१५ मा १ करोड ७५ लाख, सन २०१६ मा २ करोड ६३ लाख, सन २०१७ मा २ करोड ६३ लाख र सन २०१८ मा २ करोड ६३ लाख रुपैयाँ खर्च गर्ने बताएको छ । नियमित कार्यक्रम अन्र्तगत यति ठुलो रकम खर्च गर्ने छ भने अन्य विभिन्न् खालमा परियोजनाहरु पनि वल्र्ड भिजनले सञ्चालन गरिरहेको छ । 
संस्था छनौटमा चार्तुयता 
गत वर्षनै कार्यक्रम सञ्चालनका लागी स्थानीय संस्था छनौटमा विवाद भएपछि तालाबन्दी खेपिसकेको वल्र्ड भिजन इन्टरनेशनल नेपालले यस वर्ष भने निक्कै ठुलो चार्तुयता अपनाएको छ । संस्था छनौटकै विवादमा सबल परीयोजनाको कार्यालयमा तालाबन्दी भइरहेको अवस्थामा वल्र्ड भिजन इन्टरनेशनल नेपालले स्थानीय पत्रिकामा ३ दिनको प्रस्ताव आब्हान सम्बन्धी सुचना प्रकाशन गरेर सुटुक्क संस्था छनौट गर्ने तयारी गरेको थियो । तर विवाद भएपछि पुन समय थप गयो । 

यसपटक भने वल्र्ड भिजनले आफ्ना कार्यक्रम सञ्चालन गर्न संस्था छनौट गर्दा काग्रेस, एमाले र एमाओवादीका संस्थाहरुलाई मिलाएर कार्यक्रम दिएको छ । ठुला पाटीका ठुला संस्थालाई ठुलै कार्यक्रम दिएको छ भने साना पाटीका संस्थालाई सानै खालका कार्यक्रम दिएको छ । जस्ले गर्दा यसवर्ष ताला लाग्न र बिवादमा पर्नबाट जोगिएको छ । जुन निक्कै चार्तुयतापूर्ण निर्णय हो । 
अन्त्यमा 
सिन्धुली जिल्लामा वर्षेनी करोडौं रकम खर्च गर्ने वल्र्ड भिजन इन्टरनेशनल नेपालको पारदर्शीता भने प्रभावकारी हुन सकेको अवस्था छैन । बर्षेनी करोडौं रकम खर्च गर्ने तर त्यसको प्रभावकारीता र पारदर्शीता नहुने अवस्थाको अन्त्य गर्न जरुरी देखिन्छ ।


, ,

0 comments

Write Down Your Responses