सिन्धुलीमा बाबुरामपक्षका कार्यकर्ता अन्यौलमा
बिजयकिल्ला ब्यूरो
सिन्धुली, १२ असोज । शनिबार अपरान्ह एकीकृत नेकपा(माओवादी)का बरिष्ठ उपाध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बावुराम भट्टराईले ४० वर्षे लामो पार्टीगत संलग्नता छाडे पछि उनको यो कदमको बारेमा देश र विदेशबाट समेत विभिन्न् खालका क्रिया र प्रतिक्रियाहरु आइरहेका छन ।
सिन्धुलीमा पनि डा.भट्टराईको पार्टी परित्याग सँगै विभिन्न् खालका क्रिया प्रतिक्रियाहरु स्वभाविक रुपमा आएका छन । कसैले फेसबुक मार्फत त कसैले चौक र चियापसलमा बसेर बावुरामको पार्टी परीत्यागको बारेमा आफ्नो बुझाइ र प्रतिक्रियाहरु व्यक्त गरिरहेका छन । प्रतिक्रिया दिने बहादुरहरुले बावुराम भट्टराईलाई यति धेरै गालि समेत गर्न पछि परेका छैनन् की मानौ बावुराम रन्जीत रे नै हुन । कसैले दुख व्यक्त गरेका छन कसैले आक्रोश व्यक्त गरेका छन । आखिर क्रिया र प्रतिक्रिया डा.भट्टराइको बर्हिगमनसँग नै जोडिएको छ । राजनैतिक र अराजनैतिक दुवै खालको प्रतिक्रियाहरुले बजार भरिएको छ ।
सिन्धुली जिल्ला डा.बावुराम भट्टराइको प्रभाव रहेको जिल्लाको रुपमा हेर्ने गरीन्छ कारण उनका विश्वास पात्र मानिएका गंगा श्रेष्ठको गृह जिल्ला हो । बिगतको अन्तरसंघर्षमा पनि सिन्धुलीमा प्रचण्ड र बावुराम पक्षको निक्कै बिवाद थियो । जिल्ला सम्मेलनबाट छुट्टा छुट्टै जिल्ला कमिटी समेत बनाइएको थियो । भने एकले अर्कोलाई बहिस्कार गर्ने गतिविधीहरु समेत भएका थिए ।
प्रचण्डपक्षको जिल्ला कमिटी पार्टीका गतिविधीका सक्रिय रहेको भएपनि बावुरामपक्षको भनिएको जिल्ला कमिटी खासै सक्रिय रुपमा गतिविधीमा देखिएको थिएन । जस्का कारण बलियो भनिएको बावुराम पक्षधरको संगठन विस्तारै कमजोर हुँदै गयो ।
यतिवेला सिन्धुलीमा बावुरामले पार्टी परित्याग गरेपछि प्रचण्डपक्षका कार्यकर्ताहरुले फेसबुक मार्फत नै कडा प्रतिक्रिया जनाइरहेका छन भने बावुराम पक्षका नेता तथा कार्यकर्ताहरु निराश र अन्यौलमा परेका छन । नयाँ शक्तिको बारेमा बावुरामका विश्वास पात्र मानिएका गंगा श्रेष्ठले आफ्नो विचार समुहमा पटक–पटक छलफल समेत चलाएको भएपनि बावुरामले एक्कासी पार्टी छाड्दा नेता तथा कार्यकर्ता अन्यौलमा परेका हुन ।
बावुराम पक्षका नेता दिर्घराज श्रेष्ठले अब कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल चलाइने बताए पनि उनमा खासै उत्साह थिएन । नयाँ शक्तिको चर्चा भएपनि एक्कासी पाटी परित्यागको समाचार सुन्दा उनी पनि अन्यौलमै परेका छन ।
त्यस्तै बावुराम पक्षकै रामबावु थापा(संग्राम)ले निराशा व्यक्त गर्दै अब के गर्ने भन्ने बारेमा केहि औपचारिक सल्लाह नभएको बताए । उनीहरु जस्तै बावुराम पक्षका भनिएका नेता तथा कार्यकर्ताहरु निक्कै निराश देखिएका छन । सिन्धुलीका बावुरामपक्षका भनिएका नेता तथा कार्यकर्ताहरु बावुरामले नयाँ पार्टी कस्तो बनाउने र कहिले बनाउने हुन भन्ने अन्यौलतामा देखिएका छन ।
उता बावुरामले नयाँ शक्ति निर्माण गरेमा बावुराम पक्षकै भनिएका पनि सवै त्यहाँ नजाने संभावना समेत देखिएको छ । बावुराम पक्षका एक नेताले बिजयकिल्ला सँग भने, ‘अहिले सम्म कम्युनिष्ट पार्टीमा लागेर यत्रो दुख गरियो अब बावुरामले बनाउँने पुँजीवादीहरुको पार्टीमा कसरी लाग्ने, मन मान्दैन । बरु राजनीतिबाट सन्यास लिइन्छ, कम्युनिष्ट पार्टी चाँही छाडिदैन ।’
बावुराम पक्षका जिल्ला उपाध्यक्ष भनिएका एकबहादुर रानामगर पहिले देखिनै असन्तुष्टी व्यक्त गर्दै आएका छन भने सचिब सुरत बहादुर स्याङ्गतान(वृहत) पनि उत्पादनमा लाग्ने भन्दै पार्टी गतिविधीबाट टाढीएका छन । अन्य जिल्ला नेता तथा कार्यकर्ताहरु पनि निराश हुँदै आ–आफ्नो पेशा र व्यवसायमा लागिसकेका छन । बावुरामले निर्माण गरेको नयाँ पार्टीमा क्रियाशिलता देखाउन सक्ने अवस्थामा छैनन् ।
0 comments
Write Down Your Responses