Powered by Blogger.
नाबालकको एउटा तस्बिर, जसले विश्‍वलार्इ रुवायो

एजेन्सी : टर्कीको समुद्री किनारमा एक तीन वर्षीय नाबालकको शव भेटिएपछि त्यसले विश्व जगतलार्इ नै स्तब्ध बनाएको छ ।
सिरियाबाट शरणार्थीकारुपमा युरोप पस्ने क्रममा बाबुआमाको हातबाट खस्न पुगेका ती नाबालकको शव समुद्री किनारमा घोप्टो परेको अवस्थामा भेटिएपछि युरोपमा शरणार्थी संकट भयावह देखिएको छ ।
ती शिशुको शव टर्कीको पर्यटकीय क्षेत्र नजिकैको समुद्री तटमा बालुवामा भेटिएको थियो । सिरियाली शिशु आफ्ना आमाबाबुका साथ डुंगा चढेर युरोप जाँदै गर्दा डुंगा डुबेको थियो । सिरियालीहरू आफ्नो ज्यानको जोखिम मोल्दै युरोपमा शरण लिन जाँदै थिए ।
तीन वर्षका ती नाबालकको नाम अयलान कुर्दी हो । अयलानले रातो रंगको टिसर्ट र नीलो कमिज पहिरेका थिए । सिरियाबाट डुंगा चढेर ग्रिस गइरहेका १२ जना सिरियाली नागरिकको समूहमा अयलानका आमाबाबु पनि थिए ।
समुद्री किनारमा मृत भेटिएका अयलानको तस्बिर विश्वभरका सञ्चारमाध्यममा छापिएको छ । विश्वभर यो तस्बिर सामाजिक सञ्जालमा  लाखौंपटक सेयर भएको छ ।
विश्लेषकहरूले मध्यपूर्व र अफ्रिकी महादेशमा चर्कँदो युद्धकाकारण देश छाडेर लाखौं मानिस युरोपतर्फ पलायन भइरहेका बताएका छन् ।
बेलायती अनलाइन ‘डेली मेल’ यो तस्बिर छाप्दै मानवतामाथि आक्रमण भएको उल्लेख गरेको छ । इटालीलीको पत्रिका ‘ला रिपब्लिका’ ले संसारलाई उदास बनाउने तस्बिर उल्लेख गरेको छ ।
बेलायती पत्रिका इन्डिपेन्डेन्टले ‘यस्ता भयावह अवस्था देख्दादेख्दै पनि बेलायत शरणार्थीप्रति बदलिन सक्दैन भने कसरी अवस्था बदलिन्छ’ भनेर लेखेको छ ।
यो वर्ष मात्र साढे तीन लाखभन्दा बढी मानिसले उत्तर अफ्रिकादेखि युरोपको खतरनाक यात्रा गरिसकेका छन् । कतिपयलाई मानव तस्करले पनि गैरकानुनी रूपमा युरोप छिराउने गरेका छन् । बुधबारमात्रै करिब तीन हजार यस्ता व्यक्तिलाई समुद्री तटबाट उद्धार गरिएको छ ।

अयलानका पिताले भने-छोरो मेरो हातबाट झर्‍यो

समुद्री तटमार ज्यान गुमाएका बालक अयलानका पिताले छोरो समुद्र तर्ने क्रममा आफ्नो हातबाट फुस्किन पुगेको बताएका छन् । पत्नी र दुर्इ छोरा गुमाएका उनले आफ्ना सबै सपना हेर्दा हेर्दै सकिएका बताए ।
 विश्वलार्इ नै स्तब्ध बनाउने गरी छोराको तस्बिर बाहिर आएपछि पिता अब्दुल्लाले तीन वर्षीय छोरो आयलान, चार वर्षीय अर्को छोरो घालेब र पत्नी रिहानालार्इ आफूले गुमाउन पुगेको बताएका छन् ।
अब्दुल्ला कुर्दीले टर्किस डोगान समाचार एजेन्सीलार्इ बिहीबार आफूहरु चढेको डुंगा डुब्दाको क्षणबारे बताएका थिए ।
'मैले आफ्नी पत्नीको हात पक्डेको थिएँ, त्यही बेला मेरो छोरो हातबाट खस्न पुग्यो', उनले भनेका छन्, 'त्यो बेला अँधेरी रात थियो । हरेकतर्फ गुहार लगाएको मानिसको पुकार र चिच्याहटमात्र सुनिन्थ्यो । हामी सानो डुंगामा अडिरहने कोशिसमा थियौं तर डुंगा भने समुद्रमा डुबिरहेको थियो ।'


,

0 comments

Write Down Your Responses