Powered by Blogger.
प्रचण्डलाई अाफ्नै नेताको धम्की : मलाई मन्त्री बनाऊ, नत्रभने…

काठमाडौं, २८ असाेज । बिहीबार विहानै एमाओवादी विद्यार्थी नेता जागृत रायमाझीले आफ्नो फेसबुक पेजमा लेखे- ‘७९ जनामा ७३ जना मन्त्री बन्ने दौडमा ! इतिहासको तक्मा र बायोडाटा बोक्दै लाजिम्पाटमा रिले धर्नामा ! आधा दर्जन माननीयहरुको तारो त गृह मन्त्रालयमा ! चानचुने कसले रोजोस् ? क्या बात ! मेरो गौरवशाली पार्टी !!”
रायमाझीको यो अभिव्यक्तिले एमाओवादीमा मन्त्री बन्नेहरुको दौड कस्तो छ भन्ने प्रष्ट संकेत गर्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेको एमाओवादीले सभामुख र उपप्रधानसहित ८ मन्त्रालय पाउने लगभग पक्का भएको छ ।


तर, यसका लागि दाबी गर्ने एमाओवादी नेताहरु यति धेरै भए कि पार्टी नेतृत्वलाई सम्हाल्न निकै मुस्किल भएको छ । नेताहरुका अनुसार एमाओवादी नेताहरुलाई अहिले मन्त्री नभए कहिले हुने भन्ने जस्तै परेको छ । सांसद सदस्य नभएकाले पनि प्रचण्डलाई धम्काउँदै मन्त्री पद आफूले पाउनुपर्ने माग गरेका छन् ।

त्यसैले संविधानमा सभासद भएका व्यक्ति मात्र मन्त्री हुन पाउने व्यवस्था भएपछि अरु गैरसभासदहरुले पनि मन्त्रीमा दाबी गरेका छन् ।

उनीहरुले ‘जसरी पनि मलाई मन्त्री बनाउन नत्र…’ भन्ने गरेको एमाओवादीका एक नेताले बताए ।

मन्त्रिपरिषद्बाट सभासद नियुक्ति गरेर होस् वा समानुपातिकलाई फिर्ता गरेर होस्, आफूलाई सभासद बनाएर मन्त्री पद दिनुपर्ने दाबी गर्नेहरु धेरै रहेको एमाओवादी स्रोतले बताएको छ ।

स्रोतका अनुसार यसरी मन्त्रीको दाबी गर्ने गैर सभासदमा पूर्व लडाकू कमाण्डर अग्रपंतिमा छन् । पूर्वलडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ र डेपुटी कमाण्डर चन्द्रप्रकाश खनालसमेत मन्त्रीका दाबेदार छन् ।

दुबैले दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ चुनाव लडेका थिए र नराम्ररी पराजित भए । तर, अहिले केपी ओली सरकारमा मन्त्री हुन दुबै लागिरपरेका छन् । उनीहरुले प्रचण्डलाई धम्कीकै शैलीका दबाव दिएका छन् ।

आफूले भनेको नभए प्रचण्डलाई भौतिक धम्की दिने कार्य एमाओवादीभित्र यसअघि पनि पूर्व लडाकू कमाण्डरहरुले गर्दै आएका थिए ।

विगतमा पूर्वलडाकू कालीबहादुर खाम विविधले प्रचण्डलाई आफूहरुले जनयुद्ध नलडेको भए तिमी मास्टरी गरेर बस्ने थियौ भन्दै धम्की दिएको एमाओवादी नेताहरुले अहिले फेरि स्मरण गर्न थालेका छन् ।

मन्त्रीको दौडमा नरहेका एकजना स्थायी समिति सदस्यले भने-‘सरकारमा गएर जनताको पक्षमा के काम गर्ने भन्नेबारे एउटै पनि छलफल भएको छैन, सबैले आफूलाई मन्त्री चाहियो मात्रै भनिरहेका छन्, यस्तै घीनलाग्दो संसदीय खेल खेल्ने हो भने अब चाँडै एमाओवादी पार्टी विघटन हुन्छ ।’

स्रोतका अनुसार सभासद नभएका व्यक्तिहरु मन्त्री हुन नपाउने भएकाले उनीहरुलाई पहिले सभासद बनाउने एमाओवादीको तयारी छ । मन्त्रिपरिषदबाट नियुक्त हुने २६ मा बाँकी दुई सिटमा दुबैलाई मनोनित गर्ने र मन्त्री बनाउने तयारी भइरहेको स्रोतले बताएको छ ।
एक नेताले भने, ‘अहिले नियुक्ति गर्न मिल्छ कि मिल्दैन, कानुनीरुपमा अध्ययन गरेर उहाँहरुलाई लैजाने तयारी छ ।’

एमाओवादीले मन्त्रीहरु पनि छान्न सकेको छैन । बुधबार बसेको स्थायी समिति बैठकमा उपप्रधान तथा गृहमन्त्रीलाई लिएर नेताहरुबीच पाखुरा सुर्कासुर्की भएको थियो ।

बुधबार मन्त्री पदको भागवण्डामा सहमति हुन नसकेपछि एमाओवादी स्थायी समितिको बैठक आज बिहीबार ११ बजे बैठक बोलाइएको छ ।
नेताहरुका अनुुसार महासचिव कृष्णबहादुर महरा र टोपबहादुर रायमाझीमध्ये एकले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सम्भावना छ । दुबै नेताले उपप्रधान तथा गृहमन्त्रीमा दाबी गरेका छन् ।

त्यसैगरी गृहमन्त्रीमा जनार्दन शर्मा प्रभाकर, शक्ति बस्नेत र नन्दकिशोर पुन पासाङको पनि दाबी छ । तर, मर्यादाक्रममा शर्मा, बस्नेत तल पर्ने भएकाले महरा र रायमाझीमध्ये एकको सम्भावना छ ।


,

0 comments

Write Down Your Responses