Powered by Blogger.
​प्रधानमन्त्री ओलीका पढ्नै पर्ने २० उखान टुक्का

काठमाण्डौ, २८ असाेज । कतिपय हाँस्यकलाकारहरु प्रधानमन्त्री केपी ओलीलाई गुरु सरह मान्छन् । प्रधानमन्त्री हुने बित्तिकै व्यंग्यमा व्यस्त रहने कलाकारहरु ओलीलाई बधाई दिन पुगेकाले पनि हाँस्यकलाकारमा भएको ओलीप्रतिको क्रेज स्पष्ट हुन्छ । ओली भाषणका क्रममा प्रतिपक्षीलाई तिखो व्यंग्य वाण प्रयोग गर्न माहिर नेता हुन् । उनका चर्चित व्यंग्य एवं उखान, टुक्का यस्ता छन् ।

१.बाँदरले हाँगा हल्लाउँदा रूख त हल्लिन्छ, तर यसपटक रूख (संविधानसभा) भाँच्ने सामथ्र्य राख्दैन । त्यहाँ एमाले बलियो शक्तिका रूपमा छ, यो संविधानसभाले संविधान जारी गर्छ ।
२.कपाल काट्न सिक्ने भए कमाराका टाउकाबाट सिक्नु भन्ने उखान छ । कपाल भुत्ल्याइए कमाराको भुत्ल्याइन्छ, रौँ उखेलिए कमाराको उखेलिन्छ । दुखे कमारालाई दुख्छ । टाटेपाटे भए कमारो हुन्छ । तर, कपाल काट्न जानेपछि ठूलाबडाको टाउकामा काट्नु भनिएको छ । मलाई लाग्छ– हामीलाई कमाराको टाउको बनाएर प्रयोग गर्न खोजिएको छ ।
३.सरकारमा बस्ने एमालेको धर्म होइन । ब्राह्मणले बिहान उठेर तुलसीमा पानी हाल्छ, गायत्री मन्त्र जप्छ, शुक्रबार–शुक्रबार मुसलमान मस्जिद जान्छ, आइतबार क्रिस्चियन चर्चमा जान्छ भनेजस्तो एमाले सत्तामा जान्छ भन्ने पनि हुन्छ ?
४.संविधानले नै राष्ट्रपतिलाई ‘रिजर्भ’ बस्ने रोल दिएको छ । त्यसैले उहाँ हाम्रो वा अरू कसैको पक्षमा लाग्नुभएको छैन । मनमा त उहाँको हामीलाई जस्तै लागेको हुँदो हो । तर, उहाँले जो गए पनि ‘सहमतिमै गर’ भन्नैपर्छ । ‘कुटाकुट गर, काटमार गर’ भनेर राष्ट्रपतिले भन्न मिल्दैन ।
५.बाह्रबुँदे समझदारीमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेबाहेक अर्काे के कुरा छ ? त्यसलाई संस्थागत गर्न संविधान निर्माण छाडेर क्रान्तिका लागि दाह्रा किट्ने बेला यो होइन, दाह्रा किट्दै हिँडे आफ्नै बंगारा खिइन्छ, बंगारा नखियाउनुस् ।

६.वनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । एमाले पीपलको बिरुवा हो, माओवादी वनमाराको झाडी । पीपल रूख बनेपछि वनमारा आफैं खुइलिएर जान्छ ।
७. माओवादीको नेतृत्वमा सरकार बनाउन साथ दियौं । सल्लाह गरेर काम गर्न सुझाव दियौं । नउफ्री, नढल, नकुद्, भन्दाभन्दै मानेन । आफ्नै खुट्टामा अल्झेर लड्यो ।
८. झापामै बस्ने जनता चुप छन्, कञ्चनपुरबाट जितेको प्रतिनिधि चुप लागेर बसेको छ । अन्तैबाट कोही आउँछ र ‘झापा त छाडदै छाड्दिनँ, कञ्चनपुर त छाड्दै छाड्दिनँ’ भन्छ ।
९.हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन ।
१०. खहरे आएका वेला ढुंगामुढा सबै बगाउँछ । खहरेको प्रभावमा परेर गरेको निर्णय गलत लाग्यो भने जनताले सच्याउँछन् । यो ‘जनकरेक्सन’ हो ।
११. बिहान सहमति हुन्छ, दिउँसो ‘सहमति भएकै छैन’ भन्नेलाई कुन डाक्टरले उपचार गर्ने ? के दबाई खुवाउने ? संविधान रोक्न बाहिर कता सिन्को, त्यान्द्रो भेटिन्छ त्यसलाई मिलाएर मोर्चा बनाइएको छ ।
१२. छोराको तिघ्रा बढेपनि बाबुलाई अभिभावक होइन भन्न मिल्दैन । माओवादीलाई यहाँसम्म ल्याएको एमालेले हो । उसलाई सुधार्न एमालेले गरेको आलोचनालाई विरोध नसम्झोस् ।
१३.गोरू नांगो देख्दा मलाई अहिलेसम्म लाज लागेको छैन ।
१४. संविधान बनाऔँ भन्दा केही साथीहरू उत्तेजनामा आउँछन्, उनीहरूलाई ज्वरो बढ्छ । उत्तेजित नहुनुस्, धेरै गाह्रो भए सिटामोल खानुस्, पानीपट्टी लगाउनुस् । तपाईंले आह्वान गर्नासाथ जनता लाठा लिएर सडकमा भिड्न र टाउको फुटाउन आउँछन् भन्ने विश्वास नगर्नुस् ।
१५. झुम्रा, कागज र अरू मटेरियल त पहिल्यै थिए, तर ती पहिल्यै थिए भनेर मैले पुतली बनाएँ भन्न मिल्दैन । जसले सबै मटेरियललाई मिलाएर पुतली बनाउन सिकायो, त्यो उसैले बनाएको भन्नुपर्छ ।
१६. दुई माना दूध उम्लेर एक पाथी जाने डेक्ची भरिएजस्तै हो माओवादी, दुई मानालाई एक पाथीको भ्रम परेको छ ।

१७. सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँसु झार्छे, एक अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन्, जब सिनेमा सकियो केको लभ पर्नु  हिरो एकातिर, हिरोइन अर्कै्तिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले माओवादीको सम्बन्ध त्यस्तै भयो ।
१८.झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भनिँदैन । झुसिले झुसिले हो, पुतली पुतली नै हो । हामी पुतली बनाएर छाड्छौँ । पुतली बनाएपछि पुतली भनौँला । अहिले झुसिले हो माओवादी, पुतली होइन ।
१९. हावा भरिएको बेलुनजस्तो आकार मात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुक्मांगद नामको छेस्कोले के घोचेको थियो फ्यास्स हावा खुस्कियो ।  माओवादी छातेच्याउ मात्रै हो, भदौको ठूलो थोप्ला पानीले नै ठेगान लगाउँछ ।
२०. एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ । त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्ला । त्यो पनि किनिदिन सकिएला । लौ अब त्यो हात्ती यो झोलामा हालिदे भनेर निहुँ खोज्यो भने के गर्ने ?


,

0 comments

Write Down Your Responses