Powered by Blogger.
कृषि मन्त्री गजुरेललाई सिन्धुलीमा भव्य स्वागत

 बुद्धकुमार आछामी 
सिन्धुली, ३० असोज । नेपाल सरकारका कृषि मन्त्री हरिबोल गजुरेललाई आज उनको गृह जिल्ला सिन्धुलीमा भव्य स्वागत तथा सम्मान गरिएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कृषि मन्त्रीको रुपमा जिम्मेवारी पाए पछि पहिलो पटक सिन्धुलीमाढी आइपुगेका मन्त्री गजुरेललाई उनको पार्टी एकीकृत माओवादी लगायत जिल्लाका विभिन्न् संघ संस्थाले भब्य रुपमा स्वागत तथा सम्मान गरेका हुन । 

दोश्रो संविधानसभाको निर्वाचनमा एकीकृत माओवादीको तर्फबाट विजयी हुने सभासदहरु मध्ये प्रथम बनेका गजुरेल केपी ओली नेतृत्वको सरकारमा पनि एकीकृत माओवादीको तर्फबाट मन्त्रीमण्डलमा सहभागी हुने पहिलो निर्विवाद ब्यक्तित्व बनेका छन । 
सिन्धुली जिल्लाको समग्र राजनैतिक आन्दोलनमा दोश्रो मन्त्री हुने सौभाग्य प्राप्त गरेका गजुरेल कम्युनिष्ट पार्टीहरुको तर्फबाट भने सिन्धुली जिल्लाको पहिलो मन्त्री बनेका छन । झण्डै ७० प्रतिशत कम्युनिष्ट जनमत रहेको सिन्धुली जिल्लाले पहिलो पटक कम्युनिष्ट मन्त्री पाएकोमा कम्युनिष्ट कार्यकर्ताहरु निक्कै हर्षित देखिएका छन भने मन्त्री गजुरेलबाट सिन्धुलीको राजनैतिक, आर्थिक, सामाजिक, सास्कृतिक विकासमा महत्वपूर्ण योगदान हुने गहकिलो अपेक्षा समेत राखेका छन । 

२०६२÷०६३ को आमुल परिवर्तन पछि बनेका सरकारमा पहिलो पटक सिन्धुली जिल्लाको तर्फबाट प्रतिनिधीत्व गर्ने अवसर पनि गजुरेलले प्राप्त गरेका छन । त्यसैले त्यो परिवर्तनलाई व्यवाहारिक हिसाबले सस्थागत गर्ने जिम्मेवारी पनि उनको काधमा आएको छ । 
अर्को पक्ष हरिबोल गजुरेल परिवर्तकारी आन्दोलनको इतिहास बोकेको एकीकृत माओवादीको केन्द्रिय कोषाध्यक्ष र पहुँचवाला नेताको रुपमा रहेका कारण सिन्धुलीका जनताले उनीबाट धेरै अपेक्षा गरेका छन । अपेक्षा अनुसार कत्तिको आफ्ना कामहरुलाई अगाडि लैजान सक्छन र सफल हुन सक्छन भन्ने कुरा भने हेर्न बाँकी नै रहेको छ । 
नेपाल सरकारको कृषि मन्त्री बनेर सनिबार आफु जन्मीएको, आफ्नो राजनैतिक जगको सुरुवात गरेको र संविधानसभा निर्वाचनमा विजय प्राप्त गरेको आफ्नै गृह जिल्ला आईपुगेका गजुरेललाई क–कस्ले सम्मान गरे विस्तृत रिर्पोट..........

स्थानीयहरुद्धारा स्वागत 

मन्त्री भएपछि सिन्धुली पहिलो पटक जिल्ला आएका गजुरेललाई उनले चुनाब जितेको सिन्धुली निर्वाचन क्षेत्र नं.३ को पुरानो झागाँझोली गाविसका स्थानीयहरुले विपी राजमार्ग स्थित मुलकोटमा स्वागत गरेका थिए । रतनचुरा गाविसको खनियाखर्कमा पनि स्थानीयहरुले मन्त्री गजुरेलको स्वागत गर्दै खुसीयाली व्यक्त गरेका थिए ।

CD र DSP द्धारा स्वागत 

काठमाण्डौंबाट वीपी राजमार्ग हुँदै मध्यान ११ बजे सिन्धुलीमाढी आइपुगेका मन्त्री गजुरेललाई सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र प्रहरी नायव उपरीक्षक अनुराग कुमार द्धिवेदीले प्रमुख जिल्ला अधिकारी निवास अगाडि सडकमै स्वागत गरेका थिए । 

शहीदहरुको शालिकमा माल्र्यापण 

मन्त्रीको जिम्मेवारी प्राप्त गरेपछि पहिलो पटक सिन्धुली आएका गजुरेलले अन्य कुनै औपचारिक कार्यक्रममा सहभागी हुनुपुर्व कनपा–१० भिमानमा रहेको शहीद ऋषिराज देवकोटा(आजाद), दुर्गा सुवेदी र दलबहादुर रजनमगरको शालिकमा माल्र्यापण गरेका छन । 

सिन्धुलीको कम्युनिष्ट आन्दोलनका पथ प्रदर्शक महान शहीदहरुको शालिकमा माल्र्यापण गर्दै भावुक मुद्रामा गजुरेलले शहीदहरुको सपना साकार पार्न निरन्तर मोर्चामा डटिरहने प्रतिबद्धता व्यक्त गरे । संविधानसभा मार्फत बनेको संविधानले शहीदहरुको सपना केहि हदसम्म सम्बोधन गर्न सकेको बताउँदै मन्त्री गजुरेलले देशलाई त्यहि संविधानको जगबाट अगाडि बढाएर शहीदका सपना साकार पार्नुपर्नेमा जोड दिए । 

कृषि विकास कार्यालयद्धारा स्वागत 

जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले मन्त्री गजुरेललाई आफ्नै कार्यालयमा स्वागत गरेको छ । मन्त्री गजुरेललाई स्वागत गर्दै बरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले जिल्लाको कृषि क्षेत्रको अवस्था र कृषि कार्यालयले सञ्चालन गरिरहेको गतिविधीको बारेमा जानकारी गराएका थिए । कृषि कार्यालयलाई मन्त्री गजुरेलले जिल्लाको कृषि क्षेत्रको विकासका लागी अल्पकालिन र दिर्घकालिन योजन निर्माण गरेर अगाडि बढ्न निर्देशन समेत दिएका छन । 

एमाओवादीद्धारा बधाई तथा सम्मान 

एकीकृत नेकपा(माओवादी) सिन्धुलीले विशेष कार्यक्रमको आयोजना गरेर नेपाल सरकारकार कृषि मन्त्री तथा एकीकृत माओवादीका केन्द्रिय कोषाध्यक्ष हरिबोल गजुरेललाई बधाई तथा सम्मान गरेको छ । 
सम्मान कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले देशको कृषि क्षेत्रको विकासको लागी पहिलो चरणमा आफु जग निर्माण गर्ने अभियानमा लाग्ने बताए । उनले कृषि क्षेत्रको विकासका लागी सरकारले मात्र होइन निजी क्षेत्रले पनि लगानी गर्ने वातावरणको सिर्जना गर्नुपर्ने र कृषिमा आधुनिकीकरण गरीनुपर्नेमा जोड दिए । 

गजुरेलले राजनैतिक विषयमा बोल्दै नब्बे प्रतिशत नेपाली जनताको चाहना काग्रेस, एमाले र एमाओवादीको सयुक्त रुपमा सरकार बनोस भन्ने हुँदाहुँदै पनि सरकार बनाउन नसक्नुले वैदेशीक शक्तिकेन्द्र सफल भएको बताए । तिन पाटी मिलेरै संविधान जारी गरिएकाले संविधानलाई स्थापित गर्न र चुनौतिहरुको सामाना गर्न तीनै पार्टीको सरकार बन्नु आवश्यक्ता रहेको भएपनि त्यो हुन नसकेको मन्त्री गजुरेलले बताए ।
एकीकृत माओवादी सिन्धुलीका उपाध्यक्ष विनोद विकको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत माओवादीका जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, नेपाली काग्रेसका नेता माढिक ढकाल, नेकपा(एमाले)का जिल्ला अध्यक्ष प्रदिप कट्वाल, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष द्धारीका काफ्ले लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । 

सीपी र बावुरामको चर्को आलोचना 

मन्त्री हरिबोल गजुरेलले एकीकृत माओवादीले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेता सिपी गजुरेल र बावुराम भट्टराईको चर्को आलोचना गरेका छन । 

बावुराम भट्टराईले संविधान निर्माणमा नेतृत्वसँग असाध्यै कचकच गरेको र असोज ३ मा संविधान आउनबाट रोक्न खोजेको आरोप लगाए । संविधान निर्माणमा बावुरामले पार्टी भित्रै चुनौती खडा गरीदिने काम गरेको मन्त्री गजुरेलको भनाई थियो । त्यस्तै सीपी गजुरेलको आलोचना गर्दै उनले सिन्धुलीको विकासका लागी सिपी गजुरेलले महत्वपूर्ण भुमीका निर्वाह गर्न सक्ने ठाउँमा पुगेको भएपनि जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा सिन्धुली विकासमा पछि परेको बताए । सीपी व्यवाहारबादी भन्दा पनि सिद्धान्तवादी नेता बनेका कारण सिन्धुली पछि परेको उनको टिप्पणी थियो । 

२५ प्रतिशत समय जिल्लालाई दिने प्रतिबद्धता 

मन्त्री गजुरेलले जग बलियो भए मात्र घर बलियो हुने कुरालाई स्मरण गर्दै आफ्नै जन्मथलो र चुनावी राजनीतीको कर्मथलो सिन्धुली जिल्लालाई २५ प्रतिशत समय दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन । गजुरेलले २५ प्रतिशत समय जिल्लाका लागी ५० प्रतिशत मन्त्रालयका लागी र २५ प्रतिशत समय पार्टी कामका लागी दिने बताएका छन । 

कृषि उपज बजारद्धारा स्वागत 

सिन्धुलीमाढीमा सञ्चालनमा रहेको कृषि उपज बजार सञ्चालक समितिले पनि एक कार्यक्रमको आयोजना गरी कृषि मन्त्री गजुरेललाई सम्मान तथा स्वागत गरेको छ । बजार सञ्चालक समितिका अध्यक्ष नरेश देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री गजुरेललाई सञ्चालक समितिले ढाका टोपी र खादा लगाएर सम्मान गरेको हो । सम्मान पछि कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले कृषि उपज बजारहरु जिल्लाका अन्य स्थानहरुमा पनि विस्तार गर्नु पर्ने जरुरी रहेको बताए । बजार सञ्चालक समितिले बजार सञ्चालन सम्बन्धी ऐन बनाएर व्यवस्थित गराउन मन्त्री गजुरेलसँग माग गरेको छ । 

सामुदायीक बन उपभोक्ता महासंघद्धारा स्वागत 

मन्त्री गजुरेललाई सामुदायीक बन उपभोक्ता महासंघ सिन्धुलीले पनि एक कार्यक्रमको आयोजना गरी आफ्नै कार्यलयमा सम्मान तथा स्वागत गरेको छ । सामुदायीक बन उपभोक्ता महासंघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले बन मन्त्रालय पनि माओवादी पार्टीकै भागमा पर्ने निश्चित भएकाले बन क्षेत्रको विकासका लागी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उद्योग वाणिज्य संघद्धारा स्वागत 

मन्त्री गजुरेललाई उद्योग वाणिज्य संघ सिन्धुलीले पनि एक समारोह वीच स्वागत गरेको छ । उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष विनेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा मन्त्री गजुरेलले सिन्धुलीको विकासका लागी निजी क्षेत्रको भुमीका पनि त्यतिकै महत्वपूर्ण हुने बताए । सरकारी र निजी क्षेत्रको संयोजन गरेर सिन्धुलीको समग्र विकासमा लाग्न जरुरी रहेको गजुरेलले बताए । 












, ,

0 comments

Write Down Your Responses