Powered by Blogger.
सहिदको आँगनमा नाङ्गा बाबुराम

शैलेन्द्र घिमिरे 


बाँस नाङ्गिएपछि सुन्दर हुन्छ । मान्छे नाङ्गिए कुरुप । कोही भन्छन् बाबुराम नाङ्गिए । कोही भन्छन्, बाबुराम जे थिए, देखिए । बाबुराम यसकारणले नाङ्गा छन् कि उनले महान सोभियतको बिसर्जनपछि तात्कालीन रुसी कम्युनिष्ट पार्टी नेता बोरिस एल्सिनले भनेकै भाषामा भने, “साम्यवादको मृत्यु भयो ।” एल्सिन रुसी कम्युनिष्ट पार्टीका बलशााली नेता थिए । तर उनकै नेतृत्वमा तात्कालीन रुसी संसद् डुमामाथि बमबारी भयो । क्रेनको सहयोगमा लेनिनको शालिक ढालियो । उनले बख्तरबन्द गाडीको हुडमा बसेर रातो झण्डा च्यात्दै रुसी अराजकतालाई साम्यवादको मृत्युउत्सवमा रमाउन आदेश दिए ।
अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले संसद्मा भाषण गर्दै एक पटक भनेका थिए, “सोभियत संघमा हाम्राहरुको काम रहरलाग्दो छ । तिनले छिट्टै वार्सा संगठनलाई विघटन गर्ने छन् । अमेरिकी नेतृत्व नेटो संगठन एक धु्रवीय विश्वको अभियान बन्ने छ ।” कम्युनिष्ट पार्टीमा साम्राज्यवादी र विस्तारवादी घुसपैठ कति बलियो हुन्छ भन्ने कुरा सोभियत संघको बिघटनले देखायो । स्वयं कम्युनिष्ट पार्टी महासचिवले क्रेमलिनको भव्य हलबाटै सोभियत संघ बिघटनको फैसला सुनाए ।
नेपालमा बाबुरामलाई एल्सिन र गोर्भाचोभको आरोप लगाउनु हतारो होला । तर कम्युनिष्ट पार्टीमा प्रतिक्रियावाद कुन रुप र पैमानामा खेल्छ भन्ने बुझेको दुनियाँमा बाबुरामले एमाओवादी सकिएको आरोप जसरी लगाए यो रुसको प्रयत्न भन्दा अर्को विधिको होइन भनेर आँकलन गर्न सकिने प्रसस्त ठाउँ छ । यद्यपि रुसमा जसरी नेटो घुसपैठले सफलता हासिल गरेको थियो, नेपालमा प्रतिक्रियावादले सोही पैमानाको सफलता पाउन सम्भव थिएन । किनकि नेपालमा अहिलेसम्मै सामन्तवादसँग भीषण युद्ध लडेको पुरानो पुस्ता नै बाँकी थियो र यो आज पनि संसार बदल्ने माक्सवादी विधिमा विस्वास राख्थ्यो ।
गोर्भाचोभको काँधमा रुसी आन्दोलन अडिएजसरी नेपालको आन्दोलन बाबुरामको काँधमा मात्र थिएन । यो त हजारौ सहिद परिवार, सयौँ बेपत्ताजनका साथै लाखाैँ आँसु, रगत र पसिना खर्चिएका कोमल काँधहरुमा हुर्किएको थियो ।
सोभियत संघ विघटनपछि विश्वलाई फरक सोभियत आदर्श सिकाइरहेको सोभियत आदर्शका जननीप्रति एक निर्लज्ज कटाक्ष गर्न पश्चिमका बेश्या बजारका नाङ्गा युवती एकाएक मास्को उतारियो र लेनिनको समाधीअगाडि खुट्टा च्यातेर फोटोसेसन गरी माक्र्सवादमाथि कथित् आधुनिकताको विजयोत्सव मनाइयो ।
आज बाबुरामले माक्र्सवादको जेलबाट स्वयं उन्मुक्तिको घोषणा गरेर भनेका छन् । माक्र्सवादले विकास अवरुद्ध भयो । त्यसकारण जनयुद्धका सहिद बेअर्थका भए र सहिद परिवारको आँगनमा नाङ्गो आधुनिकताको फोटोसेसन गर्नु पर्दछ ।
भियतनामी मुक्ति आन्दोलनका नेता होचिमिन्हले भनेका थिए, “हजार पटक हारेर एक पटक जित्नु माक्र्सवाद हो । यसले सबैको समानताको वकालत गर्दैन । यो कुनै ढिस्कोमा उभिएर देखिएको मात्र संसार भन्दैन । यो विज्ञान हो । विज्ञान गतिशील हुन्छ । यसले गतिशीलतालाई स्विकार्छ र आफूलाई परिस्थितिअनुसारको विजयको लागि ढाल्छ । सार फेरिदैन ।”
बाबुरामले सर्टिफीकेटको बल र टुइटरको हठमा यसको सार फेरिदिए र माक्र्सवादलाई विरुप बनाउने कोशिस गरे । माक्र्सवादले साहूलाई जरुर सोध्छ । तर निर्णयमा मजदुरको हितलाई प्राथमिकतामा राख्छ । बाबुरामले यो चापी काठमाडौंमा साहूभेला गरेर तिनकै हातमा थमाएर भने —तपाईंको ‘सूत्र’ नै नयाँ शक्तिको आधार हुनेछ ।
माक्र्सवाद नै चिनियाँ स्वाधिनताको मार्ग हो । यसको बलमा चीन स्वाधिन बनेको हो । चिनियाँ भूमिमा माक्र्सवादको माओ—प्रयोग हुँदैनथ्यो भने सायद आज विश्व मानचित्रमा चीन अर्कै हुने थियो । तर यहाँ बाबुराम राम्रा भन्दाभन्दै हाम्रा हुन सकेनन् । उनले भने, “कोदाली बोकेर कोदारी राजमार्ग गएको राष्ट्रवादले काम गर्दैन ।”
यहीनेर असाध्यै पढ्ने भनिएका बाबुरामले लु सुनको पहाड खन्ने मूर्ख बूढोको कथा बिर्सिए । पटकपटक भट्टाइएको हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुने सूत्रलाई सर्लक्क खाइदिए । देश भएर देश नहुनुको पीडा सबैभन्दा धेरै भोगेका प्यालेस्टाइन नेता यासेर आराफातले भनेका थिए, “देश नक्सा पनि हो र मुटु पनि हो । हामी  हाम्रो मातृभूमिको अपमानविरुद्ध एकै पटक हजार मृत्यु मरौँला । लाख भोकहरु सहौँला तर हामी इजरायली दादागिरी कुनै सर्तमा स्विकार्दैनौँ ।” तर, बाबुराम आराफातका गुरु बने र भने “खोक्रो राष्ट्रवादको कुनै अर्थ छैन ।”
किन भने ? त्यो उनको कुरा हो । तर अमरसिंह र भक्ति थापाका गालामा बज्रिएको यो बाबुरामको थप्पड इतिहासले सहने छैन । राष्ट्रियता कति सुन्दर हुन्छ भन्ने कुरा बाबुरामले ह्युगो चाबेजबाट सिकून् । चाबेजले भेनेजुयलालाई लगाएको अमेरिकी व्यापार प्रतिबन्दको कारण कटाक्ष गर्दै तात्कालीन अमेरिकी राष्ट्रपतिलाई संयुक्त राष्ट्रसंघको महासभामा नै भनेका थिए, “यहाँ भर्खरै राक्षस आएको थियो ।”
सम्पूर्ण नेपाली जनमनले हामीमाथिको अत्याचारीलाई राक्षस देखिरहँदा बाबुराम के नाताले तिनलाई देउता देखे ? के यो बाबुरामको नाङ्गोपनको बतुयाइ हो ?
समृद्धि विचारबिनाको तासको जोक्कर होइन । समृद्धिका लागि योजना चाहिन्छ । आविस्कारका जननीहरु दरवार होइनन् । आविस्कार जनताद्वारा हुने कुरा हो र मजदुर नै आविस्कारका जननी हुन् । बाबुराम कहिल्यै मजदुरमैत्री भएनन् । बाबुरामले मजदुरको बस्तीमा डोजर चलाएको टुलुटुलु देखेका आँखाले उनले नयाँ आविस्कारको भूमि तयार गर्लान् भन्ठान्नु भ्रम मात्र हो । उनले टुकीको आलोचना गरे र भने, “विद्युतीय गाडी अबको राष्ट्रवाद हो ।”

यहीनेर उनले आफू प्रधानमन्त्री भएको कुरा बिर्सिए । उनले त्यतिबेला नै यसो भनेर उनको प्रधानमन्त्रीत्व कालमा यस्ता योजना ल्याउन किन सकेनन् ? किनकि उनलाई त्यतिवबला कुर्सी जोगाउनु थियो र प्रभुको आशीर्वाद थाप्नु थियो । सायद उनलाई उनको मालिकले भनेको हुँदो हो —अहँ यसो गर्न पाइँदैन । के उनले प्रभुसँगको सम्बन्धविच्छेद गरे ? अहिले पनि उनको छेउमा पर्ने बित्तिकै आउने गन्धले भन्छ, उनी प्रत्येक रात प्रभुसँगै हुन्छन् । प्रभुसँगको सम्बन्धविच्छेदबिना राष्ट्रिय स्वाधिन अर्थतन्त्र बनाउन सम्भव  छैन ।
यो टुकी र साइकलहुँदै विद्युतीय बुलेट ट्रेन र विद्युतीय यन्त्रको सुलभतातिर अगाडि बढ्छ । आजको दिनको समतामुलक समृद्धिको आर्थिक आधार माक्र्सवाद मात्रै हो भन्ने कुरा तिनका दिमागबाट गुम भएको छ भने भर्खरै ग्रीसमा भएको चुनावमा वामपन्थीहरुले अगाडि सारेका योजना नै जनताबाट अत्यधिक मतले अनुमोदित भएको खवर सायद तिनका सहयोगीले तिनलाई जानकारी दिन बिर्सेका छैनन् होला ।
त्यसो त उच्चाइँ हासिल गर्ने रहर कसलाई हुँदैन र ? बाबुरामलाई पनि त्यो उचाइँ छुने महत्वकाँक्षा हुनु स्वाभाविक हो । उनले जे उचाइँ हासिल गरेका थिए, त्यो बाबुरामको एकल पाखुरीको उपज हो भन्ने ठानेका हुन् भने त्यो गलत हो ।
उनलाई बनाउन १७ हजार नेपालीले ज्यान गुमाएका हुन् । आँसु र रगतको कुरा गर्दा बाबुरामलाई झर्को लाग्ला । क्रान्तिको फिलिङ्गोबाट उछिट्टएपछि त्यो फिलिङ्गो कोइला हुनुको विकल्प हुँदैन । बाबुराममा अझै पनि केही ताप र राप छ भने प्रचण्ड भूमिमा उनले बनाएको उचाइँलाई अपमानित नगरुन् । विश्वमा कहीँ पनि क्रान्तिकारीको विनासका लागि क्रान्तिकारी कित्ताबाट निकालिएका खलपात्र क्रान्ति रहँदासम्म हाइहाइ हुने र क्रान्ति सकिँदाका दिन चर्चोको खोस्टो पनि साम्राज्यवाद र विस्तारवादले सक्ने कटुसत्य बाबुरामले नबुझ्नु उनी आफैले बनाउन खोजेको बाबुरामप्रतिको भद्दा जोक मात्रै हो ।
बाबुरामको यो उक्साहट र प्रयोजनले नेपालमा अझै क्रान्ति बाँकी रहेको र त्यो झन गुणात्मक हिसाबले अगाडि बढ्दै गरेको कुराको समेत संकेत गरेको छ ।

उनले अन्तरसंघर्षका अप्ठेरामा भन्ने गरेको एक्काईसौँ सताव्दीको जनवाद एमाओवादी परित्यागसँगै उनको दराजबाट फालिएको भए बाबुरामले निश्चित अवधिपछि सक्रिय राजनीतिबाट अभिभावकीय राजनीतिमा सिफ्टको कुरा गर्दथे । यसको सान्दर्भिकता एमाओवादी छोडेसँगै सकियो कि बाँकी छ ? बाँकी छ भने बाबुराम आफै पनि प्रवचन मात्र दिने चरण वा निहुँ खोज्ने चरणमा पुगिसकेको कुुरामा हेक्का राख्दा पपुलिष्टको आरोपबाट थोरै बँच्लान् ।
हुन त यो प्रचण्डलाई तह लगाउन बढी उचाल्ने गरिएको कुरा हो भन्नेबारे कुनै शंका छैन । यदि उनले साँच्चिकै यो कुरालाई अब गलियो भन्ने आसयमा भनेका हुन् भने नेपाली जनतालाई विविध दलका बीचमा लिंग पहिचान गर्न सक्नेले बनाएको लिंग भएको दलको भारी नबोकाऊन् ।


,

0 comments

Write Down Your Responses