Powered by Blogger.
नातेदारलाई मन्त्रीको पीए नबनाउने एमाओवादीको आचारसंहिता

मन्त्रीले घुस नखाने, अरुलाई पनि खान नदिने

काठमाडौं,१० कातिक । सरकारमा सहभागी एमाओवादीका मन्त्रीहरुले आफ्ना नातेदारलाई स्वकीय र निजी सचिवमा भर्ती गर्न नपाउने भएका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार पत्रकार सम्मेलन गरी २३ बुँदे आचार संहिता जारी गर्दै एमाओवादीले नातेदारलाई मन्त्रीको पीए बनाउन नपाउने व्यवस्था गरेको हो ।
यसअघि सरकारमा सामेल हुने एमाओवादी मन्त्रीहरुले आफ्ना छोरा, भतिजा एवं ज्वाइँ र सालाहरुलाई स्वकीय सचिव एवं निजी सचिव भर्ती गर्ने गरेका थिए ।
एमाओवादी उपाध्यक्ष एवं सरकार सञ्चालन समन्वय समितिका संयोजक नारायणकाजी श्रेष्ठद्वारा हस्ताक्षरित आचार संहिताको ९ नम्बर बुँदामा भनिएको छ-‘मन्त्रीहरुले स्वकीय र निजी सचिवमा आफ्ना नातेदारलाई नियुक्त नगर्ने ।’
एमाओवादीको यस्तो निर्णयका कारण आफ्ना नातेदारहरु स्वकीय सचिव बनाउने तयारीमा रहेका मन्त्रीहरुलाई अप्ठ्यारो परेको छ । केही मन्त्रीका ज्वाइँले आफूलाई मन्त्रीको स्वकीय सचिवका रुपमा परिचय गराउन थालिसकेका अवस्थामा यस्तो कडा आचार संहिता आएको हो ।
उपाध्यक्ष श्रेष्ठले जारी गरेको आचार संहिताको १० नम्बर बुँदामा मन्त्रीका परिवारका सदस्यले मन्त्रालयमा आएर वा नआई सरकारी काममा हस्तक्षेप गर्न नपाउने व्यवस्था गरिएको छ ।
त्यसैगरी मन्त्रीले नै भाग लिनुपर्ने आवश्यक काममा बाहेक एमाओवादी मन्त्रीले विदेश भ्रमण नगर्ने, कार्यालय खुल्ने समयमा मन्त्रालयमै हाजिर भई काम गर्नुपर्ने तथा मन्त्री बनेको र छाडेको १० दिनभित्र सम्पति विवरण सार्वजनिक गर्नुपर्ने आचार संहितामा उल्लेख छ ।
घुसखोरी र भ्रष्टाचारविरुद्ध निर्भिकतापूर्वक उभिने, विदेशी वा अरु कसैबाट बहुमूल्य वा अपारदर्शी उपहार स्वीकार नगर्ने, सरकारी गाडी वा सुविधा निजी कामका लागि प्रयोग नगर्ने लगायतका प्रावधान मन्त्रीहरुको आचार संहितामा राखिएको छ ।
त्यस्तै सरकारी काममा आर्थिक मितव्ययिताको नीति अपनाइने, मन्त्रालयलाई पार्टी काम गर्ने थलो नबनाउने, राष्ट्र र जनताको हित एवं सेवामा केन्दि्रत रहने तथा पार्टीगत एवं राजनीतिक पूर्वाग्रहबाट माथि उठेर मन्त्रालयको कार्य सञ्चालन गर्नुपर्ने आचार संहितामा उल्लेख छ ।
कर्मचारीको सरुवा बढुवा आदि कामहरु विधिसम्मत ढंगले गर्ने, अनियमित काम नगर्ने र हुन नदिनेमा मन्त्रीहरुले भूमिका खेल्नुपर्ने आचार संहितामा उल्लेख छ ।




,

0 comments

Write Down Your Responses