Powered by Blogger.
सिन्धुलीमा एक महिनामा कति आयो इन्धन ?




सिन्धुली, २ मंसीर । छिमेकी भारतको नाकाबन्दीले हैरानी खेपिरहेका सिन्धुलीबासीले इन्धनको प्रयोगमा भने खासै दुख भोग्नु परेको छैन । संविधान घोषणा हुनुपुर्व सिन्धुलीमा इन्धनको समस्या नभएपनि नाकाबन्दी पछि भने इन्धन आयातमा समस्या सिर्जना भएको थियो । 
जिल्ला प्रशासन कार्यालय सिन्धुलीको रेकर्ड अनुसार असोज १७ गते देखी कात्तिक २२ गते सम्म १ लाख ५९ हजार लिटर डिजल र २१ हजार लिटर पेट्रोल सिन्धुली भित्रिएको छ । प्रशासन कार्यालयले डिजल, पेट्रोल, मट्टितेल र ग्यास ल्याउनका लागी नेपाल आयल निगम इन्धन डिपो अमलेखगन्ज बारा र बिराटनगरलाई १३ पटक भन्दा बढी सिफारीस गरेको छ । सिफारीस गरिएको मध्ये ग्यास र मट्टितेल बाहेक डिजल र पेट्रोल पुरै आएको छ । 
प्रशासन कार्यालयको सिफारीसमा भित्रिएको डिजल र पेट्रोल सुनिता आयल सेन्टर, ममता आयल सेन्टर भिमान, बाबा जनरल स्टोर्स, कमला आयल, शिद्धबाबा आयल स्टोर्स र खुर्कोटको साइकृपा आयल स्टोर्सले जिल्ला प्रहरी कार्यालयको कुपन र निर्देशन अनुसार वितरण गर्ने गरेका छन ।
इन्धन वितरणकाे सल्लाह गर्दै डिएसपी अनुराग कुमार दिवेदी र बाबा जनरल स्टाेर्सका रामहरी थापा । फाेटाे बुदकुमार अाछामी 
२१ हजार लिटर पेट्रोल वितरण गर्दा १ महिनाको वीचमा सिन्धुलीका सर्वसाधारणले १६ लिटर पेट्रोल प्राप्त गरेका छन । दशै अगाडि २ पटक, तिहार अगाडि १ पटक र छठ अगाडि १ पटक गरी जम्मा ४ पटक सर्वसाधारणले लाइनमा बसेर जम्मा १ हजार ७ रुपैयाँको पेट्रोल लिएका थिए । 
सर्वदलीय सर्वपक्षिय निर्णय अनुसार डिजल र पेट्रोललाई व्यवस्थित गरेर वितरण गर्ने जिम्मा जिल्ला प्रहरी कार्यालयले प्राप्त गरेको थियो । निर्णय अनुसार १२ वटा यात्रु बाहक बसलाई दैनीक ११० लिटर र १२ वटा टाटासुमोलाई दैनिक ३२ लिटरका दरले डिजेल वितरण गरिएको छ । 
पेट्राेल लिन लाइनमा बसेका सवारी साधन र सर्वसाधारण । 


अस्पताल, एम्बुलेन्स, सरकारी कार्यालयहरु, वैकं तथा वित्तिय संस्थाहरु, खाद्य पर्दाथ ढुवानी लगायतका कामका लागी सम्बन्धीत संस्था तथा कार्यालयको सिफारीसमा डिजल तथा पेट्रोलको कुपन वितरण गर्ने गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक राजेन्द्र थापाले बताए । अहिले सम्म आएको इन्धन मध्ये पेट्रोल वितरण गरि सकिएको र डिजेल पनि अब केहि दिनका लागी मात्र पुग्ने उनले बताए । 
सिन्धुलीमा इन्धन प्रसस्त मात्रामा आएको कुरालाई कसैले नकार्न मिल्दैन । तर इन्धन वितरणको सवालमा देखिएका कमजोरीहरु भने आगामी दिनमा सुधार गर्नै पर्दछ । व्यवस्थित तवरबाट वितरणको जिम्मा पाएको प्रहरीले नै वितरणमा मनपरी गरेको गुनासाहरु बारम्बार आउने गरेका छन । सिन्धुलीमा पहुँचवालाहरुले कहिल्यै इन्धन समस्याको अनुभुति गर्नु नपरेको भएपनि सामान्य सर्वसाधारणहरुले भने ब्ल्याकमा इन्धन खरिद गर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणहरुको गुनासो छ । 
एकातिर सर्वसाधारणको हितलाई ध्यानमा राखेर राजनैतिक तथा प्रशासनिक पहुँचको प्रयोग गरेर प्रसस्त मात्रामा इन्धन आएको छ भने अर्कातिर इन्धनको कालाबजारी पनि सिन्धुलीमा जारी नै छ । प्रहरी कार्यालयबाटै कुपको दुरुपयोग भएका तथ्यहरु पनि बाहिर आउने गरेका छन भने सरकारी कार्यालयहरुले पनि कुपनको दुरुपयोग गरेकै छन । केहि सरकारी कार्यालयका हाकिमहरुले त कार्यालयको नाममा कुपन लिने र कोसेलीको रुपमा बाहिर पठाउने समेत गरेका छन ।  
इन्धन वितरण बारे प्रशासनकाे पत्र । 
आगामी दिनमा जिम्मेवार निकायले सिन्धुलीबासीका लागी आएको इन्धनलाई व्यवस्थित ढंगले वितरण गर्न अझ बढी सतर्कता देखाउनु पर्ने आवश्यक्ता देखिन्छ भने प्रहरी तथा पहुँचवालाहरुबाट भएको कुपनको दुरुपयोगलाई रोक्नु पर्ने चुनौति पनि जिम्मेवार निकायलाई रहेको छ । 


,

0 comments

Write Down Your Responses