Powered by Blogger.
डा.बराल र अध्यक्ष खड्काले मनपरी गरेको आरोप

मोर्चाबन्दी गरेरै विरोधमा उत्रीए डाक्टर र कर्मचारीहरु 

विजयकिल्ला ब्युरो 
सिन्धुली, २५ मंसीर । सिन्धुली अस्पतालका प्रमुख डा.फडिन्द्र प्रसाद बराल र अस्पताल विकास समितिका अध्यक्ष विनोद खड्काले अस्पताल भित्र मनपरी गरेको अस्पताल भित्रकै आधा दर्जन बढी डाक्टरहरु, झण्डै चार दर्जन स्वास्थ्यकर्मीहरु र सरोकारवाला राजनैतिक पार्टीका नेता तथा स्थानीयहरुले आरोप लगाएका छन । 
काजमा सरुवा भई आएका डाक्टर बराल र नेकपा(एमाले)को तर्फबाट अस्पताल विकास समितिको अध्यक्ष पदमा नियुक्त भएका खड्काले मनपरी गर्दै आएको त्यहाँ भित्रकै कर्मचारीहरुले बारम्बार आरोप लगाउने गरेका छन । 
जिल्ला जनस्वास्थ्य कार्यालय भित्रका विभिन्न् कर्मचारी संघ, संगठन तथा यूनियनहरुले अस्पतालका प्रमुख तथा जनस्वास्थ्यका समेत प्रमुख रहेका डा.बरालको काज फिर्ताको माग गर्दै अघिल्लो महिना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिबलाई नै ज्ञापन पत्र समेत बुझाएका थिए । बरालको आर्थिक तथा प्रशासनीक कार्य प्रति असन्तुष्टी व्यक्त गर्दै मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाइएको भएपनि मन्त्रालयले समस्यालाई गम्भीर रुपमा नलिएको र अस्पताल विकास समितिले उल्टै जिल्ला अस्पतालमै राख्ने निर्णय गरेर मन्त्रालयमा फाइल पु¥याएको श्रोतले बतायो । 
अस्पताल भित्रकै ७ जना डाक्टर ३ जना स्वाथ्यकर्मी र जिल्ला जनस्वास्थ्य कार्यालयका ४२ जना कर्मचारीले सयुक्त रुपमा हस्ताक्षर गरेर बुझाएको ज्ञापनपत्रमा अधिकाश बुँदा डा.फडिन्द्रको नकारात्मक पक्षहरु उल्लेख गरिएको छ । उनीहरुले बुझाएको ज्ञापनपत्रमा बराललाई कार्यालय प्रमुख बनाएर आर्थिक अधिकार समेत दिनु नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २१ को उपदफा(४) विपरीत भएकाले सच्याउन आग्रह गरीएको छ । त्यस्तै ज्ञापनपत्रमा डा.बरालले व्यापक आर्थिक चलखेल गरेको, एकै दिन धेरै कार्यक्रमको भक्ता बुझेको, अस्पतालमा सेवाग्राहीलाई सेवा प्रदान नगरेको लगायतका सात बुँदा उल्लेख गर्दै कानुनी र व्यवाहारीक दुवै हिसाबले कार्यालय प्रमुखको जिम्मेवारीका लागी असफल भएको लेखिएको छ । 
अस्पताल भित्रकै डाक्टर र स्वास्थ्यकर्मीहरु डा.बरालको विरुद्ध खुलेआम रुपमा लागिरहदा उता अस्पताल विकास समिति र सर्वपक्षिय राजनैतिक दलहरुको गत साता बसेको वैठकले डा.फडिन्द्र बराललाई जिल्ला अस्पतालमै राख्नका लागी माग गर्दै स्वास्थ्यमन्त्री समक्ष लिखित निर्णय गरेर पठाएको बुझिएको छ । 
निर्णय एकलौटी रुपमा भएको भन्दै नेपाली काग्रेस र एकीकृत माओवादीले भने विरोध जनाएका छन । सर्वपक्षिय वैठकमा सहभागी एकीकृत माओवादीका ज्वाला प्रसाद न्यौपानेले आफुहरुले त्यस्तो निर्णय नगरेको बताए । उनले भने, ‘डाक्टरको थमौती हुनुपर्छ भन्ने कुरामा हामी सहमत छैनौं, निर्णयमा हस्ताक्षर गरेका पनि छैनौं ।’ जिल्ला अस्पताल र सिङ्गो जिल्लाको स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्नका लागी सवैपक्ष गम्भीर भएर लाग्नु जरुरी रहेको न्यौपानेले बताए । न्यौपानेले डाक्टरको तुरुन्त काज फिर्ता हुनुपर्ने र अस्पताल विकास समितिका अध्यक्ष खड्काले तत्काल राजीनामा दिनुपर्ने बताए । 
त्यस्तै नेपाली काग्रेसका जिल्ला सचिब उपेन्द्र पोखरेलले अस्पताल झन भद्रगोल बन्दै गएको बताए । उनले भने, ‘लिखीत रुपमा गरिएको माइन्यूटमा हाम्रो हस्ताक्षर छैन, हामी त्यसमा सहमत छैनौं ।’ डाक्टर र अध्यक्षले मनपरी गर्दै गएका कारण जिल्ला अस्पताल झन भद्रगोल बन्दै गएको उनले बताए ।
उता अस्पतालका अध्यक्ष बिनोद खड्काले पनि आर्थिक हिमामिना गरेको आरोप लागेको छ । गत आर्थिक वर्षको अस्पतालको स्तरउन्नतीको लागी आएको रकम मध्ये झण्डै ३ लाख रकम खड्काले दुरुपयोग गरेको श्रोतले बतायो । खड्कालाई यस विषयमा जिज्ञासा राख्दा आफुले केहि रकम लिएको भएपनि त्यति ठुलो रकम लिएको कुरा सरासर झुठ भएको बताए । 
अध्यक्ष खड्काले भने, ‘जिल्लाको स्वास्थ्य क्षेत्रमा ठुलो भद्रगोल र वेतिथी छ , त्यसलाई नियन्त्रण गर्नका लागी केहि प्रयास सुरु भएकाले कामचोर र भ्रष्ट केहि व्यक्तिहरुले अनावश्यक आरोप लगाउने गरेका छन । त्यसमा कुनै सत्यता छैन ।’ 
अस्पतालका प्रमुख डा.फडिन्द्र प्रसाद बरालसँग यस विषयमा बुझ्न पटक–पटक समय माग्दा र फोन सम्पर्क गर्दा समेत सम्पर्कमा आउन चाहेनन् । 
जिल्ला जन स्वास्थ्य कार्यालय, जिल्ला अस्पतालको औषधी लगायतका सामाग्रीहरु खरीदको प्रक्रिया असाध्यै अपारदर्शी र भद्रगोल हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयको खरीदको बारेमा त अख्तीयार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासमा उजुरी समेत परेको थियो । 
भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा बुधबार सिन्धुलीमाढीमा भएको अन्तरक्रिया कार्यक्रममा उक्त उजुरी माथि आवश्यक अनुसन्धान भइरहेको जानकारी समेत गराइएको थियो ।  



,

0 comments

Write Down Your Responses