सिन्धुलीमा सुरु भयो संविधानको प्रचार अभियान
सासंद भन्छन, ‘संविधान विश्वकै उत्कृष्ट बनेको छ ।’
ठुलोकान्छो सार्की
सिन्धुली, २ पौष । नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझँमा भन्ने मुल नाराका साथ सरकारले सुरु गरेको राष्ट्रव्यापी प्रचार अभियान सिन्धुलीमा पनि सुरु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रचार गरिएका कृषि मन्त्री हरिबोल गजुरेल स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेपछि प्रमुख अतिथीको रुपमा कार्यक्रममा सहभागी बनेका संविधानका हस्ताक्षरकर्ता सासंद द्धय मोहन प्रसाद बराल र गणेश कुमार पहाडीले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान बनेको दाबी गरे ।
संविधानका अन्तरबस्तुहरुको बारेमा जनतालाई बुझाउनका लागी सुरु गरिएको अभियानको क्रममा जिल्ला विकास समिति सिन्धुलीले माढीबजार स्थित सभागृह हलमा बिहिबार कार्यक्रमको आयोजना गरेको थियो । स्थानीय विकास अधिकारी रमेश हुमेगाईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा क्षेत्र नं.२ का सांसद मोहन प्रसाद बरालले नेपालको संविधानमा सवै जातजाती, भाषा, धर्म, क्षेत्रका समुदायको अधिकार समेटिएकाले उत्कृष्ट संविधान भएको बताए ।
बरालले भने, ‘ संविधानले सवैको अधिकारलाई सुरक्षित गरेको छ, कोहि आत्तिनु पर्ने अवस्था छैन ।’ संविधानले सवैलाई सवैलाई दिएकाले अधिकार दिने संविधानको रक्षा र कार्यान्वयनमा सवैपक्ष उक्तिकै क्रियाशिल बनेर लाग्नु पर्नेमा बरालको जोड थियो । संविधान अपरिर्तनीय विषय नभएकाले कसैको अधिकार छुटेको भएमा थप गर्न सकिने समेत बताए ।
त्यस्तै कार्यक्रमका अर्का प्रमुख अतिथी गणेशकुमार पहाडीले संविधान निर्माणको क्रममा अपनाइएको विधी र प्रक्रियाका हिसाबले नेपालको संविधान उच्च लोकतान्त्रीक रहेको दावी गरे ।
सांसद पहाडीले भने, ‘संविधानमा ८६ प्रतिशत सभासदको सर्मथन छ, विश्वका कुनै पनि देशको संविधानमा यति धेरै जनप्रतिनिधीहरुको सर्मथनमा बनेको छैन, नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान बनेको छ ।’
अहिलेको संविधान अन्तरबस्तुका हिसाबले अग्रगामी, चरित्रका हिसाबले विश्वकै उदार र दर्शनका हिसाबले समाजवाद उन्मुख संविधान बनेको समेत बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेपाली काग्रेसका माणिक ढकाल, नेकपा(एमाले)का प्रदिप कट्वाल, एकीकृत माओवादीका ज्वालाप्रसाद न्यौपाने, राप्रपाका अशोकराज राजभण्डारी, नेपाल पत्रकार महासंघ सिन्धुलीका सभापति द्धारीका काफ्ले लगायतले संविधानको बारेमा व्याख्या सहित आफ्ना धारणा व्यक्त गरेका थिए ।
संविधान उत्कृष्ट बनेको कुरामा कसैको दुईमत नभएपनि संविधानको कार्यान्वयनमा देखिएका चुनौतीहरुको सामना गर्ने कुरामा भने समस्या देखिएको बक्ताहरुको धारणा थियो । संविधान घोषणा गर्ने क्रममा मिलेर अगाडि बढेका शक्तिहरु वीचको सहकार्यले मात्र संविधान कार्यान्वयन हुन सक्ने कुरामा उनीहरुको जोड थियो ।
गाउँगाउँ सम्म पुगेर र जनतालाई संविधानको अन्तरबस्तुको बारेमा बुझाउने कार्यक्रम सरकारले तय गरेको थियो त्यहि कार्यक्रम अनुसार विहिबार माढीबजारमा कार्यक्रमको आयोजना गरिएको हो ।
अभियानलाई गाउँगाउँ सम्म पु¥याएर जनतालाई संविधानको मुलभुत प्रावधान र अधिकारका बारेमा बुझाउन सकेमा संविधान कार्यान्वयनमा देखिएका जटिलताहरु समाधान गर्न सहज हुने स्थानीयहरुको भनाई छ ।
0 comments
Write Down Your Responses