Powered by Blogger.
दुई महिना सम्म पिडितले पाएनन् मौषमी राहत

पिडितहरु चिसोमा कठ्याङ्ग्रीदै

सिन्धुली, १० पौष । भुकम्पका कारण घरबार गुमाएर टहरोमा बसेका पिडितहरुलाई मौषमी राहत दिने घोषणा गरेको दुई महिना वितिसक्दा पनि जिल्लाका नागरीकले अझै उक्त रकम पाउँन नसकेको गुनासो गरेका छन् ।
राहत पाउने आशमा रहेका पिडितहरुले चिसो बढेसंगै कष्ठकर जिवन विताउन बाध्य भएको बताएका छन् ।
सरकारले करिब दुई महिनाअघि नै स्वयत पत्र मार्फत पिडितहरुलाई चिसो छल्नका लागि सिरक, कम्मल तथा लत्ताकपडा लगायतका सामाग्री खरिद गर्न तत्काल १० हजार दिने निर्णय गरेको थियो । तर, केन्द्रबाट रकम आउननै ढिला भएको र आएको रकम पनि जिल्ला दैवि प्रकोप उद्धार समितिले समयमा तदारुकता नदेखाउँदा ढिलो भएको बताइएको छ । 
जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिकाका साथै बालाजोर, क्यानेश्वर, रानीचुरी, रतनचुरा लगायतका गाविसहरुमा मौषमी रहात वितरणका लागि कुनै सुरसारनै छैन् ।
अन्य गाविसहरुमा रकम निकासा भएपनि वितरण हुन सकेको छैन् । रकम नपाउँदा तिन महिनादेखी चिसोमा बस्न बाध्य भएको रानीचुरीका पिडित शेरबहादुर कार्कीले गुनासो गरे । 
उनले भने, ‘गाविसमा म जस्ता सयौं परिवार त्रिपाल र टहरोमुनी चिसोमा बस्न बाध्य भएका छन् । भुकम्पले घर भत्कदाँ प्रायः ओढ्ने ओछ्याउने कपडा काम नलाग्ने गरी क्षेती भएपछि अहिले अभावमा बस्नु परेको छ । सरकारले दिने भनेको मौषमी राहत पनि दुई महिना वित्दा पनि पाउन सकिएन् ।’ 
उक्त गाविसमा समयमा प्राविधिक नजाँदा भुकम्प गएको सात महिनापछि बल्ल १५ हजारका दरले अस्थायी टहरो बनाउन पिडितहरुले रकम पाएका थिए । 
‘गाविसका दुइ सइ ६८ घर परिवारले अस्थायी टहरो बनाउन १५ हजार रुपैयाँका दरले रकम पाएका भएपनि मौषमी राहत कहिले पाउने भन्ने टुङ्गो छैन्,’ कार्कीले भने ।
उता रतनचुरा गाविसका भुकम्प पिडितहरुले पनि समयमा भौषमी राहत नपाउँदा आफुहरु चिसोमा दिन रात काट्न बाध्य भएको गुनासो गरेका छन् ।
जिल्लाको जलकन्या, मझुवा र सितलपाटी गाविसमा भने रेडक्रश सिन्धुलीले रकम वितरण गरेको जनाएको छ । तिन गाविसमा गरी कुल दुई हजार पाँच सय घरपरिवारलाई दश दश हजार रुपैयाँका दरले रकम वितरण गरेको रेडक्र सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए ।
कमलामाई नगरपालिकाका दुई हजार ६ सय ३६ घर परिवारलाई दशदश हजार रुपैयाँका दरले रकम वितरण गर्न दुई करोड ६३ लाख ६० हजार रुपैयाँ वितरणका लागि निकासा दिइएको भएपनि नगरका कुनैपनि वडामा रकम वितरण हुन सकेको छैन् ।
जिल्ला दैवि प्रकोप उद्धार समितिका सम्योजक तथा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालका अनुसार जिल्लाका भुकम्प पिडितहरुलाई मौषमी राहत वितरणका लागि १४ करोड रुपैयाँ निकासा भएको छ । ‘उक्त रकम मध्ये जिल्लाका अति प्रभावित २३ गाविस र एक नगरपालिकामा निकासा दिइएको छ । केही गाविसहरुले १५ हजार वितरण गर्दा निकासा गरिएको रकमकै फर्छौट नगरेका कारण निकासा दिन सकिएको छैन्,’ उनले भने ।
भुकम्पका कारण जिल्लामा ४७ हजार ७ सयँ घरमा क्षेती पुगेको भएपनि पूर्णरुपमा क्षेती भएका बाइस हजार ६ सय ३४ घरधुरीलाई १५ हजार रुपैयाँका दरले ३३ करोड ९५ लाख दश हजार रुपैयाँ राहत उपलब्ध गराइएको थियो ।
अहिले पनि तिनै पन्द्र हजार रुपैयाँ पाउनेहरुलाई दश हजार रुपैयाँका दरले रकम वितरण गर्ने तयारी छ । यसका लागि जिल्लामा २२ करोड ६३ लाख ४० हजार रुपैयाँ आवश्यक पर्दछ । ‘अहिले १४ करोडमात्र निकासा भएको र अझै आठ करोड त्रिचालिस लाख रुपैयाँ बढी रकम केन्द्रबाटै आएको छैन्,’ प्रजिअ नेपालले थपे ।
जिल्लाका कतिपय गाविसहरुमा राजनीतिक दलहरुविच कुरा नमिल्दा र गैर भुकम्प पिडितहरुले समेत रकम पाउनु पर्ने दावि गरेका कारण दश हजार रुपैयाँ वितरणमा समेत समस्या आएको बताइएको छ ।
भुकम्प पछि अस्थायी टहरो निर्माणका लागि सरकारले उपलब्ध गराएको १५ हजार रुपैयाँ एकै परिवारको चार जनासम्मले बुझेर दुरुपयोग गरेको आरोप छ । त्यस्ता ब्यक्तिमाथी छानविन गरी कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको छ । हालसम्म झण्डै सात सय जनाको नाममा यस्तो उजुरी परेको प्रजिअ नेपाले जनाए । 
उनका अनुसार उजुरी परेका केहीले रकम फिर्ता गरेका छन् भने बाँकीमाथी छानविन भइरहेको छ । प्रजिअ नेपालले यसरी उजुरी परेकाहरुमाथी थप दशहजार रुपैयाँ भने वितरण नगर्ने जनाए । उनिहरुको उजुरीमाथी छानविन भइरहेकोले बाँकीलाई मात्र रकम वितरण गर्न थालिएको छ । जाडो महिनालाई लक्षीत गरी सरकारले घोषणा गरेको मौषमी राहत ढिलै भएपनि पारदर्शी रुपमा छिट्टै वितरण सम्पन्न गर्ने उनले दावी गरे ।


,

0 comments

Write Down Your Responses