Powered by Blogger.
लैगीक हिंसा विरुद्धको अभियानलाई चुनौती

अस्पताल भित्रै अहेबले गरे छात्रा माथि दुरब्यवाहार 

ठुलोकान्छो सार्की
सिन्धुली, १६ मंसीर । घर शान्ति नै विश्व शान्तिको आधार ः पुनः निर्माण, शिक्षा र समान अवसर भन्ने मुल नाराका साथ लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेकै बेला जिल्ला अस्पताल सिन्धुलीका अहेव प्रदिप शाहले एक छात्रा माथि दुरब्यवाहार गर्दा कार्वाहीमा परेका छन । 
सिन्धुलीमाढीको प्राविधिक प्रशिक्षण केन्द्र सिएमए अध्यन गर्ने क्रममा प्राक्टीकलका लागी जिल्ला अस्पतालमा पुगेकी छात्रा माथी मोवाइल फोन मार्फत दुरब्यवाहार गरेको स्थानीयहरुको आरोप पछि अस्पतालले शाहलाई कार्वाही गरेको हो । 
कार्वाहीमा परेका शाहलाइ काज फिर्ताकाे पत्र दिदै अस्पतालका प्रमुख डा.फडिन्द्र प्रसाद बराल । 
आफु माथि पटक–पटक एसएमएस र फोन मार्फत दुरब्यवाहार गरेको भन्दै पिडित किशोरी र उनका अभिभावकहरुले बुधबार जिल्ला अस्पतालमै पुगेर शाहलाई कार्वाहीका लागी अस्पताल प्रशासनलाई दवाव दिएका थिए । स्थानीयको दवाव पछि सिन्धुली जिल्ला अस्पतालले आरोपित शाहलाई कार्वाही स्वरुप बुधबार बाटै काज फिर्ता गरिदिएको छ । शाहको काज फिर्ताका लागी स्वास्थ्य सेवा विभाग पत्र पठाइएको जिल्ला अस्पतालका सिन्धुलीका अध्यक्ष विनोद खड्काले बताए । काज फिर्ताको पत्रसँगै उनी जिल्ला अस्पतालबाट बाहिरीएका छन । 
अस्पताल विकास समितिका अध्यक्ष विनोद खड्का, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.फडिन्द्र बराल र स्थानीयहरुको छलफल पछि आरोपित शाहलाई कार्वाही स्वरुप काज फिर्ता पठाउने र पिडित छात्राको खुट्टा ढोगेर माफि माग्नु पर्ने निर्णय गरेको थियो । अभिभावकहरु आक्रोशीत भएर अस्पताल भित्र प्रवेश गरेपछि सुरक्षाका लागी शाहलाई प्रहरीले नियन्त्रण लिएर राखेको थियो । 
आरोपित शाहले, आफु मधेशी समुदायको व्यक्ति भएको कारण फसाउने षड्न्यत्र भएको बताएका छन । उनले भने, ‘समाजका अगाडि मलाई बोल्न समेत दिइएन, मेरो कुरा कसैले सुनीदिएन ।’ बोल्न समेत प्रतिबन्ध लगाएर आफुमाथि जबरजस्त कार्वाही गरिएको उनले बताए । 
महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा राष्ट्रसेवक कर्मचारीले महिला माथि दुरव्यवाहार गर्नुले अभियानलाई नै चुनौति दिएको महिला तथा वालवालिका कार्यालय सिन्धुलीकी प्रमुख सुशिला आचार्यले बताइन  । उनले भनिन, ‘ सरकारी कार्यालयमै यस्ता घटना बढ्दा हाम्रो अभियान अझ प्रभावकारी बनाउन जरुरी रहेछ भन्ने देखिएको छ ।’ समाजमा हुने महिला हिंसा अन्त्यका लागी सवैपक्ष उत्तिकै जिम्मेवार भएर लाग्नु पर्ने र सोचाइमा परिवर्तन गर्नुपर्ने उनको भनाई थियो । 
पछिल्लो समय सिन्धुलीमा सरकारी अस्पताल भित्रै महिला हिंसाका घटनाहरु बढ्दै गएका छन । यस भन्दा अघि पनि सिन्धुली जिल्ला अस्पतालका प्रमुख डा. सुरेन्द्र प्रसाद चौरासीयाले प्राक्टीकलका लागी गएकी एक छात्रा माथि दुरब्यवाहार गरेका थिए । 
पिडितले न्यायका लागी कार्यस्थलमा हुने यौनजन्य हिंसा निवारण ऐन–२०७१ अनुसार मुद्धा चलाइएको भएपनि दुवै पक्ष वीच मेलमिलापमा मुद्धा सकिएको थियो । दोषिलाई कानुन अनुसार कडाईपुर्वक कार्वाही गर्ने कुरामा जिम्मेवार पक्ष कमजोर भएका कारण पटक पटक अस्पतालमा यस्ता घटनाहरु दोहोरीने गरेको स्थानीयहरु बताउछन । 
सिन्धुली अस्पतालमा प्राक्टीकलमा लागी गएका छात्राहरु हिंसाको सिकार बन्दै आएका छन । सम्बन्धीत पक्षले अस्पताल भित्रका यस्ता घटनाहरुको अन्त्यका लागी विशेष योजना निर्माण गर्नुपर्ने आवश्यकक्ता देखिन्छ । वेलैमा यस्ता घटनाहरुको दिर्घकालिन समाधानका लागी योजना निर्माण गर्न सकिएन भने अस्पतालको झन बद्नाम हुँदै जाने निश्चीत छ । 


,

0 comments

Write Down Your Responses