Powered by Blogger.
बन्दले अदुवा बिक्री नहुँदा किसान चिन्तीत

ठुलोकान्छो सार्की
फाइल फाेटाे ।
जिनाखु, सिन्धुली १५ मंसीर । मधेशी मोर्चाले गरेको लगातारको तराई बन्द र भारतको नाकाबन्दीका कारण जिनाखु गाविसका किसानले फलाएको अदुवा बिक्रि हुन सकेको छैन । बर्ष भरी दुःख गरेर आफ्नो बारीमा फलाएको अदुवा समयमा नै बिक्रि गर्न नपाउँदा यहाँका किसानहरु चिन्तीत बनेका छन । 
अघिल्ला बर्षहरुमा बारीमै आएर ठेकेदारले उचित मुल्य दिएर लाने गरेको भएपनि यसवर्ष बन्दका कारण ठेकेदारहरु नआएको र अदुवा बारीमै कुहिने अवस्थामा पुगेको जिनाखु गाविस–१ का किसान उत्तम परीयारले बताए । 
उनले भने, ‘यहाँका किसानको मुख्य नगदेबाली नै अदुवा हो, अदुवा बिक्रिबाट नै घरायसी समस्या चलाउने उदेश्य बोकेर दुःख गरेर अदुवा रोपीयो, समयमा विक्रि गर्न पाइएको छैन ।’ ३ महिना भन्दा बढी देखिको तराई बन्द कहिले खुल्ने ठेगान नहुँदा किसानहरुमा झन चिन्ता थपिएको परीयारले बताए । 
जिनाखु गाविसका अधिकाश किसानहरुले आफ्नो बारीमा अदुवा लगाएका छन तर विक्रि कसरी गर्ने भन्ने चिन्ताले यतिवेला उनीहरुलाई सताएको छ । अघिल्ला वर्षहरुमा आउने ठेकेदारहरु पनि बन्दका कारण जिल्ला बाहिर लान समस्या भएका कारण यस वर्ष किसानकोमा पुगेका छैनन् । 
जिनाखु गाविस मात्र होइन यस क्षेत्रका लाम्पान्टार, आम्वोटे, अरुणठाकुर, ककुरठाकुर गाविसका किसानहरुले उत्पादन गरेको अदुवा पनि बन्दका कारण विक्रि हुन सकेको छैन । 
‘आफैले बाहिर पुरयाएर बेच्न पनि समस्या छ ठेकेदार पनि आउँदैनन्, यसपालीको अदुवा कुहिएरै जान्छ जस्तो छ ।’ जिनाखु–३ का किसान पदम बहादुर मोक्तान चिन्ता व्यक्त गर्छन । बन्दले तराई र शहर बजारमा मात्र होइन ग्रामीण क्षेत्रमा समेत ठुलो समस्या निम्तयाएको मोक्तानको भनाई छ । 
उनी भन्छन, ‘ एकातिर गाउँका पसलहरुमा सरसामान पाउन छाडिसकियो, ढुवानीमा समस्या छ भने अर्कोतर्फ किसानले उत्पादन गरेका बस्तुहरु बाहिर लगेर बेच्न सकिएको छैन । कुहिने अवस्थामा पुगिसक्यो ।’  अदुवा उत्पादन हुने यस क्षेत्रमा सरकारले संकलन र भण्डारण केन्द्रको स्थापना गरेर दिर्घकालीन रुपमा कृषकहरुको समस्या समाधान गरिदिनु पर्ने उनको माग छ ।  
जिल्ला कृषि विकास कार्यालय, सिन्धुलीको तथ्याङक अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा २४ करोड मुल्य बराबरको अदुवा तथा वेसार निर्यात भएको थियो । तर यस वर्ष बन्दका कारण जिल्ला भरी उत्पादीत अदुवा तथा वेसार निर्यात हुन सकेको छैन ।


,

0 comments

Write Down Your Responses