Powered by Blogger.
नयाँ राजनैतिक शक्ति बनाउन गाउँ–गाउँमा बहस चलाउदै नयाँ शक्ति

बुद्धकुमार आछामी
मरीणखोला(सिन्धुली) ८ माघ । एकीकृत माओवादी परीत्याग गरी नयाँ राजनैतिक शक्ति निर्माणमा जुटेको डा.बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निर्माण अभियान नयाँ राजनैतिक शक्ति निर्माणका लागी स्थानीयहरुसँग बहस सञ्चालन गर्न अभियाननै बनाएर गाउँ–गाउँमा पुग्न थालेको छ । 
नेपालमा नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन, नयाँ नेतृत्व र नयाँ कार्यशैली सहितको नयाँ शक्तिले मात्र नयाँ युगको कार्यभार पुरा गर्न सक्ने मान्यता राख्दै नयाँ राजनैतिक शक्ति निर्माणमा होमिएका नयाँ शक्ति निर्माणका अभियान्ताहरु यतिवेला जिल्लाका गाउँ–गाउँमा पुगेर बुद्धिजीवी, शिक्षक, किसान, महिला, उपेक्षित उत्पीडित समुदाय, विभिन्न् राजनैतिक पार्टीसँग आस्था राख्ने राजनैतिक व्यक्तित्वहरुसँग नयाँ राजनैतिक शक्ति निर्माणका लागी सुझाब संकलन गर्न अभियान सञ्चालन गरेर लागेका छन । 
डा.बावुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति निर्माण अभियानमा सिन्धुलीका झण्डै चार दर्जन एकीकृत माओवादीका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु खुलेर लागेका थिए । अहिले उनीहरुनै अभियान्ताको रुपमा गाउँ–गाउँमा अन्तरक्रिया कार्यक्रम मार्फत सुझाब संकलनमा दौडिएका छन । 
सहभागीतामुलक ढंगले नयाँ शक्ति निर्माण गर्ने नयाँ प्रक्रिया अपनाउँदै जिल्ला र स्थानीय तहसम्म व्यापक अभियान र बहस चलाएर निश्चित समय पछि नयाँ शक्तिलाई नयाँ पार्टीको रुपमा निर्माण गर्न जुटेको नयाँ शक्ति निर्माण अभियान सिन्धुलीले पनि जिल्लाका मुख्य ८ वटा केन्द्रहरुमा अन्तरक्रिया कार्यक्रमको अयोजना गर्ने र व्यापक बहस सञ्चालन गर्ने तयारी गरेको नयाँ शक्ति निर्माण अभियान सिन्धुलीका अभियान्ता सुरत बहादुर स्याङतानले बताए ।
नयाँ शक्ति निर्माण अभियानले जिल्लाका दुधौली, लाम्पान्टारको चकमके बजार, बाहुनतिल्पुङ, झागाँझोली रातमाटा, भिमेश्वरको खुर्कोट र सिन्धुलीमाढीमा नयाँ राजनैतिक शक्ति निर्माणका लागी सुझाब संकलन गर्न बृहत अन्तरक्रिया कार्यक्रम गर्ने तय गरेको जनाएको छ । 
अभियान अन्र्तगत विहिबार नेत्रकाली उच्च मावि शान्तेश्वरी र शुक्रबार कपिलाकोट गाविसको छापबजारमा बृहत अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । शान्तेश्वरी नयाँ शक्ति निर्माण अभियानका अभियान्ता सुरत बहादुर स्याङतानको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पनन् भएको थियो भने कपिलाकोटमा दिर्घराज श्रेष्ठको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पनन् भएको थियो । अन्तरक्रिया कार्यक्रममा राजनैतिक पार्टीका नेता, बुद्धिजीवी, शिक्षक तथा स्थानीयहरुले उत्साहपुर्वक सहभागीता जनाएका थिए । 
अन्तरक्रियामा नयाँ शक्तिका सुरत बहादुर स्याङतान, एक बहादुर रानामगर, दिर्घराज श्रेष्ठले नयाँ शक्तिको बारेमा प्रष्ट पारेका थिए भने सहभागीहरुले नयाँ राजनैतिक शक्ति जनता प्रति उत्तरदायी हुनुपर्ने सुझाब दिएका थिए । 
पुराना राजनैतिक शक्तिहरु भ्रष्टीकरण हुँदै गएको र जनताको अपेक्षा पुरा गर्न नसकेको कारण जनताहरुले नयाँ राजनैतिक शक्तिको खोजी गरिरहेको भन्दै डा.भट्टराई नयाँ शक्ति निर्माण अभियानमा लागेपछि डा.भट्टराई पक्षधर मानिएका जिल्ला तथा स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरु पनि नयाँ शक्ति निर्माण अभियान तिर लागेका थिए । 
गाउँमा नयाँ शक्ति निर्माणको बहस सञ्चालन गर्न पसेका नयाँ शक्ति निर्माण अभियान सिन्धुलीका संयोजक दिर्घराज श्रेष्ठले पुराना राजनैतिक शक्तिको सस्कार देखी जनता निरास देखिएको र उनीहरु नयाँ राजनैतिक शक्तिको खोजीमा रहेकाले आफुहरुको अभियानले जनताहरुमा नयाँ उत्साह र जोस थप्ने दावि गरे । श्रेष्ठले भने, ‘जनता परिवर्तन चाहन्छन तर परिवर्तनको नेतृत्व गर्ने परिवर्तनकारी राजनैतिक शक्ति भेटिरहेका छैनन् ।’ जनताको परिवर्तनको अपेक्षा र नेतृत्व जनताहरुको सहभागीता र सुझाबको आधारमा निर्माण हुने नयाँ राजनैतिक शक्तिले मात्र गर्न सक्ने श्रेष्ठको दावि छ । 
फुट र विभाजनले हैरान भएका स्थानीय नेता तथा कार्यकर्ताहरु एकीकृत माओवादीको फुटबाट भने फेरी निरास देखिएका छन । डा.बावुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियान भन्दै पार्टी विभाजन गरेर गम्भीर कमजोरी गरेको एमाओवादी कार्यकर्ताहरुले आरोप लगाउँदै आएका छन । डा.भट्टराईले सिङ्गो देशलाई संकट परेको वेलामा पार्टी विभाजन गरेर गल्ती गरेको एमाओवादीले आरोप लगाउँदै आएको छ । 
नयाँ शक्ति निर्माण अभियानको असर सिन्धुलीमा भने गहिरोसँग परेको देखिएको छ । जनयुद्धको पृष्ठभुमीबाट आएका दर्जनौ जिल्ला स्तरका नेताहरु नयाँ शक्ति निर्माण अभियान तिर लागेका छन भने उनीहरुको सक्रियतासँगै गाउँगाउँका कार्यकताहरु पनि धमाधम नयाँ शक्ति निर्माण अभियानमा समावेश हुन थालेका छन । 
नयाँ शक्ति निर्माण अभियानले कस्तो विचार, निती र सिद्धान्त सहितको संगठनात्मक संरचनाको निर्माण गर्छ भन्ने प्रष्ट भइसकेको छैन । यतिवेला उस्ले जनसहभागीता र जनसुझाबको आधारमा नयाँ राजनैतिक शक्ति निर्माण गर्न सुझाब संकलन गर्ने काम जिल्ला तथा स्थानीय तहसम्म पुगेर गरिरहेको छ । 



, ,

0 comments

Write Down Your Responses