Powered by Blogger.
शिद्धबाबा र सुनीता आयल प्रहरी अनुसन्धानको घेराभित्र

सञ्चालकलाई पक्राउ गर्न प्रजिअको निर्देशन

सिन्धुली, १२, माघ । सिन्धुलीको शिद्धबाबा आयल स्टोर्स र सुनिता आयल स्र्टोसले कालोबजारी गरेको गुनासाहरु बारम्बार आउन थालेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अनुसन्धानको घेराभित्र राखेर आवश्यक जाँचवुझ तथा अनुसन्धान कार्य सुरु गरेको छ । 
पेट्रोल पम्पहरुको बारेमा कालोबजारीको चर्चा र गुनासाहरु आएपछि विल लगायत आवश्यक कागजातहरु मगाएर अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक तथा सुचना अधिकारी विपीन ओझाले जानकारी दिए । 
आइतबार पेट्रोलीयम पर्दाथ कालोबजारीको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा भएको सर्वदलीय सर्वपक्षिय वैठकमा सुनिता आयल स्र्टोसका सञ्चालक कामेस महतो र शिद्धबाबा आयलका सञ्चालक मित्र थापाले जिल्लामा इन्धनमा व्यापक कालोबजारी गरेको आरोप लागेको थियो । 
शिद्धबाबा आयल स्र्टोसका सञ्चालक मित्र थापाले त आफुले १८० देखी दुई सय रुपैयाँ सम्ममा इन्धनको विक्रि वितरण गरेको स्वीकार समेत गरेका थिए । सोमबार स्थानीय पत्रपत्रिकामा त्यहि विषयलाई लिएर समाचार प्रकाशित भएपछि स्थानीय प्रशासनले कार्वाहीको प्रत्रियालाई अगाडि बढाएको हो । 
‘सुनिता आयलका सञ्चालक कामेस महतोलाई बोलाएर आवश्यक सोधपुछ गरेर छाडिएको र स्थानीय प्रशासनकै अगाडि कालोबजारी गरेको स्वीकार गर्ने शिद्धबाबा आयल स्र्टोसका सञ्चालक मित्र थापालाई पक्राउ गर्नका लागी प्रहरी परिचालन गरीएको छ,’ प्रहरी निरीक्षक थापाले भने । पक्राउ गर्नका लागी सोमबार देखी नै प्रहरी परीचालन गरिएको बताइए पनि मङ्गलबार साँझ सम्म प्रहरीले थापालाई नियन्त्रणमा लिन सकेको छैन । 
उता प्रमुख जिल्ला अधिकारीले दिपक राज नेपालले भने कालोबजारीको बारेमा गुनासाहरु आएपछि आवश्यक अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयलाई लिखीत आदेश दिइसकेको बताएका छन । 
भारतको नाकाबन्द र लामो समय देखीको तराई बन्दका कारण जिल्लामा इन्धनको सहज आपूर्ति हुन नसकिरहेको बेला जिल्ला प्रशासन कार्यालयको सिफारीसमा पेट्रोलीयम पर्दाथ ल्याउने गरिएको छ । प्रशासनको सिफारीसमा ल्याइएको इन्धन पम्प व्यवसायीहरुले नै कालोबजारी गरेको गुनासाहरु बारम्बार बजारमा आउने गरेका छन । 
सुनिता आयल स्र्टोसका सञ्चालक कामेस महतोले त स्थानीय प्रशासनलाई समेत अटेर गर्दै कालोबजारी गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ । श्रोत अनुसार महतोको प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्यालसँग नै सम्बन्ध भएका कारण स्थानीय प्रशासनलाई हेप्दै महतोले कालाबजारी गर्ने गरेको बुझिएको छ । अर्याल डिएसपी हुँदा सिन्धुलीको प्रहरी प्रमुख बनेर बसेका थिए । 
दुबै पम्पका सञ्चालकहरुसंग बुझ्न खोज्दा सम्पर्क हुन सकेन् ।


, ,

0 comments

Write Down Your Responses