Powered by Blogger.
दशवर्ष पछि नयाँ शक्तिको अभियान्ता बनेर गाउँमा


दुधौली(सिन्धुली) १५ माघ । जनयुद्धको बेलामा राजनैतिक क्रान्तिका कुरा गर्दै जनतालाई प्रशिक्षित गर्ने जनयुद्धकालीन माओवादी नेताहरु यतिवेला आर्थिक क्रान्तिका कुरा गर्दै गाउँ प्रवेश गरेको देख्दा गाउँमा नयाँ तरंग पैदा भएको छ । शान्तिप्रक्रिया पछि शहर प्रवेश गरेका युद्धकालीन नेताहरुको अनुहार र नयाँ शक्ति शव्द गाउँमा यतिवेला असाध्यै नयाँ भएर उपस्थित भएको छ । 
जनयुद्धमा गाउँगाउँका किसानहरुलाई साम्यवादको सपना बाड्दै बन्दुक बोकेर राज्यसक्ता परिवर्तन गर्न होमिएका सिन्धुलीका जनयुद्धकालीन अधिकाश माओवादी नेताहरु झण्डै एक दशक पछि गाउँमा पुगेर नयाँ राजनैतिक शक्ति निर्माणको बहसमा लागेका छन । आर्थिक सामाजिक क्रान्तिका लागी नयाँ पार्टी निर्माण गर्न सुझाब संकलन गरिरहेका छन । 
माओवादी जनयुद्धमा स्थापित सिन्धुलीका नेता दिर्घराज श्रेष्ठ, एक बहादुर राना मगर, सुरत बहादुर स्याङतान, बन्दना सुवेदी, रामबावु थापा, पदम बहादुर अस्थानी लगायतका दर्जनौं नेताहरु यतिवेला नेपालमा भएका पटक–पटकका राजनैतिक क्रान्तिले समाजलाई रुपान्तरण गर्न नसकेको बताउँदै अर्थिक क्रान्तिको लागी नयाँ शक्ति निर्माणमा सहयोग र सुझाब माग्न जिल्ला व्यापी अभियानमा खटिएका छन । 
एकीकृत माओवादी परीत्याग गरी नयाँ राजनैतिक शक्ति निर्माणमा जुटेको डा.बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निर्माण अभियानमा अभियान्ताको नाममा जनयुद्ध लडेका नेताहरु नयाँ शक्तिको हाते पुस्तीका र पर्चा लिएर गाउँ पसेका छन । 
नेपालमा नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन, नयाँ नेतृत्व र नयाँ कार्यशैली सहितको नयाँ शक्तिले मात्र नयाँ युगको कार्यभार पुरा गर्न सक्ने मान्यता राख्दै नयाँ राजनैतिक शक्ति निर्माणमा होमिएका नयाँ शक्तिले जिल्लाका विभिन्न् केन्द्रका बुद्धिजीवी, शिक्षक, किसान, महिला, विभिन्न् राजनैतिक पार्टीसँग आस्था राख्ने राजनैतिक व्यक्तित्वहरुसँग सुझाब संकलन गरिरहेको छ । 
शुक्रबार नयाँ शक्तिको बहस चलाउँदै दुधौली पुगेका जनयुद्धकालीन नेता दिर्घराज श्रेष्ठ, एक बहादुर रानमगर, सुरत बहादुर स्याङतानलाई  देखेर स्थानीयहरु झण्डै झुक्कीए तर नयाँ शक्तिको अन्तरक्रिया छ भन्ने थाहा पाएपछि मात्र उनीहरुले जनयुद्धका यी नेताहरु पनि नयाँ शक्ति तिर लागेका रैछन भन्ने थाहा पाए । 
नयाँ शक्तिको अन्तरक्रियामा सहभागी भएका कमलाखोज क्षेत्रका शिक्षक तथा बुद्धिजीवी आशाराम अधिकारी दनुवारले नयाँ शक्तिको नयाँ कुराले साच्चै देशमा परिवर्तन ल्याउने आशा व्यक्त गरे । उनले भने, ‘कुरा धेरै गर्ने र काम काम कम गर्ने राजनैतिक संस्कारलाई नयाँ शक्तिले ब्रेक गर्न सक्नु पर्दछ ।, जनता भाषण भन्दा पनि व्यवाहारीक रुपमा परिवर्तन हेर्न चाहन्छन ।’ नारामा भन्दा पनि व्यवाहरमै परिवर्तनको सन्देश दिएमा नयाँ शक्ति साच्चै नयाँ हुने अधिकारीले बताए । अन्य सहभागीहरुले पनि नयाँ कुरा भन्दा काम गरेर देखाउन अभियान्ताहरुलाई आग्रह गरेका थिए । जनयुद्धको वेला जनताले उनीहरुसँग गर्ने आग्रह र अहिलेको आग्रहमा निक्कै फरक थियो । जनयुद्धबाट आएको एमाओवादी लगायत राजनैतिक शक्तिले जनतालाई हैरानी मात्र दिएकाले फेरी जनतालाई हैरान थापर्ने गरी काम नगर्न अभियान्ताहरुलाई सहभागीहरुले आग्रह गरे । 
कार्यक्रममा नयाँ शक्ति निर्माण अभियानका अभियान्ता सुरत बहादुर स्याङतानले नयाँ शक्ति निर्माण अभियानले आर्थिक तथा सामाजिक परिवर्तनका लागी अबलम्बन गर्ने निती, नयाँ राजनैतिक पार्टी निर्माणको विधी र पार्टीले अंगीकार गर्ने कार्यक्रमको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । 
त्यस्तै नयाँ शक्ति निर्माण अभियानका अभियान्ता दिर्घराज श्रेष्ठले आर्थिक परिवर्तनले मात्र जनताको जीवनस्तरमा परिवर्तन ल्याउने भएकाले अब नेपालमा आर्थिक क्रान्तिको आवश्यक्ता रहेको बताए । उनले नयाँ शक्ति निर्माण अभियान एकीकृत माओवादी विभाजीत भएर बनेको टुक्राको रुपमा नबुझ्न समेत सहभागीहरुलाई आग्रह गरे । नयाँ शक्ति आर्थिक क्रान्ति चाहने सवै पार्टी र समुदायका व्यक्तिहरुको साझाँ चौतारीको रुपमा स्थापीत हुने श्रेष्ठको भनाई थियो । 
सहभागीतामुलक ढंगले नयाँ शक्ति निर्माण गर्ने नयाँ प्रक्रिया अपनाउँदै जिल्ला र स्थानीय तहसम्म व्यापक अभियान र बहस चलाएर निश्चित समय पछि नयाँ शक्तिलाई नयाँ पार्टीको रुपमा निर्माण गर्न जुटेको नयाँ शक्ति निर्माण अभियानले जिल्लाका मुख्य ८ वटा केन्द्रहरुमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । 


, ,

0 comments

Write Down Your Responses