Powered by Blogger.
सिन्धुलीमा सुरु भयो ‘ताम्बा राष्ट्रिय संस्कृति महोत्सव २०७२’

राजन गाउँले

सिन्धुली २३, माघ । तामाङ समुदायहरुको जाती, भाषा, कला, संस्कृती र भेषभुषा पहिचानका लागि नेपालमै पहिलो पटक सिन्धुलीमा ताम्बा राष्ट्रिय संस्कृति महोत्सव २०७२ को आयोजना गरिएको छ । 
शनिवाबाट सुरु भएको महोत्सवको उद्घाटन सम्माननीय उप–राष्ट्रपति नन्दबहादुर पुनले भव्य समारोह विच गरेका हुन् । उप–राष्ट्रपति पुनले तामाङ समुदायको संकृति अनुसार तयार गरिएको तामाङ सगुन दुच्छे छ्योत (कोदाको रक्सी)ले दिपलाई घेरेर डम्फु बजाएर महोत्सवको उद्घाटन गरेका हुन् ।
दुई दिनसम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रममा कृषि मन्त्रि हरिबोल प्रसाद गजुरेल, सभासद लगायतका तामाङ समुदायका विज्ञहरुको उपस्थित रहेको थियो । निजी गाडी मार्फत काठमाण्डौंबाट सिन्धुली आइपुगेका उपराष्ट्रपति पुन सिन्धुली बर्दिवासको घुमाउरो सडकका कारण अस्वस्थ भएपछि कार्यक्रममा भने कुनैपनि सम्बोधन गरेनन् । स्रोतका अनुसार घुमाउरो बाटोका कारण उनलाई वान्ता हुने, रिंगटा लाग्ने जस्ता समस्या भएपछि झण्डै चार घण्टा आराम गरेपनि सुधार नभएपछि उद्घाटन लगत्तै पुन बाहिरिएका थिए ।
महोत्सवमा सिन्धुली लगायत विभिन्न दश जिल्लाका तामाङ समुदायका साथै सर्वसाधारणको उपस्थिती रहेको छ ।
तामाङ समुदायको नयाँ वर्ष २८५२ तथा मकर ल्होछारको अवसर पारेर गरिएको महोत्सवमा उक्त समुदायको परम्परागत संस्कृती, भाषा, धर्म,  रितिरिवाज, खानपिनका परिकार, लगायतका महत्वपूर्ण विषयमा जानकारी गराउँने र त्यसको संरक्षणका लागि नेपालमै पहिलो पटक प्रोफाई तथा कार्यक्रमको डकुमेन्ट्री तयार गर्ने महोत्सव आयोजक समितिका संयोजक तथा तामाङ घेदुङका केन्द्रीय सचिव काजीमान थिङले जानकारी दिए । 
उनले भने, ‘यो कार्यक्रम नेपालमै पहिलो पटक आयोजना गरिएको हो । यसले तामाङ समुदायको संस्कृतीको संरक्षण र प्रबद्र्धनमा सहयोग पुग्ने छ । कार्यक्रमबाट तयार गरिएको डकुमेन्ट्री राष्ट्रिय संग्राहालयमा प्रदर्शनीका लागि राख्न पहल गरिने छ ।’ डकुमेन्ट्रीका लागि राष्ट्रिय स्तरका मिडियाहरुको समेत सहयोगका साथ उपस्थित गराइएको उनको भनाई छ ।
प्राङ्बोला छार न्हान, नेपाल तामाङ घेदुङ र तम्बा संघको संयुक्त आयोजना रहेको महोत्सवमा तामाङ समुदायको विभिन्न प्रकारका झाँकी, भेषभुषा, गित संगीत प्रस्तुत गरिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक तथा नेपाल तामाङ घेदुङ सिन्धुलीका सहसचिव विरु लामाले जनाए ।
महोत्सवमा ताम्बाहरुद्धारा सोरग्याम, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुद्धारा डेमोस्टेसन लगायतका प्रस्तुतीहरु देखाइएको थियो ।
महोत्सव झण्डै पचास हजार तामाङ समुदायले अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपाल तामाङ घेदुङ संघ सिन्धुलीका उपाध्यक्ष गम्भीरसिं तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । 
तस्वीर ‘ताम्बा राष्ट्रिय संस्कृति महोत्सव २०७२’ का केही झलकहरु ।


, ,

0 comments

Write Down Your Responses