Powered by Blogger.
सिन्धुलीमा निर्वाचन सुरु, बराल र दाहालको भिडन्त




राजन गाउँले
सिन्धुली २५, माघ । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत आज (सोमबार) जिल्ला अधिबेशन सुरु भएको छ ।  सिन्धुली जिल्लामा जिल्ला सभापतिका लागि दुई उमेदवारले उमेद्वारी दर्ता गराएका छन् । सभापतिमा उमेदवारी दर्ता गराउनेहरुमा संस्थापन पक्षका युवा नेता उज्वल बराल र देउवा पक्षका प्रेमचन्द्र दाहाल रहेका छन् । बरालले क्षेत्रीय निर्वाचनमा क्षेत्र नम्बर दुई र दाहालले क्षेत्र नम्बर एकबाट अत्याधिक मत ल्याएर महाधिवेशन प्रतिनीधिमा विजयी भएका थिए । उनिहरुविच जिल्ला सभापतिका लागि कडा प्रतिस्पर्धा हुने काग्रेस श्रोतले बताएको छ । 
जिल्लामा यस अघिदेखिकै जिल्ला सभापतिका दावेदारका रुपमा आफ्नो उमेदवारी घोषणा गरेर निर्वाचनमा होमिएका संस्थापन पक्षका निवर्तमान सभापति तथा संसद मोहन बरालले उज्वल बराल र अर्का जिल्लाका प्रभावशाली मानीने देउवा पक्षका नरेन्द्रजंग थापाले दाहालको उमेदवारीलाई समर्थन गरेपछि सभापति पदमा दुई जनाविच प्रतिस्पर्धा हुन लागेको हो । 
यस्तै जिल्ला सचिवमा पनि संस्थापन र देउवा पक्षविचमै प्रतिस्पर्धा हुने भएको छ । जिल्ला सचिवमा चार जनाको उमेद्वारी परेको छ । सचिव पदका लागि अच्चुतम ढकाल, दिपककुमार घिमिरे, प्रेमप्रसाद भट्टराई र सरदप्रसाद आचार्यले उमेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत चुन्नीशरण यादवले जनाए । सचिवका उमेद्वारीहरुमा ढकाल र आचार्य संस्थापन पक्षका हुन् भने  घिमिरे र भट्टराई देउवापक्षका हुन् । 
यस्तै कोषाध्यक्षमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार कोषाध्यक्षको एक पदका लागि कृष्णकुमार श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, गोविन्दप्रसाद पहाडी, रामकाजी वाइवा र यसोदा कोइरालाको उमेदवारी परेको छ । उनिहरु मध्ये श्रेष्ठद्धय र वाइवा देउवा पक्ष र कोइराला र पहाडी संस्थापन पक्षका हुन् । 
यस्तै जिल्ला सदस्यहरुमा महिला, दलित, आदीवासी जनजाती र अल्पसंख्यक गरी ४२ जनाको उमेदवारी परेकोमा क्षेत्र नम्बर तिनबाट महिला तर्फ कान्ता ढकाल, मन्जु दाहाल दलित तर्फ कृष्णबहादुर सार्की, जनजाती तर्फ कान्छामान वल र अल्पसंख्यक तर्फ भगवान माझी निर्वीरोध भएका छन् । ‘जिल्ला सदस्यहरुमा बाँकी ३७ जनाविच निर्वाचन हुने छ,’ निर्वाचन अधिकृत यादवले भने । अधिबेशनले २५ जना जिल्ला कार्य समिति सदस्यका लागि निर्वाचन गराउँने छ ।
निर्वाचनमा ६ सय ६२ जना मतदाताले भाग लिने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन समितिले उमेदवारहरुविचको प्रतिस्पर्धाका लागि दिउँसो दुई बजेबाट साँझा साँढे पाँच बजेसम्म निर्वाचन गरिने कार्यतालिका सार्वजनीक गरेको छ । निर्वाचन अधिकृत यादवका अनुसार साँझ निर्वाचन सम्पन्न पछि लगत्तै कार्यविधी बनाएर मत गणना गरिने छ । निर्वाचनको मत परिणाम आजै अवेर सम्ममा सार्वजनिक हुने बताइएको छ । 
 जिल्लामा सोमबार बिहानै देखि सिमसिम पानी परिरहेपनि कांग्रेस नेता तथा कार्यकर्ता आ–आफ्ना उमेद्वाहलाई विजयी गराउँन सक्रिय भएर लागि परेका छन् । उमेद्वारहरुको फोटो सहितको ठुलठुला पोष्टकार्ड, ब्यानर बनाएर प्रदर्शन गर्दै हिडेका छन् । 


, ,

0 comments

Write Down Your Responses