Powered by Blogger.
आवधिक योजना निर्माणमा जिविस र कन्सल्टेन्टको लापरवाहि



कन्सलटेन्टले रकम पचाउने काम गरेको मन्त्रीको आरोप 

सिन्धुली, २८ फाल्गुण । जिल्ला विकास समिति सिन्धुलीले पहिलो पटक निर्माण गर्न लागेको आवधिक जिल्ला विकास योजनामा जिल्ला विकास समिति सिन्धुली र कन्सल्टेन्टले लापरवाहि गरेको जिल्लाका सरोकारवालाहरुले आरोप लगाएका छन । आवधिक योजनाको बारेमा जिल्ला विकास समिति सिन्धुलीले सुक्रबार आयोजना गरेको अन्तिम छलफलमा सरोकारवालाहरुले यस्तो आरोप लगाउँदै आवधिक योजना प्रति असन्तोष व्यक्त गरेका हुन । 
कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका कृषि मन्त्री हरिबोल गजुरेलले आवधिक जिल्ला विकास योजना सरोकारवाला पक्षहरुसँग छलफल र सुझाबको आधारमा बनाउन आफुले आग्रह गरेको भएपनि आफुहरुसँग छलफल नै नगरी कन्सलटेन्टले रकम पचाउने नियतले मात्र काम गरेको आरोप लगाए । मन्त्री गजुरेलले भने, ‘जनताको मनोविज्ञान र राजनैतिक दलको मनोविज्ञान अनुसार योजना निर्माण गर्न जरुरी छ, कन्सल्टेन्टले र जिविसले जनता र राजनैतिक दलको मनोविज्ञान बुझ्न सकेको अवस्था यो आवधिक योजनामा पाइएन ।’ आवधिक जिल्ला विकास योजना जिल्लाको विकासमा लागी महत्वपूर्ण विषय भएपनि अनुमानका आधारमा तथ्याङकहरु समावेश गरिएको कारण फितलो देखिएको मन्त्री गजुरेलको भनाई थियो । 
त्यस्तै कार्यक्रममा बोल्दै सांसद मोहन प्रसाद बरालले आवधिक योजना निर्माणको क्रममा वैज्ञानिक प्रक्रिया नपनाइएको बताउँदै पुराना प्रक्रिया र पद्धतिले विकासलाई नयाँ ठाउँमा लैजान नसक्ने बताए । नयाँ ठाउँमा पुग्नका लागी सरकारका पुरान प्रक्रिया र पद्धतिलाई परिवर्तन गर्न आवश्यक रहेको बरालको भनाई थियो । 
कार्यक्रमा बोल्दै सांसद गणेश पहाडीले देशभरका अधिकास जिल्लाहरुको आवधिक योजना निर्माण गरिसक्दा पनि सिन्धुलीले आवधिक योजना निर्माण गर्न नसक्नु र निर्माण गर्न लागिएको योजना पनि फिलतो हुनु दुखद रहेको बताए । 
कार्यक्रममा सहभागी राजनैतिक पार्टीका नेताहरुले पनि आवधिक जिविस योजना वैज्ञानिक नभएको टिप्पणी गरेका थिए । नेपाली काग्रेसका जिल्ला सभापति उज्जव प्रसाद बरालले आफ्नो धारणा राख्दै जिल्लाको विकासको योजना कन्सल्टेन्टले आफुखुसी निर्माण गरेको आरोप लगाउँदै आफुहरु जिल्लाको विकासको योजनाकार हुनुपर्ने तर्क राखे । बरालले आवधिक योजना विद्यार्थीको थेसीस जस्तो भएको बताए । उनले विषयगत कार्यालयको तथ्याङक समेत तुक्रिपूर्ण भएको बताए । 
त्यस्तै नेकपा(एमाले)का जिल्ला अध्यक्ष प्रदिप कट्वालले कन्सल्टेन्टले आवधिक योजना निर्माण गर्दा राजनैतिक दल र सरोकारवालाहरुले दिएको सुझाबलाई नै समावेश नगरेको आरोप लगाए । 
एकीकृत नेकपा(माओवादी)का जिल्ला अध्यक्ष राजन दाहालले कन्सल्टेन्ट मार्फत आवधिक योजना निर्माण गर्ने राज्यको नितीनै गलत रहेको बताउँदै आवधिक योजना औपचारिकताका लागी होइन वास्तविकतामा आधारित रहेर निर्माण गर्नुपर्ने बताए । गलत विश्लेषण र तथ्याङक समावेश गरिएका कारण विश्वासिलो आधार तयार भएपछि मात्र आवधिक जिल्ला विकास योजना पारित हुने नेता दाहालले बताए । 
कार्यक्रमका अधिकांश सहभागीहरुले आवधिक योजना निर्माणमा जिविस र कन्सलटेन्टले लापरवाहि गरेको आरोप लगाएका थिए । 
गत मंसीरमा गरिएको छलफमा पनि दस्तावेजमा कास्की जिल्लाको तथ्याङक समावेश गरिएको भेटिए पछि कार्यक्रमनै विथोलिएको थियो । जिविसको आवधिक योजना निर्माणको जिम्मा राष्ट्रिय सर्भिसेज प्रा.ली. पोखराले पाएको छ ।  
उता जिल्ला विकास समिति सिन्धुलीले भने सकेसम्म वैज्ञानिक विधी र प्रक्रिया मार्फत आवधिक योजना निर्माण गर्ने प्रयास गरिएको बताएको छ । जिविस सिन्धुलीले इलाका स्तरिय छलफल, विषयगत कार्याशाला गोष्ठी, जिल्लाको संभावना, अवसर,चुनौतीको विश्लेषण, समस्याको विश्लेषण, सरोकारवाला पक्षहरुसँगको अन्तरक्रिया मार्फत दस्तावेज तयार गर्ने काम गरेको बताएको छ । 
१२ लाख रुपैयाँ लगानीमा पहिलो पटक निर्माण गर्न लागीएको आवधिक जिल्ला विकास योजना निर्माणमा जिल्ला विकास समिति र राष्ट्रिय सर्भिसेज प्रा.लीले लापरवाहि गर्दा समस्या उत्पनन् भएको छ भने विषयगत कार्यालयहरुले गैर जिम्मेवारीपुर्वक तथ्याङक दिएका कारण पनि आवधिक योजना प्रभावकारी बन्न नसकेको सरोकारवालाहरुको आरोप छ । 
झण्डै १ वर्ष अगाडि देखी निर्माण कार्य सुरु भएको आवधिक जिल्ला विकास योजनाको क्रममा १५ वटा वैठक सम्पनन् भइसकेको जिविसको भनाई छ भने यस वीचमा ५ जना स्थानीय विकास अधिकारी परिवर्तन भईसकेका छन । धुर्व वहादुर खड्काको पालामा सुरु भएको आवधिक योजनामा निर्माण प्रक्रिया इश्वर कुमार गीरी सम्म आईपुग्दा पनि पूर्णता पाउन सकेको छैन । 



,

0 comments

Write Down Your Responses