Powered by Blogger.
तीन वर्ष देखी अबैद्य रुपमा क्रसर सञ्चालन


सिन्धुली, ५ चैत्र । जिल्लाको खुर्कोट घुर्मी मध्यपहाडी लोकमार्ग स्थित डुडभञ्ज्याङ्ग गाविस ८ को वाक्सुखोलामा एक कम्पनिले तिन वर्ष देखी अवैध रुपमा क्रसर सञ्चालन गर्दै आएको छ । 
विगत अढाइ वर्ष देखी सञ्चालनमा रहेको उक्त क्रसरले जिल्ला विकास समिति र गाउँ विकास समितिलाई तीन वर्ष देखी राजश्व रकम समेत बुझाउने गरेको छैन । 
सुरुमा गोल्डेन कन्ट्रक्सन प्रालीले सञ्चालन गरेको उक्त क्रसर हाल विरुवा कन्ट्रक्सन प्रालीले सञ्चालन गरिरहेको स्थानीयहरुले बताएका छन । अवैद्य रुपमा सञ्चालन गरिएको उक्त क्रसरले हाल सम्म जिल्ला विकास समितिमा राजश्व नबुझाएको जिल्ला विकासको राजश्व शाखाले जनाएको छ भने उक्त क्रसरसँग राजश्व लिनका लागी जिल्ला विकास समितिले पनि कुनै दतारुकता देखाएको छैन । 
जिल्ला विकास समिति सिन्धुलीको लापरवाहि र राजनैतिक संरक्षणका कारण निर्वाध रुपमा उक्त कम्पनीले क्रसर सञ्चालन गर्दै आएको स्थानीय सोमप्रसाद बरालले बताए । अवैद्य रुपमा चलाइएको क्रसरसँग स्थानीयहरुले सामाजिक कामको सहयोग माग्दा समेत नदिएको र गाविस र जिविसले समेत करको दायरामा ल्याउन नसकेको उनले बताए । क्रशरका कारण स्थानीय सुनकोशी प्राथाकि विद्यालय र स्थानीवासीहरुलाई समेत समस्या परेको उनको भनाई थियो ।  
उता स्थानीय विकास अधिकारी इश्वर गीरीले भने उक्त क्रसर जिल्ला विकासलाई कर नतिरी अवैध रुपमा सञ्चालन गरिएको हो भने तत्काल क्रसरलाई करको दायरामा ल्याइने बताए । यदि करको दायरामा नआएमा क्रसर बन्द गरिने उनको भनाई थियो । आफु पनि भर्खरै मात्र जिल्ला सरुवा भएर आएकाले के भइरहेको छ भन्ने बारेमा आफुलाई पूर्ण जानकारी नभएको गीरीको भनाई थियो । 
अवैद्य व्यापार व्यवसायको नियन्त्रणको जिम्मा पाएको स्थानीय प्रशासनले समेत तीन वर्ष सम्म उक्त क्रसरलाई कानुन बमोजिम नियन्त्रणमा ल्याउन सकेको छैन । भरखरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले आफुलाई पूर्ण जानकारी नभएको बताउँदै गैर कानुनी हिसाबले व्यापार व्यवसाय गर्न नपाउँने बताउँदै उक्त क्रसरको अनुगमन गरी गैर कानुनी रुपमा सञ्चालन भएको पाइएमा तत्काल कानुनी दायरामा ल्याइने बताए । क्रसर सञ्चालक विरुवा कन्ट्रक्सन प्रालीका प्रोपाइटरसँग भने यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । 
जिल्ला विकास समितिको आन्तरिक श्रोत कमजोर भइरहेको बेला यस्ता श्रोतहरुको पहिचान गरि व्यवस्थित गर्नुपर्नेमा जिल्ला विकास समितिले खासै ध्यान नदिएका कारण पनि जिल्लाका विभिन्न् खोला तथा नदिहरुबाट मनोमानी रुपमा ढुंगा, गीटी, बालुवा उत्खनन् गर्ने, क्रसर चलाउने लगायतका कार्यहरु भइरहेका छन । यस तर्फ सम्बन्धीत सवै सरोकारवाला राजनैतिक पार्टी, स्थानीय प्रशासन र जिविसको ध्यान जान जरुरी छ । 


,

0 comments

Write Down Your Responses