Powered by Blogger.
प्रहरी भन्छ- विगतको भन्दा यसपालिको होली शान्त

काठमाडौं,९ चैत । अघिल्लो वर्ष उपत्यकामा होली खेल्ने क्रममा ३ जनाको छतबाट लडेर मृत्यु भएको थियो भने करिब ९ वटा ठूला सवारी दुर्घटनाहरु भएका थिए । तर यसपटक उपत्यकाको होली विगतको तुलना निकै सुरक्षित देखिएको छ ।
विषेश गरेर छतमा बसेर लोला हान्नेहरु निकै कम देखिएको प्रहरीको भनाइ छ । विगतको तुलनामा विकृती निकै कम भएको छ । रातिमा मादकपदार्थ सेवन गरेर सवारी चलाउने तथा गलत गतिविधि गर्ने समूह सक्रिय हुनसक्ने भन्दै प्रहरीले दिउँसोको तुलनामा बढी निगरानी गरेको छ ।

काठमाडौंमा १२० पक्राउ

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरुमा नियमितभन्दा बढी प्रहरी जनशक्ति सुरक्षाका लागि परिचालित छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले करिब ५ बजे दिएको तथ्यांक अनुसार मातहतका प्रहरी कार्यलयको कारबाहीमा १२० जना पक्राउ परेका छन् । होलीको नाममा जबरजस्ति लोला हान्ने, मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, तीनजना मोटरसाइकलमा चढेर हिंड्ने तथा एकआपसमा विवाद गर्न खोज्नेहरुलाई नियन्त्रणमा लिएर राखिएको काठमाडौंका एसएसपी बिक्रम सिंह थापाले जानकारी दिए ।
काठमाडौंका विभिन्न स्थानमा गरेर १२ ठाउँमा कन्सर्ट कार्यक्रम आयोजना भएको छ । ति स्थानमा पनि कुनै अप्रिय घटनाहरु नभएको एसएसपी थापाले बताए । विगतको तुलनामा काठमाडौंको होली निकै शान्त देखिएको र विषेश गरेर छतमा बसेर लोला हान्नेहरु निकै कम देखिएकाले अहिलेसम्म कुनै अप्रिय घटनाहरु पनि नभएको एसएसपी थापाले जानकारी दिए ।
छतमा बसेर लोला हान्नेहरु निकै कम देखिएको प्रहरीको भनाइ छ । विगतको तुलनामा विकृती निकै कम भएको छ
एसएसपी थापा भन्छन्, ‘विगतमा थुप्रै अप्रिय घटना तथा झगडाहरु हुने गरेको सुनिन्थ्यो यस वर्ष प्रहरीको सक्रियता र नागरिक आफैं सचेत हुँदा कुनै ठूला दुर्घटनाहरु भएका छैनन् ।’
कसैसँग पनि गाँजा, हातहतियार, भेटिएका छैनन् । अधिकांश विद्यार्थीहरु पक्राउ परेका छन् । उनीहरु मध्य कोहि गलत भेटिए अनुसन्धान पछि आवश्यक परे मुद्दा पनि चलाइने र नत्र जरीवाना तिराएर अभिभावकको जिम्मा लगाएर पठाइने एसएसपी थापाले बताए ।

ललितपुरमा ९२ जना पक्राउ, १०७ मोटरसाइकल नियन्त्रणमा

ललितपुरमा पनि साँझ ५ बजेसम्म सवारी नियम उंलघन गर्ने तथा मादकपदार्थ सेवन गरेर हिंड्ने बाहेक कुनै अप्रिय घटनाहरु भएका छैनन् । ललितपुरका एसएसपी पिताम्बर अधिकारीका अनुसार ५ बजेसम्म ९२ जना पक्राउ परेका छन् भने १०७ वटा सवारी साधनहरु नियन्त्रणमा छन ।
पक्राउ पर्नेहरु मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा सामान्य झगडा गर्ने तथा नशालु पदार्थ सेवन गरेर अनैतिक गतिविधि गर्नेहरु छन् ।
यसपटक ललितपुर प्रहरीले नेवारी भाषामा समेत माइकिङ गरेर नागरिकहरुलाई होलीमा गलत गतिविधि नगर्न सचेत गराएकाले ठूला घटनाहरु नभएको हुनसक्ने एसएसपी अधिकारीको दाबी छ ।
उनी भन्छन्, ‘यस वर्ष प्रहरी पनि बढी परिचालन भएकाले हुन सक्छ त्यस्तो ठुलो घटनाहरु भएका छैनन् । नियन्त्रणमा लिइएकाहरु माथि अनुसन्धान भैरहेको छ कोहि अति नै गरेकाहरु भेटिए भने मुद्दा चलाउँछौं ।’
यस वर्ष ललितपुरमा एकले अर्कालाई हान्दा युवाहरुबीच सामान्य झगडा बाहेकका घटनाहरु भएका छैनन् ।
भक्तपुरमा के भयो ?
काठमाडौं र ललितपुर जस्तै भक्तपुरमा पनि अप्रिय घटना-दुर्घटना केही पनि भएको छैन ।
भक्तपुरकी एसपी किरण बज्राचार्यका अनुसार भक्तपुरमा तीनजना राखेर मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेर जम्मा २९ जना पक्राउ परेका छन् । पाँच बजेसम्मको तथ्यांक अनुसार भक्तपुरमा एउटा सामान्य मोटरसाइकल दुर्घटना भएको बाहेक कुनै घटनाहरु नभएको एसपी बज्राचार्यले बताइन् ।
केहि समूहले युवतीहरुमाथि जबरजस्ति लोला हान्ने तथा बाटोमा हिँडेकाहरुलाई पनि असर पर्ने गतिविधि गरेपछि पक्राउ गरेर अनुसन्धान थालिएको उनले जानकारी दिइन् ।
तीनवटै जिल्लामा १४ सय ३२ सवारीसाधन नियन्त्रणमा
ट्राफिक प्रहरीको तथ्यांक अनुसार उपत्यकामा १४ सय ३२ सवारी साधनहरु ट्राफिक कार्वाहीमा परेका छन् । काठमाडौंमा ११ सय ५५, ललितपुरमा २२७ र भक्तपुरमा ५० वटा सवारी साधनहरु कारबाहीमा परेको प्रहरीको तथ्यांक छ ।
कारबाहीमा पर्नेहरुमध्य अधिकांश लाइसेन्स नबोकी सवारी चलाउनेहरु छन् भने मापसे गरेर चलाउनेहरु पनि ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । हेल्मेट नलगाउनेदेखि लापरबाही गरेर चलाउनेहरुलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
उपत्यकामा ट्राफिक महाशाखाको समन्वयमा ट्राफिक प्रहरी र जनपथ प्रहरी संयुक्तरुपमा कार्वाही अभियान चलाएको  छ । ५३ स्थानमा चेकप्वाइन्ट राखिएको थियो भने जनपथ प्रहरीले गस्तीलाई बढाएको थियो ।


,

0 comments

Write Down Your Responses