Powered by Blogger.
विद्यार्थी भर्ना अभियान, २०७३ सफल बनाउन जिल्ला शिक्षा कार्यालय,सिन्धुलीको अनुरोध

शिक्षा प्राप्त गर्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । नेपालको संविधान २०७२ ले बालबालिकाको निशुल्क शिक्षा प्राप्त गर्ने हकलाई स्पष्ट रुपमा किटान गरेको छ । शिक्षा सभ्य र समुन्नत समाज निर्माणको आधार पनि हो । यसरी संबैधानिक र मानव विकासको दुबै दृष्टिकोणबाट शिक्षा प्रतिको हाम्रो दायित्व र जिम्मेवारी अझ बढ्न गएको छ ।
विद्यालय उमेरका बालबालिकाको शिक्षा प्राप्तिको नैसर्गिक अधिकारको सुनिश्चितताको लागि गत विगत देखि नै शिक्षा विभागले जिल्ला तहमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ तथापि विद्यालय उमेरका केही बालबालिकाहरु अझै पनि विद्यालय बाहिर रहेको आँकडाले देखाउँछ । ती सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरी शिक्षाको अवसर उपलब्ध गराउनु हामी सबैको दायित्व हो ।
यसै सन्दर्भमा शिक्षा विभाग सानोठिमीबाट यो वर्ष पनि “हामी सबैको इच्छा,सर्वसुलभ विद्यालय शिक्षा” भन्ने मुल नाराका साथ भर्ना अभियान सञ्चालन गर्न निर्देशन भैसकेको छ । सोही निर्देशन बमोजिम सिन्धुली जिल्लामा पनि आधारभूत शिक्षा सुनिश्चितताको लागि विद्यार्थी भर्ना अभियान २०७३ लाई व्यवस्थित,परिणाममुखी र मुख्य लक्षित समूहसम्म लैजाने गरी सरोकारवालाहरुको बैठकबाट कार्यक्रमहरु तय भएका छन ।  राष्ट्रिय कार्यक्रम र जिल्ला तहका कार्यक्रमहरुलाई सँगसँगै जोडेर बढी भन्दा बढी उपलब्धिमूलक ढंगले भर्ना अभियानलाई अघि बढाउन सबैको तत्परता र सहयोग प्राप्त भएको छ ।
विद्यालय उमेरका बालबालिकाहरुलाई विद्यालय भर्ना गरी टिकाई राख्ने यस अभियानमा जिल्ला शिक्षा कार्यालय र सहयोगी संघ संस्थाहरुका प्रयत्नले मात्र पर्याप्त हुदैन । त्यसर्थ यस अभियानमा सहभागी भै  सार्थक र सफल बनाउन सम्पूर्ण विद्यालयहरु, नाागरिक समाज,शिक्षकका पेशागत संस्थाहरु,विद्यार्थी संगठनहरु,राजनैतिक दलहरु,सञ्चारकर्मीहरु,शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु ,स्थानीय निकायहरु लगायत सबैमा सहयोगका लागि जिल्ला शिक्षा कार्यालय सिन्धुली हार्दिक अनुरोध गर्दछ ।
मुख्य कार्यक्रमहरु 
१. पहिलो चरण. यही बैशाख २ गते देखि १४ गते सम्म विद्यार्थी भर्ना र उक्त अवधिमा भर्ना हुन आउने विद्यार्थीलाई मुस्कान सहितको फूल अविर तथा स्थानीय संस्कृति अनुसार विद्यालयमा  स्वागत गर्ने । 
२.दोश्रो चरण बैशाख १५ देखि ३० गते सम्म पहिलो चरणमा भर्ना हुन नसकेका विद्यार्थीहरुको घर घरमा पुगी विद्यालय उमेरका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्ने गराउने । 

जिल्ला शिक्षा कार्यालय, सिन्धुली
सहयाेगीः एकीकृत अखिल नेपाल शिक्षक संगठन, सिन्धुली 




0 comments

Write Down Your Responses