Powered by Blogger.
विकास माग्दै सिन्धुलीका नेताहरु सिंहदरबारमा

खुर्कोट–चियाबारी सुरुङ्ग मार्ग र वीपी राजमार्ग विस्तारको माग 

प्रधामन्त्री अाेलीसँग भेटपछि सामुहिक तस्विर खिचाउँदै नेताहरू । 
बुद्धकुमार आछामी
सिन्धुली, ३ वैशाख । जिल्लाको समग्र विकासका लागी सधै मिलेरै अगाडि बढ्ने प्रतिबद्धताका साथ काम गरिरहेका जिल्लाका मुख्य तीन ठुला पार्टीका सांसद तथा नेताहरु सामुहिक रुपमा प्रधानमन्त्री कार्यालयमा पुगेर जिल्लाको विकासका लागी विभिन्न् मागहरु पेश गरेका छन । 
प्रधानमन्त्री केपी ओलीसँग विशेष गरी धुलिखेल–खुर्कोट वीपी राजमार्गलाई विस्तार गरी चार लेन बनाउने, खुर्कोट–चीयाबारी सुरुङ्ग मार्गको निर्माण गर्ने, चुरे संरक्षण गरी कमला र मरीणखोलाको उर्वर भुमीलाई प्रयोगमा ल्याउने योजना लिएर गएको एकीकृत नेकपा(माओवादी)का जिल्ला अध्यक्ष राजन दाहालले बताए । त्यस्तै कोखाजोर खोलाको हाइड्रोपावर निर्माण, जिल्लामा प्राविधिक विश्वविद्यालय निर्माण र जिल्लाको समग्र क्षेत्रको विकासका लागी आउने बजेटमा बृद्धि गरिदिनको लागी प्रधानमन्त्रीसँग विशेष आग्रह गरिएको अध्यक्ष दाहालले जानकारी दिए ।  
प्रधानमन्त्री ओलीलाई भेट्न जिल्लाका सांसद मोहन प्रसाद बराल, गणेश कुमार पहाडी, नेपाली काग्रेसका जिल्ला सभापति उज्जवल बराल, नेकपा(एमाले)का जिल्ला अध्यक्ष प्रदिप कट्वाल, एकीकृत माओवादीका जिल्ला अध्यक्ष राजन दाहाल, एमाले नेता कमलजंग राई र नेत्री गोमा देवकोटा पुगेका थिए । उनीहरुले जिल्लाको समग्र विकासको योजनाको प्रस्ताव सहित आउँदो वर्षको सरकारको निती कार्यक्रम तथा बजेटमा ती योजनाहरु समावेश गरिदिन आग्रह गरेका हुन ।  
प्रधानमन्त्री ओलीले आफ्ना मागहरुलाई सकारात्मक रुपमा लिएको र धुलिखेल खुर्कोट सडकलाई चार लेनको बनाउने र खुर्कोट–चीयाबारी सुरुङ्ग मार्ग निर्माण गर्ने योजना आउने आर्थिक वर्षनै सरकारले सम्बोधन गर्ने आश्वासन प्रधानमन्त्रीले दिएको नेकपा(एमाले) सिन्धुलीका अध्यक्ष प्रदिप कट्वालले बताए । 
त्यस्तै प्रधामन्त्रीको अलावा विभिन्न् मन्त्रालय पुगेर नेताहरुले सिन्धुलीको विकासका लागी विभिन्न् योजनाहरु प्रस्ताव गरेका छन । राष्ट्रिय योजना आयोग, विभिन्न् मन्त्रालय र मन्त्रीहरुसँग भेटेर सरकारको बजेट तथा कार्यक्रममा जिल्लाका योजनाहरु समावेश गर्न आग्रह गरिएको समेत अध्यक्ष कट्वालले जानकारी दिए । डेलिगेसन पछि भुकम्पका कारण फ्रिज भएको जिल्लाका विभिन्न् योजनाहरुको तीन करोड भन्दा बढी रकम समेत फिर्ता आउने भएको नेताहरुले बताएका छन । 
नेताहरुको यी मागहरुलाई प्रधानमन्त्रीले साच्चै सकारात्मक रुपमा लिएर सम्बोधन गरिदिएमा जिल्ला निक्कै अगाडि पुग्ने स्थानीय बुद्धिजीवीहरु बताउछन । वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र हेटौडा–चतरा मार्ग र लोडसेडिङ्ग मुक्त बनेका कारण निक्कै सुन्दर बनेको सिन्धुली अझ सुन्दर बन्ने निश्चित छ । तर विकासका गतिविधीहरु अगाडि बढ्दै जाँदा हुन सक्ने भ्रष्टाचार, अनियमितता र अराजकतालाई भने नियन्त्रणमा ल्याउन जरुरी छ । ऐतिहासीक महत्व बोकेको सिन्धुली जिल्लालाई तत्कालीन सोच भन्दा पनि दिगो सोचका साथ विकासलाई अगाडि बढाउन रहेको विश्लेषकहरु बताउछन । 
संभावनाहरुले भरिएको सिन्धुली जिल्लालाई अझ ब्यवस्थित बनाउन दलहरुमा देखिएको प्रतिबद्धता र एकतालाई सकारात्मक रुपमा सवैले लिनुपर्ने र सवैले सहयोग गर्नुपर्ने विकासप्रेमी सर्वसाधारणहरुको भनाई रहेको छ । 


, ,

0 comments

Write Down Your Responses