Powered by Blogger.
आगलागी पछि सुत्केरी र गर्भवती समस्यामा

राजन गाउँले
आगलागी बाट जल्दै गरेको भुवनेश्वरीको दलित वस्ति ।
सिन्धुली ४, बैशाख । भुवनेश्वरी–७, रित सिन्धुलीकी अस्मिता विकलाई यतीवेला आफ्नो भन्दा काखको छोराको बढी चिन्ता छ । चार दिनकी सुत्केरी विकलाई छोराको स्वास्थ्यमा समस्या देखा पर्न थालेपछि चिन्ता थपीएको हो । 
गत शुक्रबार बस्तिनै सखाप हुने गरी आगो लाग्दा घरगोठ संगै अन्नपात लत्ताकपडा गाइबस्तु केही बाँकी नरहेपछि उक्त आगलागीको भोलीपल्ट शनिवार खुल्ला आकाशमुनी बारीको पाटोमा विकले छोरो जन्माएकी थिन् । 
तर, आगलागीपछि घरबारसबै सक्कीदा चारदिनको बच्चालाई सेक्ने न्यानो कपडा, सेक्ने तेल, चिसो र हावाहुरीबाट छेक्ने झुपडीसम्म बाँकी नहुँदा बुच्चामा विभिन्न प्रकारका संक्रमणहरु देखा पर्न थालेपछि उनलाई अहिले चिन्तामाथी चिन्ता थपीएको छ ।
उनको त कुरै छाडौं सुत्केही हुँदा देखीको चारदीनसम्म एक सरो फेर्ने कपडाको समेत बन्दो बस्त गर्न सकेको छैन् । विकले अहिले तातो र मिठोको त कुरै छाडौं, न पेटभरीसम्म खान नै पाएकी छिन् । न स्वास्थ्यमा हेरचाहानै गर्न । 
‘मेरो त केही चिन्ता थिएन् । छोरालाई बचाउन पाए हुन्थ्यो । पुरै बस्ती जलेर सकिँदा पनि छोरालाई बचाउन एक घण्टासम्मको दुरी हीडेर जोग्गीए । तर अहिले जन्म दिएपछि बचाउन मुस्कील भएको छ,’ विकले अन्नपूर्णसंगको टेलीफोन सम्पर्कमा दुखेसो सुनाइन् । गत शुक्रबारसाँझ भुवनेश्वरीको वडा नम्बर १, २, ७ र ९ मा भिषण आगलागी भएर रीत, थाङ्ग्रे, मुर्कीबेसी लगायतका दलित बस्ति पुरै ध्वस्त हुँदा उनी प्रसव पिडामा छटपटाइ रहेकी थिन् । 
उनले भनिन्, ‘बस्ती धमाधम बल्दै थिए । मलाई प्रसव पिडा सहि नसक्नुको थियो । हेर्दा हेर्दै मेरो घरको छानोपनि सल्कन थाल्यो । आगो निभाउने कुनै उपाय थिएन् । रातभर बारीमा प्रसाव भएपछि विहान चार बजे छोरा जन्मीयो । तर, घरमा भएका सबै सरसामान जलेर नष्ट भइ सकेको थियो । छोरालाई सेक्ने न्यानो कपडासमेत बाँकी रहेन । छोरालाई जोगाउँनै मुस्कील भयो ।’
आफुलाई र बच्चालाई ज्वरो आएको, रुघाखोकी लागेको, बच्चाले छेर्न थालेको, आँखा पाक्न लागेको उनले सुनाईन् । स्थानीय चिकित्सकले समेत उनको बच्चाको स्वास्थयमा गम्भीर समस्या आइसकेको भन्दै तत्काल उपचारका लागि अनेत्र लैजान सुझाव दिएको विकका श्रीमान् कुमार विकले सुनाए । 
उनले भने, ‘घरमा बस्ने बास छैन् । खाने, लाउने केही बाँकी रहेन् । चारदिन देखी सुत्केरीलाई बारीको पाटोमा चिसोमा राख्नु परेको छ । खल्तीमा एक रुपैयाँ छैन् कसरी छोरालाई बचाउनु । श्रीमतिको समेत अवस्था नाजुक भइसक्यो ।’ चार दिनको सुत्केरी अस्मिताको समेत स्वास्थयमा समस्या देखा पर्दै गएको बताइएको छ । उनको शरिर सुन्निने रगत धेरै बग्ने जस्ता समस्या आएको श्रीमान् कुमारले बताए । 
  अस्मिताको जस्तै भुवनेश्वरी–९, थाङ्ग्रेकी बालकुमारी तिमल्सेना सार्कीको पनि उस्तै हालत छ । २७ दिनकी सुत्केरी सार्कीको आमा र बच्चा दुबैको स्वास्थ्यमा समस्या देखा पर्न थालेको छ । आगलागीका कारण घरसंगै सबै सम्पती सक्कीएपछि चारदिनदेखी चिसोमै बस्नु पर्दा बच्चा र आमा दुबैमा समस्या देखा पर्न थालेको सार्कीले बताइन् ।
उनी घर आगलागी पछि उनीपनि बारीमा टाँगेको त्रिपालमा बस्न थालेकी छिन् । ‘आगलागीपछि जलेका गाइ बस्तु, जंगलका चाराचुरुङ्गी, त्यसबाट निस्कने धुँवा धुलो तथा विषाक्त हावाहुरीका  कारण आफु र बच्चाको स्वास्थ्यमा समस्या आएको छ,’ उनले भनिन् ।
घर आगलागी पछि खानकै समस्या भएको उनको भनाई छ । गाउँका सबै बस्ति आगलागीबाट नष्ट भएपछि छरछिमेकमा आश्रय लिने र खानको लागि अ‍ैचौ पैचो लिनसमेत कसैसंग केही बाँकी नहुँदा समस्यानै समस्या भएको उनिहरुले बताएका छन् । आगलागी पछि गाउँका अन्य सुत्केरी र गर्भवती तथा ससाना बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर समस्या देखा पर्दै गएको छ । आगलागी भएको उक्त दलित बस्तिमा मात्र चारजना सुत्केरी र ६ जना गर्भवती तथा एक सय बढी बालबालिकाहरु रहेको बताइएको छ । उनिहरु सबैमा खान, लाउन, चिसोबाट बस्न र रातकाट्नकै समस्या भएको स्थानीय गौरव कार्कीले जानकारी दिए । ‘आगलागीपछि सबै परिवारका त्रिपाल र खुल्ला आकाश मुनी बस्न बाध्य भएका कारण उनिहरुमा समस्या बढ्दै गएको हो,’ कार्कीले भने ।
आगलागी भएको बस्तिमा तत्काल स्वास्थ्य उपचार क्याम्प, राहत तथा न्यानो कपडा र व्यवस्थित अस्थायी टहरोको व्यवस्थापनका लागि सबैले सहयोग गर्नु पर्ने आवश्यकता रहेको कार्कीको सुझाव छ । गत शुक्रबार भएको आगलागीमा उक्त दलित बस्तिमा ६५ बढी घर जलेर नष्ट भएका थिए । आगलागीपछि सबै परिवारमा खाना, नाना र छानाको समस्या सिर्जना भएको पिडितहरुले जनाएका छन् ।



,

0 comments

Write Down Your Responses