Powered by Blogger.
अगलागी पिडितको पुनर्वासका लागि १८३ वण्डल जस्ता वितरण

राजन गाउँले
सिन्धुली ७, बैशाख । गत चैत्र २६ गते भएको आगलागीबाट घरबार गुमाएका जिल्लाको भुवनेश्वरी स्थित दलित बस्तिका आगलागी पिडितहरुको पुनर्वासका लागि जस्ता वितरण गरिएको छ । 
सिन्धुलीका समाजसेवी उज्वल विक्रम थापाले व्यक्तिगत पहलमै ४५ घरधुरीलाई चारचार बण्डलका दरले एक सय ८० वण्डल र एउटा विद्यालयका लागि दुई झण्डै तिन बण्डल गरी एक सय ८३ बण्डल जस्तापात वितरण गरेका हुन् । 
आगलागीका कारण घर लगायत सबै सरसामाग्री जलेर नष्ट भएपछि खुल्ला आकाश मुनी बस्दै आएका पिडितहरुलाई थापाको एक्लो प्रयासमा झण्डै १२ लाख रुपैयाँ बराबरको जस्ता पाता वितरण गरिएको हो । 
जिल्लाका अग्रणी समाजसेवीका रुपमा परिचित थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत हुन् । जिल्लामा बस्ती नै सकिने गरी आगलागी भएको खबर थाहापाएपछि आफुले विभिन्न निकायसंग अनुरोध गरेर अस्थायी टहरो निर्माणका लागि पिडित दलित परिवारलाई जस्ता वितरण गरेको थापाको भनाई छ । 
‘हाल अस्थायी टहरो निर्माण र पछि घर पुनर्निर्माणका लागि समेत पुग्ने गरी प्रति परिवार चारचार बण्डलका दरले राम्रो जस्ता दिएका छौ,’ थापाले भने ।
आगलागीबाट जलेर नष्ट भएको कालिका प्राविका लागि समेत १४ थान जस्ता उपलब्ध गराएको उनले जनाए । उनले भने, ‘प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की तथा स्थानीय राजनीतिक दलहरुसंगको समन्वयमा पिडितहरुलाई तत्काल जस्ता पाता उपलब्ध गराउँदा ठुलो सहयोग पुग्ने सरसल्लाह भएपछि आफुले पिडितहरुका लागि जस्ता उपलब्ध गराउन प्रयत्न गरेपछि जम्मा भएको जस्ता पिडितहरुलाई आगलागीले जलेर नष्ट भएकै दलित बस्तीमा पुगेर वितरण गरेका छौं ।’ 
अन्य संघ संस्थाहरुले खाद्यान्न लगायतका सरसामाग्री राहत स्वरुप दिएपछि आफुहरुले जस्ता दिएको उनले बताए । पिडितहरुलाई जस्ता दिएपछि उनिहरुको अस्थायी टहरो निर्माणका लागि नेपाली सेनासंग अनुरोध गरीएको र सेनाले सघाउने बताएको थापाले उल्लेख गरे ।
आगलागीबाट  भुवनेश्वरीको वडा नं. ७ को मुर्की बेसी, वडा नम्बर ९ को थाङ्ग्रे, रित लगायतका दलित बस्तिका ४५ परिवारको ६५बढी घर गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट दलित बस्तिनै सखाप हुँदा सुत्केरी, गर्भवती तथा बालबालिकाहरुलाई बस्न समस्या भएको थियो । जस्ता पाएपछि पिडितहरु भने निक्कै खुसी भएका छन् । ‘आगलागीपछि १२ दिनदेखी खुल्ला आकाश मुनी र त्रिपालको भरमा बस्दै आएपनि अव भने अस्थायी टहरो नै भएपनि बनाउन सहयोग पुगेको छ,’ आगलागी पिडित बलबहादुर सार्कीले भने ।
थापाले गत बैशाख १२ गतेको भुकम्प पछि पनि जिल्लामा एक्लो प्रयासबाट पाँच करोड रुपैयाँबढीको राहत सामाग्री संकलन गरी लयाएर पिडितहरुलाई वितरण गरेका थिए ।


0 comments

Write Down Your Responses