Powered by Blogger.
नगरपालिकाकाे काममा अवैध रुख कटान

अवैध रुपमा कटान गरीएकाे काठ । 
सिन्धुली ११ वैशाख । कमलामाइ नगरपालिकाको कार्यालयले उपभोक्ता मार्फत गराएको डम्पीङ साइडको काममा स्वीकृत विनानै दर्जनौं हरिया सालको रुख कटान भएको पाइएको छ । डम्पीङ साइड निर्माण उपभोक्ता समितिले, नगरपालिका र जिल्ला वन कार्यालयका कर्मचारीहरुसंगको मिलेमतोमा झण्डै एक दर्जनबढी सालका रुखहरु रातारात काटेको पाइएको हो । 
कमलामाई नगरपालिका– ४ स्थित कालिका सामुदायिक वन क्षेत्र भित्र डम्पीङ साइड निर्माणका लागि जेसीवी लगाएर फिल्ड निर्माण गर्दा उक्त वन क्षेत्र भित्र साना ठुला गरी एक दर्जनबढी सालका रुख काटीएको हो ।
उक्त वन क्षेत्रमा रुख काट्न वन मन्त्रालयले नै रोक लगाई रहेका बेला वन कार्यालय, नगरपालिका र निर्माण उपभोक्ता समुहका पदाधिकारीको मिलेमतोमा रातारात रुख कटान गरी लुकाएको कालिका सामुदायीक बन समुहका एक उपभोक्ताले जानकारी दिए ।
उनले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘वन कार्यालयले समेत उक्त क्षेत्रमा काठ कटान गर्न स्विकृती दिएको भन्ने सुनिन्छ तर, कतिको स्वीकृती दिएको हो, होइन भन्ने जानकारी छैन् । तर, फिल्ड निर्माण गर्ने क्रममा ५ वटा ठुला र अन्य आधा दर्जनको हाराहारीमा साना सालका लाथ्रा कटान भएको छ ।’
नगरपालिकाको २८ लाख र स्थानीय श्रमदान गरी कुल ३५ लाख रुपैयाँको लागतमा उक्त क्षेत्रमा डम्पीङ साइड निर्माणको काम भइरहेको छ । उक्त काममा स्टमेट अनुसार समेत नभएको बुझिएको छ । तर, नगरपालिकाका कर्मचारीहरुले नै निगरानी नगर्दा उपभोक्ता समितिले लापरबाही गरेको आरोप छ । यस अघि निर्माणका कामहरुमा समेत चरम लापरबाही हुँदा डम्पीङ साइड निर्माणमा खर्चिएको करोडौं रुपैयाँ उपलब्धीहिन बनेको स्थानीयहरुले आरोप लागाउँदै आएका छन । 
यस विषयमा बुझ्दा उपभोक्ता समितिका सचिव पदमबहादुर मगरले वन कार्यालयको स्विकृती र नगरपालिकाको स्टमेट अनुसारकै रुख काटेको उल्लेख गरे । साइडमै काटेको रुखहरु असरल्ल अवस्थामा देखिन्छ । धेरै जसो काठहरु रातारात समितले छापछुप पारेको आरोप छ । मगर भने उक्त कुरामा कुनै सत्यता नभएको जिकिर गर्छन् । काम स्टमेट अनुसार नै गरेको भएपनि रुख भने खन्दै जाँदा साना तिना एक दुई वटा पुरीएको हुन सक्ने उनले बताए ।
यस विषयमा सहायक जिल्ला वन अधिकृत रामएकवाल जैसवालले भने स्वीकृतकै आधारमा काठ काटेको दावी गरे । तर, वनले दुई वटामात्र रुख काट्न स्वीकृती दिएको भन्दै त्यस बढीको संख्यामा काठ कटान भएको जानकारी नभएकोले छिट्टै बुझ्ने उल्लेख गरे ।
कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत जगतप्रसाद भुषालले भने  काठ काट्ने नकाट्ने भन्ने कुरा वन कार्यालयसँग सम्बन्धित भएकाले आफुलाई सबै कुरा थाहा नभएको बताए । उनले भने, ‘काठ काट्ने विषयमा यस अघि नै वन कार्यालयले स्वीकृती दिएको थिएन । पछि के भयो थाहा भएन् ।’ 
वन कार्यालयले भने भुकम्प पिडितहरुका लागि भन्दै गैर कानुनी तरीकाबाट उक्त समिति क्षेत्र भित्रका हरियो सालको रुख काट्न अनुमति दिएको अर्को एक स्रोतले जानकारी दिएको छ । उपभोक्ता समितिको स्वीकृत कार्ययोजनामा भने उक्त डम्पीङ साइड भित्रको रुख भुकम्प पिडितका लागि कटान गरी वितरण गर्ने भन्ने बारेमा कुनै उल्लेख छैन् । 
उता स्थानीयले भने स्वीकृती विनानै केकती काठ काटीएको हो उक्त विषयमा सत्य तथ्य पत्ता लगाई कारबाही हुनु पर्ने माग गरेका छन् । 


,

0 comments

Write Down Your Responses