Powered by Blogger.
पूर्वविद्यार्थीहरूकाे पहलमा बन्दैछ प्रगतिशिल

सिन्धुली, २८ बैशाख– भूकम्प गएको वर्ष दिनपछि यति बेला मुलुक पुनःनिर्माणमा जुटेको छ । सम्पूर्ण जनता सरकारले कति बेला घर बनाइदेला र नयाँ घरमा बसौला बन्दै कुरिरहेका छन् ।
तर झाँगाझोली–रातमाटास्थित प्रगतिशील उच्च माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका पूर्व–विद्यार्थीले भने सरकारको प्रतीक्षा गर्नुको सट्टा आफैले विद्यालयको नयाँ भवन निर्माण कार्य सुरू गरेका छन् ।
‘सबै कुरा सरकारले गरिदेला भन्ने होइन, हामी आफैँले पनि गर्न सक्छौँ र गर्नुपर्छ भन्ने उद्देश्यका साथ यस विद्यालयबाट एसएलसी उत्तीर्ण गर्ने सम्पूर्ण विद्यार्थीको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गर्न लागिएको हो’– प्रगतिशील उच्च मावि भवन निर्माण तथा विद्यालय विकास समितिका अध्यक्ष तथा पूर्व विद्यार्थी नवराज श्रेष्ठले भने । 


रु एक करोड ५० लाखको लागतमा निर्माण गर्न लागिएको उक्त भवनका लागि अहिलेसम्म पूर्व विद्यार्थीको पहलमा रु ७० लाख सङ्कलन गरिसकिएको छ । 

‘जतिबेला पनि सरकारले गरिदिएन भन्नुभन्दा पनि प्रगतिशील उच्च माविका पूर्व विद्यार्थीले गरेजस्तै भूकम्प प्रभावित सबै स्थानमा भूकम्पले भत्काएका भवन वा संरचनालाई पुनःनिर्माण गर्न युवा स्वतःस्फूर्त लाग्नुपर्छ, हामी आफैँले गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि यो कामको थालनी गरिएको हो’ – पूर्व विद्यार्थी, आर्किटेक्ट तथा प्रगतिशील माविको नयाँ भवन कन्सेप्ट डिजाइनर राज श्रेष्ठले भने ।

पूर्व विद्यार्थीको पहलमा सुरु गरिएको आर्थिक सहयोग संकलन कार्यमा विभिन्न स्वदेशी र विदेशी संघसंस्थाको पनि सहयोग आउने क्रम जारी रहेको छ । अहिलेसम्म प्रोजेक्ट रिबिल्ड नेपालको तर्फबाट प्रिजा नेपाली श्रेष्ठ र विजेता जोशीले पुनःनिर्माण तथा विकास समितिलाई रु १२ लाख हस्तान्तरण गरे ।

 त्यसैगरी, आर्किटेक्ट तथा पूर्व विद्यार्थी श्रेष्ठकै विशेष पहलमा जर्मनीबाट प्राप्त आने टन्स्मानको चार हजार ८८ युरो र लायन्स क्लब अफ राहदेन–एस्पल्काम्पको तीन हजार युरो गरी करिब रु आठ लाख बराबरको रकम पनि हस्तान्तरण गरिसकिएको छ । पूर्व–विद्यार्थी समूह २०५४ ले पनि हालसम्म संकलित रकम रु दुई लाख ५० हजार विद्यालय भवन निर्माणमा सहयोग गरेको छ । समितिका अध्यक्ष श्रेष्ठले आर्थिक सहयोगका लागि पूर्व विद्यार्थी र सरोकारवाला सबैसँग आग्रह गरे । 

विसं २०७२ वैशाखको शक्तिशाली भूकम्पले विद्यालय भवन पूर्णरुपमा क्षति भएपश्चात् त्यहाँ अध्ययनरत करिब ७०० विद्यार्थी अझै पनि रातोमाटोको भुइँमा बसी, बाँस र जस्ताले बारिएको टहरामा बसेर पढ्न बाध्य छन् । राजधानी काठमाडौँबाट करिब ९० किलोमिटर पूर्व र सदरमुकाम सिन्धुलीमाढीबाट ६० किलोमिटर उत्तरपश्चिममा गर्ने झाँगाझोलीमा अवस्थित सो विद्यालय नजिकै सुनकोसी नदी रहेको छ । 

सो विद्यालयका पूर्व प्रधानाध्यापक तथा नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशवप्रसाद भट्टराईको प्रेरणामा पूर्व–विद्यार्थीबाट आर्थिक सहयोग संकलन कार्य थालनी भएको आर्किटेक्ट तथा पूर्व विद्यार्थी श्रेष्ठले जानकारी दिए । 

विभिन्न एसएलसी समूहका विद्यार्थीको स्वतःस्फूर्त सहभागितामा भवन निर्माणका लागि आवश्यक रकम संकलन गरिने र विद्यालयको नाममा रहेको करिब ६४ रोपनी जग्गामध्ये हाल दुई रोपनी क्षेत्रफलमा १० कोठे (६,१०० वर्ग फिट) आधुनिक भवन निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिने विद्यालय विकास समितिका सदस्य सरोज ताम्राकारले जानकारी दिए । 

वरिष्ठ इन्जिनियर दीपक भट्टराई, शरण राजवंशी, दिलीपकुमार गासी, डा नारायण श्रेष्ठ, आर्किटेक्ट मञ्जु गासी तथा कन्सेप्ट डिजाइनर राज श्रेष्ठको सहयोगमा डिजाइन गरिएको विद्यालय भवन जिल्लाकै नमुना विद्यालयको रुपमा विकास गरी सिन्धुली, रामेछाप र काभे्र जिल्लाका विद्यार्थीलाई उत्कृष्ट शिक्षा प्रदान गर्न सकिने विश्वास प्रधानाध्यापक चक्रबहादुर श्रेष्ठले व्यक्त गरे । 

विसं २००८ मा निमावि तहबाट पढाइ सुरू भएको सो विद्यालय २०२२ सालमा मावि र ५४ सालदेखि उच्च मावि तहको समेत पढाइ हुँदै आएको छ । 

सोमबार कृषि विकास मन्त्री हरिबोल गजुरेलले सो भवनको शिलान्यास गर्दै निर्माण सुरू गरिसकेपछि बीचमा आवश्यक पर्ने आर्थिक सहयोगका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


,

0 comments

Write Down Your Responses