Powered by Blogger.
निजी विद्यालयको होस्टलमा असुरक्षित बन्दै विद्यार्थीहरु


बिजयकिल्ला ब्यूराे 
सिन्धुली, ३ जेठ । शिक्षा ऐन, नियमावली र निर्देशीका विपरीत मनोमानी चलेका जिल्लाका निजी विद्यालयहरुका होस्टलमा विद्यार्थीहरु असुरक्षित बन्दै गएको पछिल्ला घटनाक्रमहरुले पुष्टी गर्दै गएको छ । आवाशीय सुविधा सहित सञ्चालन भईरहेका निजी विद्यालयहरु सरकारी निती नियम र निर्देशीकाको बेवास्ता गर्दै मापदण्ड विपरीत चलिरहेका छन भने महंगो लगानी गरेर आफ्ना छोराछोरीको भविष्य निर्माणका लागी होस्टल भर्ना गरीएका विद्यार्थीहरु पनि विद्यालय प्रशासन र शिक्षकहरुबाटै असुरक्षित बन्ने गरेका छन । 
गुणस्तरिय शिक्षा प्रदान गर्ने नाममा विद्यार्थीहरुलाई निजी विद्यालयहरुले कडा यातना दिने गरेको र उक्त यातनाका कारण कतिपय अवस्थामा विद्यार्थीहरु शारीरीक तथा मानशीक रुपमै समस्यामा पर्ने गरेको तथ्यहरु सिन्धुली जिल्लाका लागी नयाँ विषय होइनन् । यातनाकै कारण कतिपय विद्यार्थीहरुले गम्भीर खालका समस्याहरु समेत भोग्नु परीरहेको अवस्था छ भने कतिपय विद्यार्थीहरु विद्यालय छाडेर हिड्ने अवस्थामा समेत पुग्ने  गरेका छन । 
अघिल्लो सातामात्र सिन्धुलीमा सञ्चालित सुर्योदय आवाशीय उमाविको होस्टलबाट विद्यालय प्रशासनको गम्भीर लापरवाहिका कारण कक्षा ८ मा अध्यनरत विद्यार्थी हराएको र झण्डै एकसाता पछि पुन भेटिएको घटना सेलाउन नपाउँदै फेरी जिल्लामा सञ्चालित निक्कै प्रतिष्ठीत निजी विद्यालय भगवती आवाशीय उमाविको होस्टलमा बसेर कक्षा ९ मा अध्यन गर्ने एक विद्यार्थी आफ्नै शिक्षकको यातनाका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्थामा पुगेको तथ्य सार्वजनिक भएको छ । निजी विद्यालयहरुमा बारम्बार हुने यस्ताखालका घटनाहरुले निजी विद्यालयप्रति अभिभावकको आकर्षण रहेको भएपनि सामाजिक विश्वास र वालवालिकाहरुको आकर्षण भने घट्दै गएको छ । 
निजी विद्यालयहरु कलिला बालवालिकाहरुको लागी सिकाई केन्द्र हो वा कारागार हो भन्ने प्रश्न बारम्बार उब्जीने गरेको छ । गुणस्तरिय शिक्षा प्रदान गर्ने नाममा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन निजी विद्यालयहरुले अपनाउने दण्ड, सजायको विधीले सरकारको भयरहित र दण्डरहित शिक्षाको अवधारणालाई धज्जी उडाउँदै गएको छ । 

शिक्षकको पिटाईका कारण भगवती होस्टलका विद्यार्थी घाइते 

गत सनिबार भगवती आवाशीय उमाविको होस्टलमा बसेर कक्षा ९ मा अध्यन गरिरहेका १५ वर्षिय विद्यार्थी कुशकुमार यादब विद्यालयका कम्प्यूटर शिक्षक साजन सापकोटाको यातनाका कारण घाइते भई अस्पताल भर्ना हुनुपर्ने अवस्थामा पुगेको तथ्य सार्वजनिक भएको छ । गृहकार्य नगरेको भन्दै शिक्षक सापकोटाले यातना दिदा खुट्टाको लिगामेन्ट टुट्न पुगेका विद्यार्थी यादव हाल उपचारको क्रममा अञ्चल अस्पताल जनकपुरमा रहेको उनका बावु रामबावु यादबले बताएका छन । 
सोमबार न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा विद्यालय प्रिन्सीपल कृष्ण उप्रेती र शिक्षक साजन सापकोटा बिरुद्ध केहि सार्वजनिक अपराध सम्बन्धी मुद्धा दर्ता गराउन आएका अभिभावक यादबले छोरोलाई गुणस्तरिय शिक्षा प्रदान गर्न मंहगो शुल्क तिरेर होस्टलमा राखेको भएपनि विद्यालयको लापरवाहिका कारण आफ्नो छोरो अस्पतालमा पुग्नु पर्ने अवस्थामा पुगेकोमा दुःख ब्यक्त गरे ।  
आफुले हरेक शनिबार छोरासँग कुराकानी गर्दै आएको र १ गते पनि फोन गर्दा छोरालाई सम्पर्क गराउन विद्यालय प्रशासनले आनाकानी गरेपछि संका लागी दिउँसो आफु विद्यालय आइपुग्दा छोरो घाईते अवस्थामा भेटिएको  विद्यार्थीका बावु यादवको भनाई छ । 
बिद्यालयले घटनाको बारेमा ढाट्दै भरयाङ चढ्दा खुट्टा मरकीएको भनेर आफुलाई घटनाको बारेमा ढाटेको कारण विद्यालयको नियत बेठिक लागेको उनले बताए । घाईते छोराको गुणस्तरीय उपचार गराउनुपर्ने र लागेको खर्च विद्यालयले तिरीदिनुपर्ने उनले माग गरेका छन । सनिबार नै विद्यालयले उपचारमा लागेको खर्च ब्यहोरीदिने सहमति भएको भएपनि विद्यालयले उपचार गर्ने खर्च नदिएर उल्टै विभीन्न् शक्ति प्रयोग गरेर टार्ने प्रयास गरेको अभिभावक यादवको आरोप छ । 
पीडित अभिभावक र विद्यालय प्रशासन वीच सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा भएको छलफलमा घाईते विद्यार्थीको उपचारका लागी विद्यालयको तर्फबाट ७० हजार रकम उपलब्ध गराउने सहमति भएपछि पीडितका बावु रामबावु यादबले मुद्धा दर्ता नगराएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सोमबार प्रहरी उपरीक्षक उमासंकर पंजीयार, जिल्ला शिक्षा अधिकारी बद्रि पाठक, विद्यालय सञ्चालक र पीडितपक्षहरु बसेर छलफल गरिएको जनाइएको छ । 
विद्यालयका प्रिन्सिपल कृष्ण उप्रेतीले भने विद्यालयको कमजोरी भएको स्वीकार गर्दै बालकको उपचारमा विद्यालय जिम्मेवार भएर लागीरहेको बताए । अभिभावकले लगाएको सबै आरोपमा सत्यता नभएको र विद्यार्थीको उपचारमा विद्यालयको तर्फबाट गर्नुपर्ने सवै जिम्मेवारी पुरा गर्न आफुहरु तयार रहेको बताए । 
जनकपुर अञ्चलमै गुणस्तरिय शिक्षा प्रदान गर्ने विद्यालयको रुपमा स्थापित बनेको भगवती आवाशीय उमाविको होस्टलमा तराई जिल्लाका विद्यार्थीहरु बढी रहेका छन् । विद्यालयको होस्टलमा झण्डै ७० प्रतिशत भन्दा बढी विद्यार्थी तराई मुलका नै रहेको जनाइएको छ । 


,

0 comments

Write Down Your Responses