Powered by Blogger.
सिन्धुलीका दर्जनौं गाउँहरुमा खानेपानिको हाहाकार


सिन्धुली, २० वैशाख । अत्याधिक गर्मी र लामो समय देखि वर्षा नहुँदा सिन्धुलीको उत्तरी गढतिर क्षेत्रका दर्जनौं गाउँहरुमा खानेपानीको ठुलो समस्या सिर्जना भएको छ । 
लामो समय देखि वर्षा नहुँदा महाभारत क्षेत्रमा पानीको मुहान सुकेपछि यस क्षेत्रमा पानीको समस्या भएको छ । गढतिर क्षेत्रका कुशेश्वर दुम्जा, झागाँझोली रामाटा, पुरानो झागाँझोली, सित्तलपार्टी, भिमेश्वर, बासेश्वर, भुवनेश्वरी सहित दर्जनौं गाउँहरुमा पानीको समस्या चर्किदै गएको छ । मुहान धमाधम सुकेका छन भने वनमा जतासुकै डढेलो देखिन्छ । सर्वसाधारण धारा र कुवामा घण्टौ लाइन बस्न बाध्य छन । 
पानीको सतह भासिएको कारण कुवा तथा जरुवाहरु सुकेको स्थानीयबासीहरु बताउँछन । ‘पिउने पानीको जोहो गर्नपनि मुस्किल पर्नथाल्यो,’ पुरानो झागाँझोलीका स्थानीय पुर्ण बहादुर बसेलले भने, ‘नुहाउने र सरसफाई त टाढाको विषय भयो ।’ नुहाउनु परे गाउँले लेखदेखी सुनकोशीमा पुग्न बाध्य भएको उनले बताए । पानी अभावकै कारण त्यसक्षेत्रमा खुला शौच समेत बढेको छ । 
पानीको अभावले किसानले मकैमा पानी लगाउन समेत पाएका छैनन । गढतिर क्षेत्रका स्थानीय बद्रिबहादुर दाहालका अनुसार महाभारत जंगल विनास र भुकम्पका कारण पानीको मुहानहरु सुक्न थालेकोले वीपी राजमार्ग आसपासका बस्तीमा पानीको हाहाकार नै मच्चिएको हो । वीपी राजमार्गमा होटल सञ्चालन गरिरहेको होटल व्यवसायीहरु त झन ठुलो समस्यामा परेको झागाँझोली रातमाटामा होटल सञ्चालन गरिरहेका अशोक गीरीले बताए । 
जिल्ला विकास समिति र संसदीय निर्वाचन क्षेत्र विकास कोषको धेरै रकम खानेपानी व्यवस्थापनमा खर्चहुने गरेपनि समस्याको स्थायी समाधान नदेखिएको उत्तरी भेगका बासिन्दाहरु बताउँछन । गाउँ गाउँमा ठुला र दिगो खानेपानी आयोजना निर्माण गरिदिन आम जनसमुदायको माग रहेको छ ।


, ,

0 comments

Write Down Your Responses