Powered by Blogger.
गुणस्तरको नाममा निजी विद्यालयमा विद्यार्थीहरु असुरक्षित



शिक्षकको यातनाले विद्यार्थीको कानको जाली फुट्यो 

सिन्धुली, ३० जेठ । शिक्षा ऐन, नियमावली र निर्देशीका विपरीत मनोमानी चलेका जिल्लाका निजी विद्यालयहरुमा गुणस्तरीय शिक्षाको नाममा विद्यार्थीहरु असुरक्षित बन्दै गएको पछिल्ला घटनाक्रमहरुले पुष्टी गर्दै गएको छ । 
निजी विद्यालयहरु सरकारी निती नियम र निर्देशीकाको बेवास्ता गर्दै मापदण्ड विपरीत चलिरहेका छन भने महंगो लगानी गरेर आफ्ना छोराछोरीको भविष्य निर्माणका लागी होस्टल भर्ना गरीएका विद्यार्थीहरु पनि विद्यालय प्रशासन र शिक्षकहरुको यातनाका कारण असुरक्षित बन्दै गएका छन । 
गुणस्तरिय शिक्षा प्रदान गर्ने नाममा विद्यार्थीहरुलाई निजी विद्यालयहरुले कडा यातना दिने गरेको र उक्त यातनाका कारण कतिपय अवस्थामा विद्यार्थीहरु शारीरीक तथा मानसिक रुपमै समस्यामा पर्ने गरेको तथ्यहरु सिन्धुली जिल्लाका लागी नयाँ विषय होइनन् । यातनाकै कारण कतिपय विद्यार्थीहरुले गम्भीर खालका समस्याहरु समेत भोग्नु परीरहेको अवस्था छ भने कतिपय विद्यार्थीहरु विद्यालय छाडेर हिड्ने अवस्थामा समेत पुग्ने  गरेका छन । 
यसै शैक्षिक सत्रमा सुर्योदय आवाशीय उमाविको होस्टलबाट विद्यालय प्रशासनको गम्भीर लापरवाहि र मानशिक यातनाका कारण कक्षा ८ मा अध्यनरत विद्यार्थी हराएको र एकसाता पछि पुन भेटिएको घटना सेलाउन नपाउँदै भगवती आवाशीय उमाविको होस्टलमा बसेर कक्षा ९ मा अध्यन गर्ने एक विद्यार्थी आफ्नै शिक्षकको यातनाका कारण अस्पताल भर्ना हुनुपरेको तथ्य सार्वजनिक भइसकेको छ भने शिद्धबाबा बोर्डिङ स्कुलको होस्टलबाट विद्यार्थीहरु होस्टल छाडेर हिडेको घटना समेत बाहिर आइसकेको छ । 
यीनै घटनाहरुको श्रृखलाहरुको चर्चा कम हुन नपाउँदै जिल्लाकै अर्को निजी विद्यालय न्यू शिद्धस्थली इंगलिस बोर्डिङ्ग स्कुलमा कक्षा ४ मा अध्यन गर्ने विद्यार्थी शिक्षकको यातनाका कारण श्रवण शक्तिनै गुम्न सक्ने अवस्थामा पुगेका छन । 
उक्त स्कुलको कक्षा ४ मा अध्यन गर्ने भद्रकाली–७ सिन्धुलीका अनिस बम्जन आफ्नै शिक्षकको यातनाका कारण कानको जाली फुटेर श्रवण शक्ति नै गुम्न सक्ने अवस्थामा पुगेका हुन । बम्जनलाई शिक्षक अजय टोपुले गालामा चड्कन हान्दा कानको जाली फुटेको हो । शिक्षकको कुटाई पछि जिल्ला अस्पताल पुगेका बम्जनलाई थप उपचारका लागी डाक्टरले काठ्माडौ रिफर गरेको र काठमाडौ स्थित टिचिङ्ग अस्पतालमा उपचार भइरहेको विद्यार्थीका बाबु भक्त बम्जनले बिजयकिल्ला डटकमलाई बताए । विद्यालयले उपचार खर्च ब्यहोरी दिने भन्दै घटनालाई बाहिर नल्याउन आग्रह गरेको समेत उनको भनाई थियो । आफ्नो पढ्न पठाएको छोरोलाई यातना दिएर घाइते बनाएकोमा आक्रोश व्यक्त गर्दै बम्जनले निजी विद्यालयहरुको मनपरी रोकिदिन सम्बन्धीत निकायलाई आग्रह समेत गरे ।
विद्यालयका प्रिन्सीपल मनोज प्रधानले भने विद्यार्थीमा कानको समस्या आएको भएपनि शिक्षककै कुटाईका कारण समस्या उत्पनन् भएको हो होइन भन्ने कुरा प्रमाणित भइनसकेको बताए । शिक्षकले विद्यार्थीलाई गालामा एक चड्कन हानेको भने उनले स्वीकार गरे । अभिभावकको माग अनुसार थप उपचारका लागी बाहिर पठाइएको र शिक्षकको कमजोरी ठहर भएमा तत्काल कार्वाहीको दायरामा ल्याइने समेत प्रिन्सीपल प्रधानले बताए । 
निजी विद्यालयहरुमा बारम्बार हुने यस्ताखालका घटनाहरुले निजी विद्यालयप्रति अभिभावकको आकर्षण रहेको भएपनि सामाजिक विश्वास र वालवालिकाहरुको आकर्षण भने घट्दै गएको छ । यी घटनाहरुले निजी विद्यालय सिकाई केन्द्र हो वा यातनागृह भन्ने प्रश्न बारम्बार उब्जीने गरेको छ । गुणस्तरिय शिक्षा प्रदान  गर्ने नाममा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन निजी विद्यालयहरुले अपनाउने दण्ड, सजायको बिधीले सरकारको भयरहित र दण्डरहित शिक्षाको अवधारणालाई समेत धज्जी उडाउँदै गएको छ । निजी विद्यालयहरुको मनपरी रोक्नका लागी सम्बन्धीत निकायले प्रभावकारी नियमनको काम गर्नु पर्ने सरोकारवालाहरु बताउँछन । 


, ,

0 comments

Write Down Your Responses