Powered by Blogger.
ठेकेदारको नक्कली कागजातले सामुहिक आवास निर्माणमा ढिलाई

बुद्धकुमार आछामी
सिन्धुली, ३१ जेठ । गोरखा कन्ट्रक्सन प्रालिले ठेक्का प्राप्त गर्न नक्कली कागजात पेश गर्दा भुकम्प पिडितहरुको लागी निर्माण हुन लागेको सामुहिक आवासको निर्माणको काममा ढिलाई हुने निश्चित भएको छ । 
कन्ट्रक्सनले ठेक्का प्राप्ती गर्नका लागी पेश गरेको कार्य अनुभवको प्रमाणपत्र नक्कली भएको निर्माण ब्यवसायीहरुबाटै उजुरी परेपछि गोरखा कन्ट्रक्सनले ठेक्का नपाउने र ठेक्का रद्ध हुने निश्चित भएको छ । कन्ट्रक्सनका कमजोरीका कारण भुकम्प पिडित लाभग्राहीहरु समेत मारमा परेका छन । 
पशु पंक्षी बजार प्रबद्र्धन व्यवस्था निर्देशनालयका कर्मचारीहरु प्रयोग गरी उक्त कन्ट्रक्सनले कार्य अनुभवको नक्कली प्रमाणपत्र बनाउने काम गरेको र सोहि प्रमाणपत्र पेश गरी ठेक्का पाएको भन्दै व्यवसायीहरुले शहरी विकास मन्त्रालय अन्र्तगत जिल्ला आयोजना कार्यान्वयन इकाई र जिल्ला प्रशासन कार्यालयमा छानविन र कार्वाहीको माग गर्दै उजुरी दर्ता गरेका थिए ।  
कपिलाकोट, दुधौली नगरपालिका र कमलामाई नगरपालिकामा निर्माण हुन लागेको सामुहिक आवास निर्माणको लागी गोर्खा कन्ट्रक्सन प्रालिले कुल १२ लाख ४८ हजार ४ हजार ९ सय ९१ रुपैयाँमा निर्माण कार्य सम्पनन् गर्ने कबोल रकम सहित ठेक्का प्राप्त गरेको आशयको सुचना कार्यालयले प्रकाशन गरेपछि उस्को बिरुद्ध उजुरी सुरु भएको हो । 
गोर्खा कन्ट्रक्सन प्रालिले पेश गरेको कार्य अनुभवनको प्रमाणपत्र सरासर झुठ भएको र उस्ले कार्य अनुभवनमा पेश गरेको भवन नेपाल अधिराज्य भर कहिपनि निर्माण नभएको श्रृजना निर्माण सेवाका प्रोपाइटर तथा निर्माण व्यवसायी संघ सिन्धुलीका महासचिब उद्धब दाहालले बताए । 
कन्ट्रक्सनले चार बर्ष अगाडि रुपन्देहिको बुटवल तरकारी बजारमा उक्त भवन बनाएको कार्य अनुभवनको प्रमाणपत्र पेश गरेको जनाइएको छ । कर्मचारीहरुकै मिलेमतोमा नक्कली प्रमाणपत्र तयार पारी  भुकम्प पिडितको नाममा आएको रकम दुरुपयोग गर्न खोजेको भन्दै उक्त कन्ट्रक्सनको सम्पूर्ण कागजातको छानविन गरी कानुनी कार्वाहीको दायरामा ल्याउन निर्माण व्यवसायीहरुले सयुक्त रुपमा माग गरेका छन । 
श्रृजना निर्माण सेवाका प्रोपाइटर उद्धब प्रसाद दाहाल, जयगोरखा दुर्गे निर्माण सेवाका प्रोपाइटर तुलसीराम श्रेष्ठ, मकालु निर्माण सेवाका भक्तबहादुर वुढाथोकी र मानदेव निर्माण सेवाका कृष्ण प्रसाद भण्डारीले सयुक्त रुपमा आयोजना इकाई र  जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका हुन । 
जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख इन्जीनियर प्रभाकरलाल कर्णले भुकम्प पिडितहरुका लागी तत्काल आवास निर्माण सुरु गर्नुपर्ने भएपनि ठेक्का विवादका कारण समस्या उत्पनन् भएको बताउँदै  तत्काल छानविन दोषिलाई कानुन बमोजिम कार्वाहीको दायरामा ल्याइने बताए । ठेक्का आसय पत्रको सुचना प्रकाशन गरी सकेको अवस्थामा उजुरी परेकाले निर्माण कार्यमा ढिलाई हुने उनको भनाई थियो । 
उता गोर्खा कन्ट्रक्सनका भास्कर मगरले कार्यअनुभवनको प्रमाणपत्र दिने कार्यालयले आफुलाई फसाएको बताउँदै आफुहरुको कमजोरी नरहेको बताए । उक्त काम आफुले नगरेको भएपनि कार्यालयका तत्कालिन लेखा अधिकृतले लेखिदिएको कारण आफुलाई समस्या परेको उनको जिकिर थियो । 
गोरखा कन्ट्रक्सनलाई कार्य अनुभबको नक्कली प्रमाणपत्र दिने पशु पंक्षी बजार प्रबद्र्धन व्यवस्था निर्देशनालयका प्रमुख डा. बलराम थापाले चार वर्ष अगाडि कन्ट्रक्सनले कार्यालयसँगको ठेक्काको काम गरेको भएपनि उस्ले लगेको कार्यअनुभवको प्रमाणपत्रमा उल्लेख भए अनुसारको काम नगरेको बताए । लेखा अधिकृतलाई प्राविधिक कुरा जानकारी नहुँदा ठेकेदारले झुक्काएर थप अनुभवको प्रमाणपत्र बनाउन लगाएको हुन सक्ने उनको भनाई थियो । 
यता प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले उक्त ठेक्काको बारेमा आफुको उजुरी आएको बताउँदै सम्बन्धीत निकायलाई छानविन गरी आवश्यक कार्वाही गर्न निर्देशन गरिएको बताए । ठेक्का प्राप्ती गर्न नक्कली प्रमाणपत्र पेश गर्ने कन्ट्रक्सनलाई कानुन अनुसार कार्वाही गरीने र ठेक्का रद्ध सहित कालोसुचिमा राख्न समेत सिफारीस गरीने प्रजिअ कार्कीले बताए । 
पछिल्लो समय जिल्लामा ठेकेदारहरुको लापरबाहिका कारण दर्जनौं निर्माण कार्यहरु समयमै निर्माण हुन सकेको अवस्था छैन भने ठेक्कामा मिलेमतो हुँदा गुणस्तरिय काम समेत हुन सकेको छैन । उक्त सामुहिक आवास भवन निर्माणको ठेक्कामा समेत मिलेमतोको प्रयास भएपनि गोरखा कन्ट्रक्सन प्रालिले इबिड मार्फत ठेक्का हालेपछि निर्माण व्यवसायीहरु बीच विवाद सुरु भएको हो । जिल्लामा ठेकेदारहरुको मनोमानी चलेको भएपनि सम्बन्धीत निकायको उदासीनताले ठेक्कामा झन झन विकृतिहरु मौलाउँदै गएको सरोकारवालाहरुले बताउँदै आएका छन ।  


, ,

0 comments

Write Down Your Responses