Powered by Blogger.
राजश्व छुटले जग्गामा महिलाको स्वामित्व बढ्दै

बुद कुमार अाछामी
सिन्धुली, १२ श्रावण । मालपोत कार्यालय सिन्धुलीको तथ्याङक अनुसार सरकारले दिएको राजश्व छुटका कारण जग्गामा महिलाहरुको स्वामित्व बढ्दै गएको देखिएको छ । 
आर्थिक वर्ष २०७२/०७३ मा पास भएका ७ हजार ५९३ लिखत मध्ये ग्रामीण क्षेत्रमा १ हजार २६७ र शहरी क्षेत्रमा १ हजार २५ गरी कुल २ हजार २९२ वटा लिखत महिलाहरुको नाममा पास भएको मालपोत कार्यालय सिन्धुलीका अधिकृत भगीरथ सिग्देलले जानकारी दिए । 
सिग्देलले भने, ‘गत वर्षको तुलनामा महिलाहरुको नाममा लिखत पास संख्या बढेको छ, राजश्व छुट र महिलाहरु पनि समान हुन भन्ने सामाजिक धारणाको बिकासले यो संख्या बृद्धि भएको हो ।’ गत वर्ष ग्रामीण र शहरी सहित १ हजार ८ सय ९८ लिखत महिलाहरुको नाममा पास भएको थियो । 
आर्थिक वर्ष २०७२/७३ मा महिलाहरुले मालपोत कार्यालय सिन्धुलीबाट लिखत पासमा पाएको २५ प्रतिशत छुट राजश्व ६७ लाख भन्दा बढी रहेको छ । सरकारले महिलाहरुको जग्गामा स्वामीत्व बढाउनकै लागी राजश्व छुट दिएकाले जिल्लामा यो प्रभावकारी पनि बन्दै गएको अधिकृत सिग्देल बताउछन । त्यस्तै यस वर्ष दलित तथा जनजातीहरुको नाममा २ सय १८ लिखत पास भएको छ भने अपाङ्गहरुको नाममा २ वटा लिखत पास भएको छ । 
सरकारले विगत १० वर्ष देखी महिला दलित, जनजाती, जेष्ठ नागरीक, अपाङ्ग तथा शहीद परीवारहरुको जग्गामा स्वामित्व बढाउनका लागी लिखत पासमा २५ प्रतिशत राजश्व छुट दिदै आएको छ भने उनीहरुको नाममा जग्गाको स्वामीत्व समेत बृद्धि हुँदै गएको मालपोत कार्यालयको तथ्याकंले देखाएको छ । 
उता महिला अधिकारकर्मीहरु भने राजश्व छुट पाइने कारण महिलाहरुको नाममा जग्गा पास संख्या बृद्धि भएपनि किनबेचको निर्णय गर्ने अधिकार भने महिलाहरुमा नहुने गरेको बताउछन । महिला अधिकारकर्मी सबिता कोइराला भन्छिन, ‘समाजको सस्कार नै पुरुषवादी छ, पुरुषबादी समाजले राज्यबाट छुट लिन महिलाहरुको प्रयोग गरेको छ, जग्गाको किनबेच गर्नुपर्दा निर्णय गर्ने अधिकार दिएको छैन ।’ महिलाको नाममा जग्गा पास हुने संख्यामा बृद्धि हुनु सकारात्मक भएपनि महिलाहरुकै निर्णयमा चलाउन चाँही समय लाग्ने उनको भनाई छ । 
आफ्नो नाममा घर तथा जग्गा हुँदा घर र समाजमा महिलाहरुले हेपिएको महसुस गर्नु नपर्ने अनुभव सुनाउछिन झागाँझोली रातमाटा गाविसकी स्थानीय महिला सन्जु आछामी । पछिल्लो समय सदरमुकाममा भन्दा ग्रामीण क्षेत्रमा महिलाहरुको नाममा जग्गाको स्वामीत्व बढ्दै गएको समेत देखिएको छ । जुन पिछडिएका महिलाहरुको अग्राधिकारका लागी महत्वपूर्ण रहेको महिला अधिकारकर्मीहरुको बुझाई छ । 

महिलाहरुलाई ६७ लाख राजश्व छुट 

आर्थीक वर्ष २०७२/७३ मा लक्ष्य भन्दा डेढ करोड बढी राजश्व संकलन गरेको मालपोत कार्यालय सिन्धुलीले महिलाहरुको नाममा पास भएको लिखतमा कुल ६७ लाख ३२ हजार १८४ रुपैयाँ राजश्व छुट दिएको छ । 
महिला २ हजार २९२, दलित तथा जनजाती २ सय १८, अपाङ्ग २ र २४ जेष्ठ नागरीक सहित कुल २५ सय ३४ लिखत पासमा २५ प्रतिशत अर्थात कुल ७२ लाख ४६ हजार २४३ रुपैयाँ राजश्व छुट दिएको जनाएको छ । 
कार्यालयले आर्थीक वर्ष २०७२/७३ मा ३ करोड ४३ लाख १५ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएपनि ५ करोड ५ लाख ४६ हजार ५ सय ६६ रुपैयाँ राजश्व संकलन गरिएको मालपोत अधिकृत भगीरथ सिग्देलले जानकारी दिए । 
यस वर्ष ७ हजार ५ सय ९३ लिखत रजिष्ट्रेशन पासबाट ४ करोड ७३ लाख ३७ हजार ५९८, फारम तथा पुर्जा विक्रीबाट ८९ हजार १ सय, दण्ड जरिवानाबाट १ सय १८, रोक्काबाट ६ लाख ४२ हजार ५९७, सेवा शुल्क वापत ७ लाख ५१ हजार ४५० र पुजीगत लाभकरबाट १७ लाख २५ हजार ७०३ रुपैयाँ राजश्व संकलन गरिएको सिग्देलले बताए । 
त्यस्तै कार्यालयको तथ्याकं अनुसार गत आर्थिक वर्षमा जग्गा सम्बन्धी मुद्धाको संख्यामा समेत बृद्धि भएको देखिएको छ । नामसारी ६ सय ९९, संशोधन २ सय ५२, दा.खा. ९४, हकसफी १ सहित कुल १ हजार ४६ वटा मुद्धा रहेको र गत आर्थिक वर्षको जिम्मेवारी सरेको विभिन्न् १६ सहित आर्थिक वर्ष २०७२÷७३ का कुल १ हजार ६२ मुद्धामध्ये १ हजार ५२ वटा मुद्धा फछ्र्यौट भएको मालपोत कार्यालय मुद्धा शाखाका सेशराज ढकालले बताए । 


, ,

0 comments

Write Down Your Responses