Powered by Blogger.
ब्यवसायीक पशुपालनसँगै पशु बिमा पनि बढ्दै

बुद्धकुमार आछामी
सिन्धुली, १३ श्रावण । जिल्लामा व्यवसायीक पशु पालन गर्ने कृषकहरुको संख्यामा बृद्धि सँगै पशु बिमा गर्ने कृषकको संख्यामा पनि बृद्धि हुँदै गएको जिल्ला पशु सेवा कार्यालय सिन्धुलीले जनाएको छ । 
आर्थिक वर्ष २०७२÷७३ सम्ममा पशु सेवा कार्यालय सिन्धुलीमा १ सय १९ गाई फार्म, २ सय ८२ बाख्रा पालन फार्म, १ सय ५३ बंगुर पालन फार्म र १६५ व्यवसायीक कुखुरा पालन फार्म दर्ता भई सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । कार्यालयले गत आर्थिक वर्षमा पशु पालन व्यवसायलाई प्रबद्र्धन गर्न गाई, वंगुर तथा बाख्रा पाल्ने जिल्लाका ४९ जना कृषकहरुलाई ५१ लाख अनुदान रकम वितरण गरेको थियो ।
पशुपालन व्यवसायमा सरकारले दिएको अनुदानका कारण ग्रामीण क्षेत्रका कृषकहरु पशुपालनमा आर्कषित बन्दै गएका छन । जिल्लामा बढी मात्रामा कृषकहरुले बाख्रा पालेका छन भने गाई र सुगुर पाल्ने कृषकहरुको संख्या पनि पछिल्लो समय बृद्धि हुँदै गएको कार्यालयले जनाएको छ । 
गाउँ–गाउँमा कृषकहरुले फार्म दर्ता गरी व्यवसायीक रुपमा पशुपालन सुरु गरेसँगै पशु विमा समेत बढ्दै गएको छ । गत वर्ष भन्दा यस आर्थिक वर्षमा पशु बिमा ४३ प्रतिशतले बृद्धि भएको कार्यालय प्रमुख डा.हरिकुमार रघु श्रेष्ठ बताउछन । कार्यालयले गत वर्ष कृषकहरुको ६ सय ४८ पशुको बिमा गरेको थियो भने यस वर्ष त्यो संख्यामा बृद्धि भएर ११ सय ३८ पुगेको छ । 
आर्थिक वर्ष २०७२÷०७३ मा १ सय ७६ गाई, १ सय २५ भैसी, ४ सय बंगुर र ४ सय ८२ बाख्राको बिमा गरिएको र रु १० लाख ३४ हजार ९३ रुपैयाँ प्रिमीयम रकम जम्मा भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । 
सरकारले पशुपालक किसानलाई हौसला प्रदान गर्दै व्यवसायीक पशु पालनमा बृद्धि गर्न अगाडि सारेको पशु विमा कार्यक्रम प्रभावकारी बन्दै गएको जिल्ला पशु सेवा कार्यालय सिन्धुलीले जनाएको छ । पशुपालन व्यवसायमा हुन सक्ने विभिन्न जोखिमबाट ढुक्क बन्न आफुले पालेका पशुको बिमा गराउन किसानलाई कार्यालयले आग्रह समेत गरेको छ । 
नेपाल सरकारबाट मान्यता प्राप्त विभिन्न १७ वटा बिमा कम्पनी मार्फत पशु बिमा गर्न सकिने पशु सेवा कार्यालयले जनाएको छ । 
पशु विमा गर्दा लाग्ने कुल खर्चको ७५ प्रतिशत रकम सरकारले अनुदान बापत विमा कम्पनीलाई भुक्तानी गरिदिन थालेपछि विमा गर्न क्रम बढेको हो । विमाको प्रक्रिया अनुसार विमा गर्ने पशुको स्वास्थ्य जाँच गरी कानमा चिन्ह लगाईन्छ । पशु चिकित्सकले स्वास्थ्य परिक्षण प्रमाण–पत्र दिएपछि मुल्याकंन गरी विमा कम्पनीलाई प्रस्तावको रुपमा पठाउने गरिन्छ । कम्पनीबाट फाइनल भएर आएपछि विमा हुने गरेको छ । एउटा पशुको विमा न्यूनतम ४५ हजारदेखि १ लाख ५० हजार रुपैयासम्म लाग्ने गर्दछ । एक वर्ष भित्रै विमा गरेको पशु मरेमा मुल्याङकन भए अनुसारको क्षतिपुर्ति पशु धनीले पाउने गर्दछन । 


, ,

0 comments

Write Down Your Responses