तल्लो खारेखोला ११ मेगावाट तिन वर्ष भित्रै सञ्चालन हुने

राजन गाउँले
सिन्धुली २४, असार । दोलखा जिल्लाको चङ्खु खारे र सिरु गाविस स्थीत तल्लो खारे खोला ११ मेगावाट जलविद्युत आयोजना आगामी तिन वर्ष भित्र निर्माण सम्पन्न गरिने भएको छ । युनिभर्सल पावर कम्पनी लिमिटेडले आगामी २०७६ मंसिर महिनासम्ममा जलविद्युत अयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने जनाएको हो ।

दुई अर्व चार करोड रुपैयाँ कुल लागत रहेको आयोजनाको निर्माणका लागि सबै प्रक्रिया पुरा भएको र आगामी भदौबाट आयोजनाको निर्माण सुरुगरी आगामी तिन वर्षभित्र सक्ने लक्ष्य राखिएको आयोजनका वित्तिय व्यवस्थापक प्रमुख प्रभुलाल अधिकारीले बताए ।
जलविद्युत आयोजन निर्माणको अवस्था र उक्त आयोजनाका लागि संस्थापक सेयर खुल्ला गरीएको बारेमा जानकारी दिन शुक्रबार सिन्धुलीमाढीमा लिमिटेडद्धारा आयोजित एक कार्यक्रममा अधिकारीले आयोजनाको निर्माणका लागि ठेक्का लगाउने काम सुरु भएको आगामी भदौबाट निर्माण कार्य आरम्भ गरीने जानकारी दिएका हुन् ।
अधिकारीले भने, ‘जलविद्युत आयोजनाको निर्माणका लागि आवश्यक सम्पूर्ण कार्य पुरा भएको छ । आगामी भदौबाट यसको ठेक्का प्रक्रियाबाट निर्माण कार्य आरम्भ गरिन्छ ।’ आयोजनाको विस्तृत इन्जीनियरिङ अध्ययन कार्य यस अघिनै सम्पन्न भइ सकेको छ । प्रारम्भीक वातावरणीय परीक्षण, उत्पादन अनुमति, इन्टरकनेक्सन सम्झौता, विद्युत खरिद सम्झौता तथा आयोजनाको ऋण सम्झौता समेत सम्पन्न भइसकेको छ । आयोजनाको निर्माण अवधि तिन वर्षको भएकाले कुनै बाधा व्यवधान नभए सन् २०१९को डिसेम्बर अर्थात ०७६ को मंसिरसम्मा आयोजनाबाट विद्युत उत्पादन सुरु हुने छ ।
प्रति मेगावट १८ करोड ५४ लाख लागत रहेको छ । आयोजना निर्माणका लागि २०६९ असोज ८ गते प्रसारण लाईन सर्भेक्षण अनुमति लिएकोमा हाल निर्माण स्थलमा ७५ रोपनी जग्गा खरीद, ३० रोपनी लिजमा लिएको र चार हेक्टर सरकारी जग्गा सम्झौता गरिसकिएको छ ।
‘नेपाल विद्युत प्राधिकरणसंग २०७२ पुषमा ११ मेगावट विद्युत खरिद सम्झौता समेत सकिएकाले अव ठेक्का प्रक्रियाबाट निर्माणकार्य आरम्भ गरिने छ,’ उनले भने । उक्त जलविद्युत अयोजनालाई सिइडिवी हाइड्रो फण्ड लिमिटेड÷खारे इन्भेष्टमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको छ । आयोजनाले १ सय ३६ मिटर हाइटमा तिन किलोमिटर लामोदुरीमा पाइप लाइन विच्छाएर हाइड्रो पावर सञ्चालन गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण सम्पन्न पछि उक्त आयोजनाबाट वार्षीक ६ करोड २७ लाख ३१ हजार ७ सय ५१ युनिट उर्जा उत्पादन हुने छ । सुख्खा याममा १८ प्रतिसत र वर्षामा ८३ प्रतिसतसम्म उर्जा उत्पादन हुने बताइएको छ ।
आयोजनाको प्रिफरेन्स सेयर खुल्ला
तल्लो खारेखोला ११ मेगावाट जलविद्युत निर्माणका लागि निर्माण कम्पनी युनिभर्सल पावर कम्पनी लिमिटेडले परिवर्तनीय अग्राधिकार (प्रिफरेन्स) सेयरका माध्यमबाट पुँजी संकलन गर्ने जनाएको छ । यसका लागि न्यूनतम एक सय रुपैयाँको दरले एक हजार सेयर खरिद गर्नेगरी सर्वसाधरणमा संस्थापक सेयर खुल्ला गरेको पनि अधिकारीले बताए । उनले भने, ‘एक व्यक्तिले न्यूनतम एक लाख रुपैयाँको सेयर खरिद गर्नु पर्छ । यो एक हजार थान सेयर हुन्छ । यो निजी परिपत्र विधिबाट खुल्ला गरिन्छ ।’ लाभांसको सट्टा वर्षेनी ७ दशमलव ५ प्रतिसत सेयर लगानी प्रतिवद्धता शुल्कका रुपमा थपीने छ । यस्तो सेयर यही असार मसान्तसम्म मात्र खुल्ला रहने बताइएको छ । यस वाहेक आयोजनाले बैंक अफ काठमाण्डौंको नेतृत्वमा विभिन्न वित्तिय संस्थाहरु वित्तिय वयवस्थापनमा सहमत भएका छन् ।
0 comments
Write Down Your Responses