Powered by Blogger.
भुकम्प प्रभावितका नाममा गैससद्धारा डेढ अर्ब खर्च, उपलब्धी सुन्य


राजन गाउँले
सिन्धुली २४, असार । गत बैशाख १२ गतेको विनासकारी भुकम्प यता सिन्धुलीमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरुले मात्र झण्डै डेढ अर्व रुपैयाँबढी खर्च गर्ने भएका छन् ।
भुकम्पबाट ध्वस्त संरचना र भुकम्प पिडितका लागि भन्दै जिल्लामा विभिन्न सात वटा अन्तराष्ट्रिय गैर सरकारी संस्था र २५ बढी राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले एक अर्ब ५० करोड रुपैयाँबढी खर्च गर्न लागेका हुन् ।
उनिहरुले जिल्लाका भुकम्प प्रभावित क्षेत्रमा काम गर्नका लागि आफ्नो वार्षीक योजना सहितको बजेट सिलिङ निर्धारण गरे अनुसार यस्तो खर्च गर्न लागिएको हो । जिल्लामा वल्ड भिजन, प्लान नेपाल, फिनान चर्ज, जेएसआई रिसर्च एण्ड ट्रेनिङ्गको परियोजना, द यसिया फाउण्डेशन, जपाइगो कर्पोरेसन नेपाल, सम्दो भविष्य, कालितास नेपाल, कन्सल्ड वल वाइड, निक्स साइन्स फाउण्डेशन इन्टरनेश्नल र सिड्स इन्टरनेश्नल लगायतका अन्तराष्ट्रिय संघसंस्थाले भुकम्प पिडितलाई लक्षीत गर्दै विभिन्न काम गर्न भन्दै ५७ करोड रुपैयाँ बढी बजेट परिचालन गर्न जिल्ला विकास समिति मार्फत स्विकृत लिएका छन् । 
यस्तै जिल्ला तहका तथा जिल्ला बाहिरका २५ बढी गैरसरकारी संघ संस्थाहरुले झण्डै ७० करोड रुपैयाँबराबरको खर्च सिलिङ सहितका भुकम्प प्रभावितहरुका लागि कार्यक्रम लिएर आएका छन् । यस बाहेक अन्य विभिन्न व्यक्ति तथा समुहहरुले १५ करोड रुपैयाँबढी परिचालन गर्ने गरी जिल्ला विकास समिति मार्फत स्विकृती लिएको जिल्ला विकास समिति सिन्धुलीका गैरसरकारी समन्वय इकाइका प्रमुख मुकेश तामाङले जानकारी दिए ।
तामाङका अनुसार जिल्लामा एउटा अन्तराष्ट्रिय संस्थाले सात देखी दश करोड रुपैयाँसम्म खर्च गर्ने गरी योजना बनाएका छन् । यस्तै राष्ट्रिय स्तरका संस्थाहरुले कम्तीमा ९ लाख रुपैयाँदेखी तिन करोड रुपैयाँसम्म खर्च गर्ने गरी कार्यक्रम स्विकृत गराइएका छन् ।  ‘जिल्लामा सबभन्दा बढी विभिन्न अन्तराष्ट्रिय संस्थाहरुसंगको सहकार्यमा द यसिया फाउण्डेशनले ८ करोड ८१ लाख रुपैयाँबढी खर्च गर्ने अनुमती पाएको छ । कन्सल्ड वल्ड वाइडले ७ करोड रुपैयाँ एक वर्षमा खर्च गर्नेगरी स्वीकृत लिएको छ । जिल्लाको हत्पते र रानीवास गाविस मात्र समुदायमा समुदाय अवधारण सहितको कार्यक्रम सञ्चालन गर्न फाउण्डेशनले स्वीकृत लिएको छ,’ उनले भने ।  जिल्लाका विभिन्न क्षेत्रमा सरसफाई, जिविको पार्जन, संरक्षण तथा विपत्त न्यूनिकरणका क्षेत्रमा काम गर्ने गरी आफ्नो बजेट सहितको कार्यक्रम स्वीकृत गराएको छ । 
यस्तै फिनान चर्जले ५ करोड ९३ लाख रुपैयाँबढी खर्च गर्ने उल्लेख गरेको छ । शिक्षा क्षेत्रमा काम गर्ने गरी उक्त संस्थाले अनुमति लिएको उनको भनाई छ । ‘फिनानले जिल्लाको कल्पवृक्ष, महेन्द्रझ्याडी, पिपलमाढी, बस्तिपुर लगायतका सातवट गाविसमा ८६ वटा अन्तरीम सिकाई केन्द्र र १ सय ३६ वटा शौचालय निर्माण गर्ने जनाएको छ । सोही अनुसार जिल्ला विकास समिति तथा पुनर्निर्माण प्राधिकरणसंग अुनमति लिएको छ,’ तामाङले भने ।
जिल्लामा नाभी मलम देखी मातृत्व सेवालाई सुदृढगर्ने कार्यक्रमका साथै भुकम्प प्रभावितहरुको लागि निजी आवास निर्माण गर्ने र उनिहरुको जिविको पार्जनमा सहयोग गर्नेसम्मका कार्यक्रममा खर्च गरिने जनाइएको छ । तर यस्तो रकम प्राय, तालिम, गोष्ठि, छलफल र अध्ययनमा मात्रै सकिने देखिएको छ । ‘यसरी स्वीकृत लिएका संघ संस्थाहरुले गत भुकम्पबाटै खर्च गर्न थालेका भएपनि हालसम्म कति खर्च भएको छ भन्ने एकिन छैन् । तर स्वीकृत कार्यक्रम अनुसार प्रायः सबै संघसंस्थाहरुको प्लानिङमा धेरैजसो कर्मचारी भर्ना, तालिम तथा गोष्ठिमै कुल विनियोजीत रकमको ७० प्रतिसतसम्म खर्च हुने देखिन्छ,’ उनले भने । कार्यक्रममा जिल्ला तथा केन्द्र तहमा कर्मचारी व्यवस्थापन, उनिहरुलाई तालिम गोष्ठि प्रदान गर्ने जनाइएको छ । जिल्लामा गैरसरकारी निकायबाट जति खर्च गरिन्छ त्यो भुकम्प प्रभावितहरुको जिविको पार्जन र उनिहरुको जिवनस्तर उकास्नका साथै पुनर्निर्माणमा उपलब्धी भने सून्य जस्तै हुने सरोकारवालाहरुको आरोप समेत लाग्न थालेको छ ।
जिल्लाको हत्पते र रानिवास गाविसमात्र खर्च गर्नेगरी द यसिया फाउण्डेशनले ८ करोड ८१ लाख रुपैयाँबढी खर्च गर्ने अनुमती पाएकोमा उसका सबै कार्यक्रम तालिम र गोष्ठिका मात्र रहेको बताइएको छ । जिल्लामा काम गर्नका लागि जिल्ला विकास समिति, समाज कल्याण परिषद र पुनर्निर्माण प्राधिकरणसंग त्यस्ता संस्थाहरुले अनुमति लिनु पर्ने हुन्छ । तर, जिल्लामा खर्च गर्न आएका केही संस्थाहरु कुनैपनि नकिायको स्वीकृत विनानै आएका छन् ।
यसरी राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुले भुकम्प प्रभावितहरुका लागि लक्षित गर्दै कार्यक्रम ल्याएपनि अधिकांस खर्च भने उनिहरुले फिर्ता लैजाने निश्चित जस्तै भएको जिल्ला स्थित सरोकारवालाहरु बताउँछन् । जिल्लामा अनुमति लिएका संघ संस्थाहरुले खर्च विवरण भने सार्वजनीक गर्न समेत मान्दैनन् ।


,

0 comments

Write Down Your Responses